Comments Add Comment

विश्वकप छनोट : नेपालले भोलि चाइनिज ताइपेसँग खेल्दै

२३ भदौ, काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले मंगलबार चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताइपेका रंगशालामा नेपालले घरेलु टोलीसँग मंगलबार साँझ प्रतिस्पर्धा गर्नेछ ।

सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक योहान कालिनले चाइनिज ताइपेविरुद्ध राम्रो खेल्दै अंक जोड्ने योजना बनाएको बताए ।

उनले भने, ‘कुवेतविरुद्ध खेलमा फराकिलो हार आश्चर्यजनक नतिजा थियो । सम्हालिन नसक्दा फराकिलो हार बेहोर्नुप¥यो । डिफेन्समा साना गल्तीले नै हामीले महँगो मूल्य चुकाउनुपर्‍यो । अब ताइपेइविरुद्ध ती गल्ती सच्याउनु पर्छ ।’

यता, कप्तान किरण चेम्जोङले चाइनिज ताइपेसँग खेल्न तयार रहेको बताएका छन् । उनले भने, ‘हामीले ताइपे आएर आइतबार नै हल्का प्रशिक्षण गर्यौं । हाम्रो तयारी यहाँ आउनुअघि नै भएको थियो ।’

नेपालले भदौ १९ गते कुवेतसँग भएको विश्वकप छनोटको आफ्नो पहिलो खेलमा ७–० गोलको हार ब्यहोरेको थियो । अंक खोस्ने लक्ष्यको साथमा कुवेत पुगेको नेपाली फुटबल टिमले फराकिलो अन्तरले हार ब्यहोरेपछि सबैले आलोचना गरेका थिए ।

तर यतिबेला नेपाली टिम त्यो आलोचनालाई मेटाउने लक्ष्यमा छ । तर तुलनात्मक रुपमा नेपाल भन्दा चाइनिज ताइपे बलियो टिमकै रुपमा गनिन्छ । गत जुनमा नेपालले चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेलको थियो । जुन खेलमा नेपालले १–१ गोलको बराबरी खेल्यो ।

चाइनिज ताइपेविरुद्ध नेपाल यो पटक भने जितको लागि प्रतिस्पर्धा गर्ने प्रशिक्षक बताउँछन् । प्रशिक्षक कालिनले भने, ‘हामीले पुरानो नतिजा हेरेर हुन्न । त्यो मैत्रीपूर्ण खेल थियो । यो प्रतिस्पर्धात्मक खेल हो । दुबै टिमको रणनीति फरक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment