Comments Add Comment

यू–१९ एसिया कप : श्रीलंकासित पीडादायी हारको बदला लिने मौका

Photo Credit : रमन शिवाकोटी

१९ भदौ, काठमाडौं । २०७३ मंसिर ३० गते एसीसी यू–१९ एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल नेपाली क्रिकेट समर्थकले सायदै बिर्सिनेछन् । उक्त म्याचमा नेपाल अविश्मरणीय विजयको नजिक पुगेर पनि चुकेको थियो ।

श्रीलंकाको राजधानी कोलम्बोमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि श्रीलंकाले ब्याटिङको निम्तो पायो । टेष्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्नु नेपालका लागि चुनौति र अवसर दुवै थियो ।

नेपाली बलरहरुले श्रीलंकालाई निर्धारित ५० ओभरमा २२७ रनको स्कोरमा रोके । यद्यपि, २२८ रन पनि नेपालको लागि ठूलै लक्ष्य मानिएको थियो । त्यो खेलमा नेपालका बलर कमलसिंह ऐरीले तीन र पवन सर्राफले दुई विकेट लिएका थिए ।

विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले सुरुवाती मै महत्वपूर्ण दुई विकेट पतन भयो । तर दीपेन्द्रसिंह ऐरी क्रिजमा टिकिरहे । उनकै उत्कृष्ट प्रदर्शनमा नेपाल जित नजिक पुग्यो । अन्तिम दुई ओभरमा १० रन आवश्यक थियो भने तीन विकेट अझै हातमा थियो ।

तर ४८ औं ओभरमा कप्तान सन्दीप लामिछाने र कमलसिंह ऐरी आउट भएसँगै नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन आवश्यक भयो । स्ट्राइकमा थिए दीपेन्द्र । उनी ८४ रन बनाएर खेलिरहेका थिए ।

बलर प्रविन जयविक्रमाको पहिलो बलमा दीपेन्द्रले रन लिएनन् तर दोस्रो बलमा छक्का प्रहार गरे । योसँगै नेपाल जित नजिक देखियो । अब आवश्यक थियो मात्र २ रन ।

छक्का प्रहार गरेलगत्तैको बलमा दीपेन्द्रले चौका हान्न अघि बढ्दा एलबीडब्लु धरापमा परे । योसँगै नेपाल एक रनले हार्‍यो । मैदानमै दीपेन्द्र रोए भने बेन्चमा अन्य खेलाडी स्तब्ध बने ।

एसिया कप २०७३ को यो एउटा नमिठो हार थियो । अहिले पनि दीपेन्द्रले त्यो हारको पीडा भूल्न सकेका छैनन् ।

उक्त पीडादायी हारको करिब तीन वर्षपछि श्रीलंकामै नेपालले यू–१९ एसिया कप खेल्दैछ । आज (बिहीबार) देखि सुरु भएको प्रतियोगितामा संयोगले नेपालको पहिलो भिडन्त श्रीलंकाविरुद्ध नै हुने छ ।

त्यसबेला श्रीलंकासँग खेलेको टिमका आशिफ शेख, भीम सार्की, पवन सर्राफ र कमलसिंह ऐरी गरी चार जना अहिले पनि टिममा छन् । त्यसैले उनीहरु पुरानो खेलको बदला लिन व्यग्र छन् ।

नेपालको लक्ष्य हो टेस्ट राष्ट्र श्रीलंकालाई स्तब्ध पार्दै सनसनीपूर्ण सुरुवात गर्नु । त्यतिबेलाका दुई स्टार दीपेन्द्र र सन्दीप लामिछाने यसपाली नेपालसँग हुने छैनन् । तर पनि टिम सन्तुलितसँगै अनुभवि पनि छ । राष्ट्रिय टिमबाट विश्व कीर्तिमान कायम गरेका कप्तान रोहितकुमार पौडेल, अर्का कीर्तिमानी सन्दीप जोरा, पवन सर्राफ, भीम सार्की, आशिफ शेख जस्ता खेलाडीमाथि नेपालले ठूलो भरोसा राखेको छ ।

त्यस्तै, घरेलु प्रतियोगितामा दमदार प्रदर्शन गरेका रित गौत्तम, हरिबहादुर चौहान, कमलसिंह ऐरी, राशिद खान, सागर ढकाल जस्ता खेलाडीको उपस्थितिले टिम थप बलियो बनेको छ ।

सन्तुलित टिम तर ओपनिङको चिन्ता

एसीसी यू–१९ एसिया कप सुरु हुनुभन्दा केही दिनअघि नै श्रीलंका पुगेको नेपाली युवा टिमले त्यहाँ तीन अभ्यास खेल खेल्यो । जसमा एक खेलमा जित र दुई खेलमा हार ब्यहो¥यो ।

यो अभ्यास खेलमा नेपालको कमजोरी छल्किएको छ । नेपाली युवा टिमको ब्याटिङमा समस्या त छँदै छ, त्यसमा पनि ओपनिङ जोडी भरपर्दो छैन ।

नेपाली युवा टिमको ओपनिङ पवन सर्राफ र रित गौतमले गर्नेछन् । त्यसै अनुसार प्रशिक्षक विनोद दासले तयारी गरेका छन् । यसअघि श्रीलंका प्रस्थान गर्नुअघि पवनले भनेका थिए, ‘म ओपनिङमै ब्याटिङ गर्छु । हाम्रो रणनीति पनि यही छ ।’

तर अभ्यास खेलको नतिजालाई हेर्ने हो भने ओपनिङमा निकै सुधार आवश्यक देखिएको छ । तेस्रो नम्बरमा आसिफ शेख आउँदा चौथो नम्बरमा खड्कबहादुर बोहरा छन् ।

नेपालको मिडिल अर्डर भने बलियो छ । यद्यपि, कप्तान रोहित चल्न सकिरहेका छैनन् । अभ्यास खेलमा पनि उनले राम्रो रन जोड्न सकेनन् । मिडिल अर्डर र फिनिसिङमा रोहितसँगै सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान छन् । त्यस्तै, अलराउण्डर कुशल मल्ल, राशिद खान र कमलसिंह ऐरीले पनि परेको बेला ब्याटिङ गर्न सक्छन् ।

नेपालको सबल पक्ष बलिङ नै हो । सदा झैं यसपटक पनि नेपालको बलिङ निकै बलियो देखिएको छ । फास्ट बलिङमा कमलसिंह ऐरी र राशिद खानको जोडी छ । प्रतिस जिसी र हरिबहादुर पनि तिब्रगतिका बलर हुन् ।

स्पिनरमा अलराउण्डर पवन सर्राफ अनुभवि छन् । त्यस्तै, सागर ढकाल, सूर्य तामाङ र कुशल मल्ल प्रमुख स्पिनर हुन् ।

नेपाल रहेको समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई छन् । नेपालले आफ्नो दोस्रो खेल २२ गते बंगलादेशसँग खेल्नेछ । त्यस्तै, समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईविरुद्ध २४ गते प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment