Comments Add Comment

निजामती सेवा दिवसमा सर्वोच्च अदालतमा सरसफाइ र वृक्षारोपण

२२ भदौ, काठमाडौं । सर्वोच्च अदालतका कमर्चारीहरुले विविध कार्यक्रम गरी निजामती सेवा दिवस २०७६ मनाएका छन् । सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौलासहितका कर्मचारीले आइतबार बिहानै कार्यालय परिसरको सरसफाइ गर्नुका साथै वृक्षारोपण गरेका छन् ।

त्यस अवसरमा आयोजित औपचारिक कार्यक्रममा मुख्य रजिष्ट्रार निरौलाले जनताको काम अझै प्रभावकारी बनाउने, जनताले सेवा सुविधा समयमै प्राप्त गर्ने विषयमा आफूहरु प्रतिवद्ध रहेको बताए । निजामती सेवालाई उत्तरदायी, सेवामुखी र सुदृढ बनाउन सबैले आफ्नो भूमिका महत्वपूर्ण ठाने सेवा प्रभावकारी हुने उनले भनाइ राखे ।

कार्यक्रममा सर्वोच्च अदालत र मातहतका अदालतमा रहेर उत्कृष्ट काम गर्ने २३ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ । सहरजिष्ट्रार हरिराज कार्की, इजलास अधिकृतहरु भगवती शर्मा ढुङ्गाना, महेन्द्रबहादुर कार्की, ठाकुरप्रसाद पौडेल लगायत पुरस्कृत भएका छन् ।

निजामती सेवा दिवसलाई रचनात्मक बनाउन कर्मचारीहरुबीच विभिन्न प्रतियोगिता पनि गरिएको थियो । उपत्यकाका अदालत र न्‍यायाधीकरणबीचको अन्तर न्यायपालिका ब्याडमिन्टन प्रतियोगितामा सहरजिष्ट्रार मानबहादुर कार्की र उपरजिष्ट्रार अशोक क्षेत्रीको समूह पहिलो,  उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहाल र लेखापाल रमेशबहादुर थापाको समूह दोस्रो र विशेष अदालतका सुदीप पोखरेल र तेजेन्द्र कँडेलको समूह तेस्रो भएको छ ।

निजामती सेवा दिवसको अवसरमा फुटसल र हाजिरीजवाफ प्रतियोगिता पनि गरिएको छ । २०१३ साल भदौ २२ गते पहिलोपटक निजामती सेवा ऐन लागु भएको सम्झनामा भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment