Comments Add Comment

साढे ८ वर्ष जेल बसेर छुटेपछि फेरि अपराधमा

१९ भदौ, वीरगञ्ज । मंगलबार राति घुँडामा गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको सन्तोष दास तत्वा लामो समयदेखि हत्यालगायत विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ ।

प्रहरीका अनुसार वीरगञ्ज–१६ इनर्वाका २६ बर्षीय दास कर्तव्य ज्यान मुद्धामा ८ वर्ष ५ महिना १० दिन कैद भुक्तान गरेका व्यक्ति हुन् ।

घटनाबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले पक्राउ परेका दास वीरगञ्जको आदर्शनगरमा रहेको पशुपति रोड क्यारियर्सका प्रबन्धक राजेश्वर दुबेको हत्यामा दोषी ठहर भएका व्यक्ति भएको बताए । ०६६ साल मंसिर २५ गते दुबेको वीरगञ्जमा गोली हानी हत्या भएको थियो ।

सत्यराज योगीको उपनामले परिचित दास २०६४/०६५ मा हातहतियार मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका थिए । कर्तव्य ज्यान मुद्दामा वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरी छुटेका फुल हसन अन्सारीको समूहमा समेत दास संलग्न रहेको दावी प्रहरीले गरेको छ ।

वीरगञ्जका विभिन्न स्थानमा बिस्फोटक पदार्थ (पटाका) पड्काइ जनमानसमा भय त्रास सिर्जना गर्ने कार्यमा फुल हसन समूह सक्रिय रहेको प्रहरीले बताएको छ ।

फुल हसन समूहले वीरगञ्जका सर्वसाधारणदेखि लिएर उद्योगी व्यापारीहरुलाई धम्क्याइ रकम असुली गर्दै आइरहेको प्रहरीले जनाएको छ । यो समूहले वीरगञ्ज कारागार कार्यालयका चौकीदार शेष भोलालाई फोनमार्फत धम्की दिँदै रकम माग्ने गरेको प्रहरीको भनाइ छ ।

वीरगञ्ज–१३ राधेमाइमा प्रहरीलाई बन्दुक तेर्स्याउँदै भाग्न थालेपछि प्रहरीले दासलाई मंगलबार राति गोली हानेर नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट प्रहरीले म्याग्जिनसहित ५४ मोडेलको पेस्तोल, त्यसमा लाग्ने १७ राउण्ड गोली र १ सय ७० किलोग्राम खैरो रङ्गको धुलो फेला पारेको जनाएको छ । सन्तोषको घरको कोठा खानतलासी गर्दा उनीबाट बरामद भएको पेस्तोलमा लाग्ने एउटा म्याग्जिन र पेनड्राइभ बरामद भएको राठौरले जानकारी दिए ।

‘उनीसँग सम्बन्ध राख्ने दुई दर्जन भन्दाबढी घरमा खानतलासी गरिसकेका छौं,’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ, समय आएपछि अन्य सबै जानकारी गराउँछौँं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment