Comments Add Comment

यू–१९ एसिया कप : श्रीलंकासँग नेपाल पराजित

२० भदौ, काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको छ ।

१६० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । श्रीलंकाको जितमा कामिल मिशराले ५५, अहान विक्रमासिंहले ३० रन र अविस्का थरिन्दुले अविजित २५ रन बनाए ।

२२ रन जोड्दा पहिलो विकेट गुमाएको श्रीलंकाले ५३ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो । तर लक्ष्य सामान्य भएका कारण उसले सहज जीत निकाल्यो । नेपालका लागि राशिद खानले दुई विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी, पवन सर्राफ र सागर ढकालले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएपछि श्रीलंकाले सामान्य चुनौती पाएको थियो । नेपालले ९ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

खेल रोकिनुअघि नेपालका दुई ब्याट्सम्यान सस्तैमा समेटिएका थिए । आशिफ शेख ७ रनमा आउट हुँदा पवन सर्राफ चार रनमा आउट भएका थिए । वर्षाको कारण खेल ४२ ओभरमा छोट्याएपछि खेल पुनः सुरु भएको थियो ।

नेपालका लागि रित गौतमले ५४, कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए । यी दुई खेलाडीले ९१ रनको साझेदारी गरे । तर रोहित आउट भएसँगै नेपाली पारी धरापमा पर्‍यो ।

रोहितपछि हरिबहादुर चौहान १२ रनमा रनआउट भए भने भीम सार्की पनि एक रनमा एल्बीडब्लुमा परी आउट भए । तर रासिद खान भने १५ रनमा अविजित रहे । श्रीलंकाका लागि दिलसान मदुसनका र नभोद दिनुश्रीले समान ३–३ विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेलमा आइतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment