Comments Add Comment

केकीलाई लोभ

नायिका केकी अधिकारी राम्रो अभिनय गर्ने कलाकारको रुपमा चिनिन्छिन् । केकीलाई विशेषगरि, अनुहारको हाउभाउ उत्कृष्ट रुपमा पर्दामा देखाउन सक्ने नायिकाको रुपमा चिनिन्छ । केकी अधिकारीले ‘स्वर’ चलचित्रबाट यो क्षेत्रमा पाइला राखेकी हुन् । तर, केकीलाई बक्स अफिस सफलता भने अहिलेसम्म मिलेको छैन ।

तर, पनि केकीको हातमा चलचित्रको अभाव भने छैन । उनले, एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । तर, नयाँ नायिकाहरुको बढ्दो क्रेज र आगमनसँगै केकी लगायत केही नायिकाहरुको करिअर कमजोर बन्दै गएको टिप्पणी पनि गर्न थालिएको छ ।

यसैले, पनि होला केकीलाई अहिले राम्रा निर्देशकसँग काम गर्ने लोभ पलाउन थालेको छ । केही दिन अगाडि चलचित्र ‘मारुनी’को विशेष शोमा पुगेकी केकीले निर्देशक नवल नेपालसँग गुनासो गरिन् । आफू यो चलचित्रमा किन आवद्ध हुन सकिनँ भन्दै केकीले निर्देशकसँग गुनासो गरिन् । नवलसँग केकीले चलचित्र ‘भाग सानी भाग र महशुश’मा काम गरेकी थिइन् । केकीले घुमाउरो शैलीमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले निर्वाहा गरेको भूमिका आफूले गर्न चाहेको खुलाइन् ।

उनै, केकीले आइतबार आयोजना भएको चलचित्र ‘सेल्फी किङ्ग’को घोषणा सभामा निर्देशक तथा निर्माता दिनेश राउतसँग यही गुनासो गरिन् । केकीले दिनेशको निर्देशनमा बनेको चलचित्र ‘आई एम सरी’मा मुख्य नायिकाको रुपमा काम गरेकी थिइन् । यसपछि, भने केकीसँग दिनेशले चलचित्रमा सहकार्य गरेका छैनन् । जबकी, दिनेश अहिले राम्रो चलचित्र निर्देशन गर्ने निर्देशकको रुपमा परिचित छन् । उनै केकीले भनिन्–‘चलचित्र क्षेत्रमा दिनेश दाई र म एकसाथ अगाडि बढेका हौं । पछिल्लो समय दाइका चलचित्र हेर्दा मलाई पनि लोभ लाग्दै गएको थियो । कतै, मैले ‘आई एम सरी’मा न्याय गर्न नसकेर मलाई उहाँले नदोहोर्याउनुभएको हो कि भन्ने पनि लाग्यो ।’

दिनेशको निर्माणमा बन्न लागेको चलचित्र ‘सेल्फी किङ्ग’मा केकी मुख्य भूमिकामा छैनन् । उनले आइटम गीतमा मात्र काम गर्न लागेको चर्चा चलेपनि निर्माणपक्षले विशेष भूमिका भनेर उल्लेख गरेको छ ।

केकीलाई आफूले काम गरेका निर्देशकले अरु नायिकासँग काम गर्दा लोभ र डाहा दुबै लाग्न थालेको छ । यसैले, कतै केकीमा करिअर कमजोर बन्दै जाँदा राम्रो चलचित्रमा काम गर्ने मोह जाग्न थालेको हो कि भन्ने देखिएको छ । तर, केकीले निर्देशकसँग लोभ लागेको बताउन भन्दा पनि दर्शकको आकर्षण हलसम्म तान्न सक्नुपर्ने हुन्छ । यो कुरामा भने केकी असफल नै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment