Comments Add Comment

न्याय दिने उपमेयर आफैं अन्यायमा !

२० भदौ, रौतहट । संविधानले उपमेयरलाई स्थानीय तहको न्यायिक समिति संयोजक तोकेको छ । रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुन भने आफैं न्याय माग्दै कहिले संघीय मामिला मन्त्रालय त कहिले उच्च अदालत धाइरहेकी छन् ।

गत निर्वाचनमा मेयरभन्दा बढी मत पाएकी उनी मेयर सियाराम कुशवाहाको मनोमानीबाट अन्यायमा परेको बताउँछिन् । उपमेयर खातुनले आफूलाई नगरपालिकाको योजना र कामबारे समेत जानकारी नदिएको बताइन् । उनी भन्छिन्, ‘मैले जान्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत र लेखापालले समेत अटेर गर्ने गरेका छन् ।’

मेयर कुशवाहले उपमेयरलाई कुनै सूचना वा सुविधा नदिनू भन्ने उर्दी जारी गरेकाले यो सब भएको उनको दावी छ । प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकले उपप्रमुखको कार्यकक्ष सफा गर्नसमेत कर्मचारीलाई रोक लगाएको खातुनको आरोप छ ।

स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थासम्बन्धी आदेश २०७४ मा उपप्रखुलाई सम्बन्धित स्थानीय तहको न्यायिक समिति, योजना अनुगमन मूल्यांकन समिति, राजश्व बजेट परामर्श समिति र विकास बजेट सिलिङ गर्ने समितिको संयोजक तोकेको छ ।

‘तर, मेयर कुशवाह र प्रशासकीय अधिकृत रजकले मलाई यी सब अधिकारबाट बञ्चित गरेका छन्’, उपमेयर खातुन भन्छिन्, ‘योजना अनुगमनको अधिकार मेरो भए पनि मेयर कुशवाहले आफैंलाई अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक भन्दै हस्ताक्षर गर्ने गरेका छन् ।’

नगरपालिकामा भ्रष्टाचार मौलाएको, आफूले कामकाजबारे जानकारी लिन खोज्दा मेयरले अपशब्द प्रयोग गरेको उनको आरोप छ । एक मुश्लिम महिला राजनीतिमा आएकोमा सहयोग गर्नु पर्नेमा सधै दुःख दिएको गुनासो खातुनले गरिन् ।

उनले संविधान र कानुनले दिएको अधिकारसहित उपमेयरको काम गर्न पाँउ भन्दै दिएको रिट निवेदनमाथि सुनवाई गर्दै उच्च अदालत जनकपुरको वीरगंज अस्थायी इजलासले १० साउनमा जारी गरेको आदेशमा नगरप्रमुखको अनुपस्थितिमा उपप्रमुखलाई कार्यवाहक दिन र उपप्रमुख संयोजक रहने गरी समितिहरु गठन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

तर, नगर प्रमुख कुशवाहले अदालतको निर्देशनात्मक आदेशको पनि पालना नगरेको उपप्रमुख खातुन बताउँछिन् । आफूलाई कामकाज गर्न रोक लगाएकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि गुनासो गरेको उनले बताइन् । मन्त्री लालबाबु पण्डितलाई पनि सबै जानकारी गराएर मन्त्रालयबाट नगरप्रमुखको अनुपस्थितिमा उपप्रमुखलाई कार्यवाहक दिन लिखित निर्देशन जारी गराएको उनी बताउँछिन् ।

‘तर, कुशवाहले त्यो पत्रलाई पनि रद्दीको टोकरीमा फ्याँके’, उपमेयर खातुन भन्छिन्, ‘म नगरपालिकामै हुँदा पनि ४ नम्बर वडाका अध्यक्षलाई कार्यवाहक दिएर जान्छन् ।’
यस बिषयमा जिज्ञासा राख्दा मेयर कुशवाहले कार्यपालिकाको निर्णय बिना आफूले बजेट र भुक्तानीको काम नगरेको, उपमेयर कार्यालय नआएपछि वडा अध्यक्षलाई कार्यवाहक दिएको बताए । उनले भने, ‘बोलाउन मान्छे पठाउदा पनि उहाँ नआएपछि वडा अध्यक्षलाई कार्यवाहक दिएको हुँ ।’

उपमेयरकै कारण योजना तर्जुमा नहुँदा १० असारमा नगरसभा नभएको मेयर कुशवाहले बताए । त्यसपछि कार्यपालिकाको बैठकले योजना तर्जुमा गरेर २५ गते नगरसभा गरेको थियो, सभाको मञ्चमै उपमेयरले प्रमुख प्रशासकीय अधिकृतलाई झम्टिएको, उपमेयरले लगाएका सबै आरोप निराधार भएको दाबी मेयर कुशवाहले गरे ।

कटहरिया नगरपालिकालाई उच्च अदालतको पत्र ।
कटहरिया नगरपालिकालाई स‌ंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment