Comments Add Comment

धरहरा क्षेत्रमा उपाकु मार्ग खोल्ने सहमति

१८ भदौ, काठमाडौं । धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ ।

बुधबार बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि र धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो ।

समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा हुनेछ । उपाकु हिँड्ने मानिस तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्ने प्राधिकरणले उल्लेख गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकु मार्ग खोल्ने सहमति भएको जानकारी गराए । धरहरा क्षेत्र यही वडामा पर्छ ।

‘परम्परागत रुपमा जहाँबाट हिड्ने गरिएको थियो, हाललाई त्यहाँ अस्थायी मार्ग बनाउने सहमति भएको छ,’ उनले भने ।

धरहरा पुनःनिर्माण कार्य हेरिरहेका प्राधिकरणका विज्ञ राजुमान मानन्धरले २१ भदौसम्म अस्थायी मार्ग तयार हुने जानकारी दिए । उपाकु हिड्ने मानिस बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिड्न मिल्ने बनाउने सहमति भएको उनको भनाई छ ।

नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिँड्ने चलन छ । यस वर्ष भदौ २४ गते उपाकु परेको छ । त्यसैगरी, खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कन अस्थायी पैदल मार्ग खोल्ने कार्य पनि अघि बढेको छ । सञ्चय कोष र साविकको गोश्वार हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ । पछि यहाँ स्थायी सडक बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment