Comments Add Comment

पोखरामा विद्युतीय टिकट लागू नगर्ने ८ बस कारबाहीमा

१८ भदौ, पोखरा । विद्युतीय टिकट (इटिकेटिङ) लागू नगरेको भन्दै पोखरा महानगरपालिकाले बुधबार ८ वटा बसलाई कारबाही गरेको छ । पोखरा १३ वडाध्यक्ष दर्शन लामाको संयोजकत्वमा गएको अनुगमन टोलीले इटिकेटिङ प्रणाली लागू नगरेका बसलाई कारबाही गरेको हो ।

अनुगमन टोलीले पृथ्वीचोकदेखि चिप्लेढुंगा रुटमा चल्ने गाडी अनुगमन गरेको महानगर ट्राफिक व्यवस्थापन संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘आइतबारसम्म सबै गाडीमा इटिकेटिङ लागू गरिसक्न समय दिएका थियौं । तर, कुनै कुनै बसले अटेरी गरेको पाइयो ।’ उनले पहिलो पटकका लागि नियन्त्रणमा लिएका बसलाई अर्को आइतबारसम्म इटिकेटिङ सुरु गर्ने गरी छोडिएको र अटेरी गरे जरिवाना गरिने बताए ।

पोखरा १३ वडाध्यक्ष दर्शन लामाले विद्युतीय टिकट सुरु नगर्ने सवारी साधनलाई कुनै पनि हालतमा नछोड्ने बताए । उनले भने, ‘महानगरमा स्मार्ट यात्रा सुरु भइसकेको छ । कुनै पनि सवारी धनीले यसमा अटेरी गर्नुहुँदैन । त्यसो गरेको पाइए कारबाहीको दायरामा पर्नेछन् ।’ उनले रुट अनुसार प्रत्येक सवारी साधनको नियमित अनुगमन गरिने जानकारी दिए ।

भदौ १ गतेदेखि इटिकेटिङ सिस्टम लागू भएको छ । इटिकेटिङ सुरु भएपछि यात्रुले महानगरभित्र छोटो दूरीका बसमा समेत टिकट यात्रा गर्नुपर्छ । इटिकेटिङका लागि महानगरले ओम डेभलपमेन्ट बैंकको सहकार्यमा स्मार्ट कार्ड वितरत सुरु गरेको छ ।

पहिलो चरणमा बैंकले महानगरभित्र चल्ने करिब ८ सय सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्र ३ लाख स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य राखेको छ । इटिकेटिङ सिस्टम लागू गर्न पोखरा महानगरका बस व्यवसायीलाई महानगरले १ महिने तालिमसमेत दिइसकेको छ ।

महानगरभित्र सवारीसाधनमा विद्युतीय टिकट (इ–टिकेटिङ) प्रणाली लागू गर्न पोखराका बस व्यवसायी र एन्क्लाउड कम्पनी र ओम डेभलप बैंकबीच चैत ३ गते त्रिपक्षीय सम्झौता गरेको थियो । वैशाख महिनादेखि इटिकेटिङ लागू गर्ने सम्झौता भएपनि करिब ४ महिनापछिमात्रै योजना लागु गरेको हो ।

काठमाडौंको एन्क्लाउड कम्पनीले विद्युतीय टिकट प्रणाली लागू गर्न स्रोत र प्रविधि उपलब्ध गराउने महानगरको सम्झौता छ । उक्त सम्झौताम बस व्यवसायीहरु पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि र ट्याक्सी व्यवसायी समितिसँग महानगरले विद्युतीय टिकट प्रणाली लागू गर्न सम्झौता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment