Comments Add Comment

राजतन्त्र फाल्न रअको भूमिकाबारे संसदीय छानबिन हुनुपर्छ : कमल थापा

२० भदौ, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको राजतन्त्र फाल्न भारतीय गुप्तचर संस्था रअको भूमिका रहेको भन्ने विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

रअले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रयोग गरेर राजतन्त्र फालेको भन्ने विषय समेटिएको एक पुस्तकको प्रसंग कोट्याउदै थापाले यदि यो सत्य हो भने यसले नेपालको राष्ट्रिय सुरक्षा र प्रजातन्त्र माथि नै खतरा रहेको बताए ।

शुक्रबार बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै थापाले पूर्वप्रधानमन्त्रीकै नाम जोडिएकाले गहिराइमा पुगेर छानबिन गर्नुपर्ने बताए । ‘यो विषयमा प्रचण्ड र उनको पार्टीले वक्तव्य निकाल्न सक्ला तर वक्तव्य निकालेर वा ओठे जवाफले पुग्दैन’थापाले भने ‘यो विषयले राष्ट्रियता र स्वाभिमानमाथि नै आँच पु¥याएको छ, तसर्थ छानबिन गरेर रअबाट को को प्रयोग भए स्पष्ट पारियोस् ।’

गणतन्त्र,संघीयता र धर्मनिरपेक्षता जनताको र मुख्य दलहरुको समेत एजेण्डा नभएको रअको दावीले पुष्टि गरेको थापाले आरोप लगाए । शुरुमा माओवादीले पनि राजासंग सहकार्य गर्न खाजेको तर पछि रअको दवावमा राजतन्त्र फाल्न प्रयोग भएको कुराले धेरै शंका उब्जाएको उनले बताए ।

फरक प्रसंगमा अध्यक्ष थापाले पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलितहरुलाई हिन्दु धर्म किन अंगालेको भनेर प्रश्न गर्नु धर्म परिवर्तन गर्न उक्साउने र धार्मिक हिंसा भड्काउने काम भन्दै निन्दा गरे ।

हिन्दु धर्मले दलितलाई विभेद र शोषण नगरेको तर्क गर्दै थापाले भट्टराईको उक्त अभिव्यक्तिको भत्र्सना गरे । एनसेल कर छुट, बाइडबडी विमान खरिद, ३८ क्वीन्टल सुन काण्ड जस्ता अर्बौंका भ्रष्टाचार काण्डले वर्तमान सरकारको पालामा भ्रष्टाचार झन् बढेको आरोप लगाउंदै थापाले दुई तिहाई वहुमतको सरकारबाट जनताले कुनै राहतको अनूभूति गर्न नपाएको बताए ।

सुर्खेतमा मृत भेटिएका गाईका सम्बन्धमा थापाले उक्त घटना नियोजित नभई दुर्घटना र व्यवस्थापकीय कमजोरीका कारण हुन गएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment