Comments Add Comment

एलपीजी ग्यासको भण्डारण गृह र बोटलिङ प्लान्ट निर्माण प्रक्रिया अघि बढ्यो

१९ भदौ, काठमाडौं । नेपालमा पहिलोपटक खाना पकाउने एलपीजी ग्यासको भण्डारणगृह तथा बोटलिङ प्लान्ट निर्माणको प्रक्रिया अघि बढेको छ । प्रदेश १ को झापा र २ को धनुषामा आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन परामर्शदाता खोजिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका महाप्रबन्धक सुरेन्द्र पौड्यालका अनुसार पहिलो चरणमा झापाको चारआली र जनकपुरमा आयोजना बनाउन परामर्शदाता माग्दै बिहीबार बोलपत्र आह्वान गरिएको हो । दुई स्थानमा रहेका निगमको जमिनमा अत्याधुनिक प्रविधियुक्त एलपीजी ग्यास भण्डारण गृह र बोटलिङ प्लान्ट निर्माणको डीपीआर तयार गर्न लागिएको पौड्यालले जानकारी दिए ।

दुवै स्थानमा निर्माण गर्न लागिएको भण्डारण गृह तीन हजारदेखि ५ हजार टन क्षमताको हुने छ । भण्डारण गृहसंगै पाँच–पाँच सय टन क्षमताका सिलिन्डर उत्पादन गर्ने कारखाना पनि निर्माण गरिने छ । ती दुवै स्थानबाट ३०–३० हजारको दरले दैनिक ६० हजार थान सिलिन्डर उत्पादन गर्ने निगमले जनाएको छ ।

आफ्नै स्वमित्वको जमिनमा भण्डारणगृह र सिलिन्डर उत्पादन कारखाना निर्माण गर्न करिब ७५ करोड रुपैयाँ लाग्ने अनुमान निगमको छ । चालु आव ०७६/०७७ मा निगमले प्रदेश १ मा झापाको चारआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर र प्रदेश ३ मा मकवानपुरको हेटौंडामा भण्डारणगृह निर्माण गर्ने योजना अगाडि बढाएको थियो । हेटौंडाको विषयमा भने छलफल अझै नटुंगिएको निगमले जनाएको छ ।

भण्डारणगृह र आफ्नै ब्रान्डमा सिलिन्डर उत्पादन थालेपछि ग्यास व्यवसायमा रहेको निजी क्षेत्रको एकाधिकार तोडिने विश्वास निगमको छ । मुलुकभर मासिक ४५ हजार टन हाराहारी ग्यास खपत हुने गरेको छ । देशभर झण्डै एक करोड १० लाख थान बिभिन्न ब्राण्डका सिलिन्डर रहेको बताईन्छ । ग्यासको भण्डारणगृह तथा बोटलिङ प्लान्ट निमार्णलाई निगमले कोषेढुंगा मानेको महाप्रबन्धक पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment