Comments Add Comment

अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्नुपर्छ : महेन्द्र राय यादव

१८ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमा नै बन्नुपर्ने बताएको छ ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले निजगढमा नै विमानस्थल बन्नुपर्छ भन्नेमा राजपा अहिले पनि प्रतिवद्ध रहेको बताएका हुन् । ‘निजगढमा नै विमानस्थल बन्नुपर्छ । यसमा राजपा नेपाल प्रतिवद्ध छ’ उनले भने ‘कुनै कारण देखाएर अन्यत्र सार्ने चर्चा चलेको अवस्थामा हाम्रो ध्यान गम्भीर भएको छ ।’

केही दिनअघि राजपा नेता तथा प्रदेश २ का मन्त्री रामनरेश राय यादवले प्रदेश सरकारले निजगढमा विमानस्थल बनाउन रुख काट्न नदिने भनी अभिव्यक्ति दिएका थिए । तर सो पार्टीका अध्यक्ष मण्डलका सदस्यले त्यो पार्टीको आधिकारिक धरणा नभएको संकेत गरेका हुन् ।

सांसद यादवले विमानस्थल बनाउन सकेसम्म कम रुख काट्नुपर्ने बताए । ‘इआईए रिपोर्टमा ८ हजार हेक्टर जमिन र २४ लाख रुख काट्ने सुन्नमा आएको छ । यसले त्यस क्षेत्रका जनता चिन्तित भएका छन्’ उनले भने ‘एयरपोर्ट बनाउन कति जमिन चाहिन्छ । त्यति क्षेत्रको मात्र रुख काट्नुपर्छ । त्यसबारे सरकारले संसदलाई जानकारी गराउनुपर्छ ।’

सांसद यादवले अनावश्यक रुखख नकाट्न र विमानस्थल निर्माणमा प्रदेश सरकारसँग समन्वय गर्न आग्रह गरेका छन् । उनले नागरिकता विधेयक विचाराधीन रहेकाले हजारौं जन्मसिद्ध नागरिक नागरिकता पाउनबाट वञ्चित भएको भन्दै अविलम्ब पारित गर्न माग गरेका छन् ।

संघीय सरकारले प्रदेशमा विपदपछिको पुनर्स्थापनामा ध्यान नदिएको भन्दै सांसद यादवले प्राधिकरण गठन गरेर राहत वितरण सुरु गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment