Comments Add Comment

वोष्टन साहित्य सम्मेलन : डायस्पोरा साहित्यको चमक

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अन्तरगतको नेपाली भाषा-साहित्य उपसमितिले आयोजना गरेको प्रथम नेपाली भाषा-साहित्य सम्मेलनबाट भर्खर र्फकेको छु र मेरा मानमष्तिष्क एवं सम्पूर्ण चेतनामा त्यसैको धङधङीले राज जमाइरहेको छ ।

अमेरिकाको उत्तरपूर्वी राज्य मासाचुसेट्सको राजधानी वोष्टन शहर आफैंमा अलौकिक सुन्दरताले परिपूर्ण छ, आकर्षणहरु अनेक छन् । नजिकको समुद्री किनार, शहरलाई चुम्न आइपुगेका सामुद्रिक पानीका गल्छीहरु मात्र होइन, विश्वप्रशिद्ध हार्भर्ड विश्वविद्यालय अनि एमआइटी विश्व समुदायका शैक्षिक एवम् प्राज्ञिक आकर्षणका उत्तम दृष्टान्त हुन् । यस्तो शहरमा सम्पन्न अन्तरराष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलनले एउटा इतिहासको थालनी गर्‍यो ।

सेप्टेम्बर १ को बिहान जेट व्लू एयरवेजको विमानबाट वोष्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लंदा मन्द चिसो वताससहितको रमाइलो मौसमले बेग्लै आनन्द दियो । कार्यक्रम आजै साँझबाट शुरु हुँदै थियो । कार्यक्रमका स्थानिय संयोजक कवि, कथाकार तथा गायक, संगीतकार महेश्वर पन्तलाई कार्यक्रमका विविध पाटाहरुलाई संयोजन गर्नुपर्ने दायित्वले अति व्यस्त बनाउँदा बनाउँदै पनि विमानस्थलमा मलाई लिन आफैं आइपुगे । मलाई लिन आउनुअघि उनले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा.गंगाप्रसाद उप्रेतीलाई बिहान सखारै होटलमा ओसारिसकेका रहेछन् ।

गोविन्द गिरी प्रेरणा

महेश्वर पन्त कथा लेख्छन् । कथा सङ्ग्रह प्रकाशित छ । गीत लेख्छन्, गाउँछन् संगीत भर्छन् , उनका सीडी एल्वमहरु छन् । गीत गजलका पुस्तक पनि प्रकाशित छन् । उपन्यास पनि प्रकाशनको तर्खरमा छ । अमेरिका जस्तो व्यस्ततम जीवनमा यति गर्नु कम होइन । त्यसमाथि सफल व्यवसायी र सामुदायिक जिम्मेवारीहरु वहन गर्ने सिलसिलामा लायन्स क्लवसँगको संलग्नता, वोष्टनको सामुदायिक भवनका लागि पुर्‍याएको योगदानसँगै यो प्रथम नेपाली-भाषा साहित्य विश्व सम्मेलनको संयोजन गर्नु निकै दुष्कर हुँदा पनि काँधमा बोकेर यसरी दौडिरहेको देखिनु दुर्लभ नै भन्न सकिने दृष्टान्त भन्न सकिन्छ ।

यिनी नेपालमा हुँदा त्रिभुवन विश्वविद्यालयका कैयन् वर्ष केन्द्रीय कार्यालयमा सँगै काम गरेका दौंतरी हुन् । अमेरिकामा पनि सहकार्य गरेका मित्र हुन् । वोष्टन लोगान विमानस्थलबाट मलाई लिएर हालै वोष्टनबासी नेपालीहरुले किनेको सामुदायिक भवनतिर मोटर हुइँक्याइरहँदा मेरो मष्तिष्कले यति सोच्न भ्याइहाल्यो ।

यो सम्मेलनको घोषणा हुने वित्तिकै अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले पनि अन्तरराष्ट्रिय सम्मेलन गरिरहेको छ भने कसरी यो प्रथम सम्मेलन भन्ने तर्क र प्रसङ्गहरु पनि सामाजिक सञ्जालहरुमा आएकै थिए । तर यो साहित्य सम्मेलन मात्र नभएर भाषा-साहित्य सम्मेलन भएको तर्कले दरो भूमिका खेलेको थियो ।

हिजोदेखि आजसम्म विभिन्न मुलुकबाट र अमेरिकाका विभिन्न शहरहरुबाट पाहुनाहरु धमाधम आइरहेका थिए । कतिपय परिचित, कति सिर्जना र नामले परिचित अनि कतिपय अपरिचित समेत सम्मेलनका लागि वोष्टन आएका थिए । साँझ पाहुना परिचय र काव्य गोष्ठीबाट सम्मेलनको शुरुवात भयो ।

पाहुना परिचयमा थाहा भयो रुसबाट गोविन्द गौतम र सपिला राजभण्डारी आएका रहेछन् । नाइजेरियाबाट कवि हिक्मत थापा आएका रहेछन् । नेपालबाट  प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेती, काव्य विभागका प्राज्ञ डा. हेमनाथ पौडेल तथा रेडियो नेपालका रमेश पौडेल आएका थिए । क्यानाडाबाट डा. गोविन्दसिंह रावत, सुरेन उप्रेती, तारा उप्रेती, सूर्य भट्टराई लगायत आएका थिए । क्यालिफोर्नियाबाट सर्वज्ञ वाग्ले तथा मणि नेपाली पनेरु, भर्जिनियाबाट हरि अधिकारी र म थियौं । न्यूयोर्कबाट गीता खत्री र राम खत्री, कोलोराडोबाट पदम विश्वकर्मा (भोलिपल्ट) आएका थिए । न्यूजर्सीबाट कृष्ण कुसुम थिए ।

हिमालयन विष्ट्रो नेपाली रेष्टुँराको पार्टी हलमा भएको पहिलो दिनको कवि गोष्ठीमा कविता, गीत, गजल, मुक्तक, गीत गायन लगायत प्रस्तुत भएका तिए । ३४ जनाका रचनाहरुको वाचन र अतिथिको मन्तव्य सहित झण्डै तीन घण्टासम्म चलेको सो गोष्ठीमा १०० भन्दा बढी दर्शक श्रोताले कार्यक्रमको पूरै अवधिभर अत्यन्त अनुशासित रुपमा काव्य रसास्वादन गरेका थिए ।

रचना वाचन र गायन प्रस्तुत गर्नेहरुमा कृष्ण कुसुम, गोविन्दसिंह रावत, गोविन्द गिरी प्रेरणा, सर्वज्ञ वाग्ले, लालगोपाल सुवेदी, मणि नेपाली पनेरु, गोविन्द गौतम, ममता कर्माचार्य, अनु शाह, रमेश पौडेल, हिक्मत थापा, सुरेन उप्रेती, अग्नि पराजुली, तारा उप्रेती, र्सर्य भट्टराई, सिर्जना शर्मा, जयराम रेग्मी, लव अधिकारी, हरि काफ्ले शैव, गीता खत्री, दीपा राई पुन, महेश्वर पन्त, नविन उप्रेती, प्रेम चौलागाईं, पशुपति सालघारी, लक्ष्मी बजगाईं, यम पौडेल, इश्वरी भट्ट, हरिमाया अधिकारी, सुरेश वाग्ले, उमा पराजुली, गोवर्द्धन पूजा लगायत थिए ।

कवि गोष्ठीमा मासाचुसेटस् राज्यका एनआरएन अध्यक्ष प्रेम तामाङ तथा न्यू हृयाम्शायर राज्यका अध्यक्ष डम्मर कडरियाले मञ्चको शोभा बढाउनुका साथै छोटो छरितो मन्तव्य व्यक्त गरेका थिए ।

घर फिर्ने क्रममा मेरो मनले भनिरहेको थियो- वोष्टन त धेरैचोटि आइयो, साहित्यिक कार्यक्रमहरुमा भाग पनि लिइयो, एकल कविता वाचन पनि गरियो, तर यो भाषा साहित्य सम्मेलनले भने अपूर्व ऐतिहासिक शिलालेख बनाएको छ

पहिलो दिनको यो सुस्वादु काव्य सन्ध्या र रात्री भोजले तृप्त भएर होटलतिर लागियो । होटलको लविमा पनि अबेरसम्म साहित्यिक संलाप, वार्तालाप र छलफल निकै उपयोगी भयो । पुरानो परिचयको नवीकरण र नयाँ परिचयको थालनी हुने यस्तै अवसरमा त हो । साहित्यिक कोशेलीको आदान प्रदान अर्काे सुखद अनौपचारिकता हुन्छन् यस्ता अवसरहरु ।

दुवै दिनका कार्यक्रम अवधिभर “चिवोकका केटीहरु” जताततै व्याप्त भए । चिवोकका केटीहरु कवि हिक्मत थापाको ताजा कविता सङ्ग्रह । साहित्यकारहरुका हातहातमा उनले पुर्‍याइदिएर घर फकँदा लाने कोशेलीमा परिणत भए चिवोकका केटीहरु । उनको हेटौंडासँग मीठो नाता रहेछ । म पनि हेटौंडाकै परें । यसले हामीबीचको वार्तालाप र आत्मियताका लागि झन् महत्वपूर्ण काम गर्‍यो ।

सेप्टेम्बरको २ सोमबार ।

एकातिर नेपाली चेलीहरुको महत्वपूर्ण हरितालिका तीज । अर्काेतिर प्रथम नेपाली भाषा साहित्य सम्मेलनको मुख्य कार्यक्रम । पशुपति बुद्ध फाउण्डेसनको भर्खरै किनिएको हिन्दु मन्दिर र सामुदायिक भवनमा परिणत हुँदै गरेको चर्च भवन सम्मेलनमा सहभागी कविहरुका साथै चेलीहरुले छड्के तिलहरी र रातो सारी टीकामा सजिएर आइदिंदा साहित्य सम्मेलनको रौनक नै आल्हादित गराउने किसिमको हुन गयो । पञ्चकन्याबाट अतिथिहरुलाई फूलगुच्छाले स्वागत गरिँदा निख्खर नेपालीपन वोष्टन शहरमा जाज्वल्यमान भइदिएको थियो ।

उद्घाटन सत्रमा कुलपति डा. गंगाप्रसाद उप्रेतीले कलात्मक पानसमा बत्ती वालेर उद्घाटन गरेपश्चात् एनआरएनका पदाधिकारीहरु, भाषा साहित्य उपसमितिका मित्रहरु र जेष्ठ साहित्यकारहरुले सम्वोधन गरेका थिए । उद्घाटन सत्रको मुख्य आकर्षणहरुमध्ये एक थियो तीनवटा पुस्तकको एकसाथ विमोचन । ती थिए-मुक्तककार रमेश पौडेलको सम्पादनमा प्रकाशित नेपाल भित्र र वाहिरका २४६ नेपाली नारी मुक्तककारहरुको सङ्कलन “नेपाली मुक्तकमा नारी हस्ताक्षर”, नेपाल बाहिर सिर्जनारत ५५ कथाकारका कथाहरुको प्रा.डा.हेमनाथ पौडेल, माया ठकुरी, गोविन्दप्रसाद गौतम, डा. लेखनाथ काफ्ले, शशी लुमुम्वु तथा सुरेन उप्रेती सम्पादित सङ्कलन”अन्तरदेशिय नेपाली कथाकाहरु” तथा उत्तर अमेरिकाका २१ नेपाली कथाकारका कथाहरुको महेश पौड्याल सम्पासिदत अङ्ग्रेजी अनुवाद “डिस्ट्याण्ट सनरेज” । नेपाली साहित्यका अध्येता, पाठक र लेखक स्वयम्का लागि समेत यी ३ कृतिको प्रकाशनले ऐतिहासिक महत्व राख्छ भन्ने मेरो मनले ठोकुवा गर्‍यो ।

सम्मेलनका संयोजक महेश्वर पन्तको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा गौरी जोशी, सपिला राजभण्डारी, सुरेन उप्रेती, गीता खत्री, पदम विश्वकर्मा, प्राज्ञ डा. हेमनाथ पौडेल, पशुपति बुद्ध फाउण्डेसनका अध्यक्ष विष्णुमणि आचार्य ,प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेती लगायतले सम्वोधन सक्दा नसक्दा भोकले मुण्टो उठाउन थालिसकेको थियो र दिवा भोजनका लागि खाना हलतिर ओर्लियौं ।

दोश्रो सत्रको कार्यक्रम कार्यपत्र प्रस्तुति भने पनि गोष्ठी पत्रको संक्षेप प्रस्तुति थियो र यसले स्मारिकामा पूर्ण रुपमा प्रकाशित भएपछि ऐतिहासिक महत्वको दस्तावेज बन्नेमा शङ्का छैन । मैले “नेपाली साहित्यको विश्वयात्रा”अवधारणाको आमुख प्रस्तुत गरें ।

नेपाली साहित्य कसरी विश्वका विभिन्न मुलुकमा फैलिएर विस्तारित भएर विश्वव्यापि बनेको छ भन्ने आशयको प्रस्तुति थियो त्यो । अग्रज साहित्यकार हरि अधिकारीले नेपाली साहित्यको अङ्ग्रेजी अनुवादमा देखिएका विसङ्गति माथि प्रस्तुति थियो । हिक्मत थापाले नाइजेरियाको नेपाली साहित्यिक गतिविधिलाई आफ्नो प्रस्तुतिको विषय बनाएका थिए । अन्य देश र प्रदेशका पत्रहरु प्रस्तावित भए पनि सहभागी नआएकाले प्रस्तुत हुन सकेनन् । मलाई लाग्छ यो सम्मेलको सफलताले आगामि सम्मेलनलाई अझ गौरवमय पार्न थप सहभागीहरु आकर्षित हुनेछन् भन्ने चाहीं लागि रहृयो ।

साहित्यिक कार्यक्रमको समाप्तिसँगै शुरु भएको मनोरञ्जनात्मक तथा नेपाली संस्कृति झल्काउने गीत, संगीत र नृत्यले कार्यक्रमको उत्तरार्धलाई रोचक, रोमाञ्चक र मनोरञ्जनपूर्ण भएको थियो । वोष्टन तथा न्यूयोर्कका चर्चित कलाकार र संगितकारहरु श्याम नेपाली, रंजन बुढाथोकी, सागर खतिवडा, हरिमाया खतिवडा, राजकपूर रनपहेली, सुशिल गौतम, राम थापा, तथा बाल कलाकार अनुभव थपलिया लगायतले प्रस्तुत गरेको  गीत तथा संगीत मनोहारी रहेको थियो भने कार्यक्रमको अन्ततिरको मीन केसी र शान्ता थापाको दोहोरी गीतको घम्साघम्सीले सवै दर्शक दिर्घाकाहरुलाई उठाएर नचाउन सफल भएको थियो । झण्डै असीको हाराहारीमा पुग्न लागेका कुलपतिको नृत्य पनि धेरैले हेर्न पाएका थिए ।

भाषा साहित्य उपसमितिका संयोजक थिए गोविन्द गौतम, उत्तर अमेरिकाका संयोजक थिए डा.गोविन्द सिंह रावत भने सम्मेलनका संयोजक थिए महेश्वर पन्त । तर पहिलो दिनदेखि अहोरात्र खट्ने पशुपति बुद्ध फाउण्डेसनका अध्यक्ष विश्वमणि आचार्य थिए । यिनी रेयुकाई नेपालको पाटन शाखामा यिनी हुँदा सो शाखाले सम्पन्न गरेको लघुकथा प्रतियोगिताको पुरस्कार वितरण समारोहको उद्घोषक म थिएँ । प्रमुख अतिथि थिइन् दिवंगत अधिराजकुमारी श्रुती शाह । त्यहाँ ३ दशकअघि नेपालदेखिको साहचर्य अमेरिकाको वोष्टनसम्म विस्तारित भएको थियो । अमेरिकामा व्यावसायिक फोटोग्राफी गरेर अमेरिकी प्रकाशनसम्म पहुँच बनाएका विमल नेपालको फोटोग्राफी र फेसबुक लाइभको कमाल पनि उम्दा  थियो ।

कार्यक्रम सकिएपछिको तेश्रो दिन प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई वोष्टनको भ्रमण गराइएको थियो । समुद्रका किनार, हार्भर्ड विश्व विद्यालय, एमआईटी जस्ता विश्वविख्यात स्थलहरुको भ्रमण कार्यक्रमको सफलतामाथि लगाइएको जलप थियो ।

चौथो दिन वोष्टनबाट घर फिर्ने क्रममा मेरो मनले भनिरहेको थियो- वोष्टन त धेरैचोटि आइयो, साहित्यिक कार्यक्रमहरुमा भाग पनि लिइयो, एकल कविता वाचन पनि गरियो, तर यो भाषा साहित्य सम्मेलनले भने अपूर्व ऐतिहासिक शिलालेख बनाएको छ ।

यो लेखको बिट मार्दै गर्दा लाग्दैछ, जुन उत्साहका साथ बोस्टन साहित्य सम्मेलनले डायस्परिक साहित्यको अनुहार उज्यालो बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment