Comments Add Comment

प्रदेश १ मा ४ लेनको प्रादेशिक सडकको शिलान्यास

२३ भदौ, विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने विराटचोक–घिनाघाट चार लेनको २० किलोमिटर लामो सडकको शिलान्यास भएको छ ।

प्रदेशको स्थायी राजधानी जोड्ने २२ किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा २० किलोमिटर मात्र बन्नेछ । सडक निर्माण असोज महिनादेखि गर्ने तयारी छ ।
प्रादेशिक सडक उद्घाटन गदै मुख्यमन्त्री शेरधन राईले यो सडकले समृद्धिको ढोका खोल्ने बताए ।

विराटनगर महानगरपालिकादेखि सुन्दरहरैचा जोड्नेसडक दुई बर्षभित्र सक्ने गरी कुल १ अर्ब ३७ करोड रुपैयाँ लागतमा ठेक्का लागेको थियो ।

पूर्वाधार विकास मन्त्रालय मोरङका प्रमुख सुशील श्रेष्ठले हाल दुई लेनको रहेको सडकलाई विस्तार गरी ४ लेनको बनाइने बताए । सो सडक निर्माणको जिम्मा श्रेष्ठ रमन एपेक्स जेभीले पाएको छ ।

यो प्रादेशिक सडक विराटनगरको पुष्पलालचोकबाट बैजनाथपुर, झोडाहाट, नेताचोक र हरैचा हुँदै पूर्वपश्चिम राजमार्गमा जोडिनेछ ।

सडक निर्माण भएपछि कोशी राजमार्ग अन्तर्गत ६ लेनको निर्माणाधीन इटहरी–विराटनगर सडकमा हुने सवारी चाप पनि कम हुने विश्वास छ ।  प्रदेश एकले चालु आर्थिक बर्षका लागि सडक र पुलको विकासका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश एकले बहुवर्षीय सडक आयोजनाका लागि स्रोत सुनिश्चितता गरी आयोजना निर्माण कार्य प्रारम्भ गर्न ३ अर्ब १० करोड विनियोजन गरेको छ ।

स्रोत सुनिश्चितता गरिएका र अन्य सडक र पुल निर्माण अघि बढाउन १ अर्ब ५७ करोड रुपैयाँ छुट्याएको छ । मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमलाई स्थानीय तहसँगको साझेदारीमा ग्रामीण सडकहरूको स्तरवृद्धि गर्दै लैजान ७४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेशमा निर्माणाधीन क्रमागत सडक आयोजनाहरूलाई निरन्तरता दिन ८१ करोड रुपैयाँ र प्रादेशिक विशेष सडक आयोजनाका लागि ३६ करोड रुपैयाँ छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment