Comments Add Comment

कविता : आलु र समाजवाद

उत्तरतिर मुख फर्काइरहेको होस्
कि दक्षिणतिर निहुरिएको होस्
वा
कुनै खुनी सत्ताको मूर्ति सिरान हालेर
अविराम निद्रामा घुरिरहेको होस्
राजनीतिक जस्तो लाग्ने हरेक पार्टीको
छातीमा झुण्डिरहेको नेमट्याग हेर्छु
र, चुनाव पश्चात हतार हतार
कवारखाना पुगेको घोषणापत्र हेर्छु
त्यहाँ छ्याप्छ्याप्ती देख्छु- समाजवाद ।

टेकेर घाइते लडाकूको काँध
थुपारेर सम्पत्तीको अग्लो पहाड
राता खुडि्कलाहरू उक्लिरहेको
सर्वहारा नेताको ओठमा होस्ा्
कि
आदिबासी आँगनमा कुदाएर
बहुराष्ट्रिय धावकहरूलाई खुल्लमखुल्ला
हेरेर उपभोक्ता किचिमरेको दृष्यहरू
मज्जा लिइरहेको डेमोक्र्याटको जिब्रोमा
सल्बलाइरहेको देख्छु-समाजवाद ।

महजोडीको लोकपि्रय प्रहसनझै लाग्छ
जब देख्छु संविधानको मुखैमा
कुनै एउटा निर्धो शब्द
‘समाजवाद उन्मुख’ भइरहेको
घरि-घरि दृष्य सवार हुन्छ आँखामा
आफैँ चढेको रुखको हाँगाको फेदतिर
कालीदासले बञ्चरो चलाएको फटाफट
जब पछि फर्किएर हेर्छु यतिबेला
आफैँ हिँडेको पदचापहरू ।

कुपोषणले खिइएका करोडौँ करङहरूको जगमा
बेशरम ठडिएको न्यूयोर्कको गगनचुम्बी भवनको
माथिल्लो तल्लामा बसेर
हरपल एडम स्मित जपिरहेको
कुनै मिलिनियरको श्वासमा जब
समाजवादको डकार गन्हाउँछ
वा अफ्रिकाको घना जङ्गलमा
थोत्रा घरेलू हतियार बोकेर
कुनै आदिबासी नेता जब
बेला-कुबेला पड्काउँछ- समाजवाद
तब मलाई यस्तो लाग्छ कहिलेकाँही
कि हरेक दिन भान्सामा
तरकारीसँगै मिसिइरहने आलु र समाजवाद
सायद फलेका होलान् एउटै ढ्याङमा
त्यसैले त सबै-सबैलाई
भन्न सहज छ- समाजवाद
सुन्न सुमधुर छ-समाजवाद
जस्तो कि-
चपाउन र पचाउन सहज छ आलु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment