Comments Add Comment

सभामुख महरा र आइरिस सभामुख सेनबीच भेटवार्ता

२३ भदौ, काठमाडौं । सभामुख कृष्णबहादुर महरा र आयरल्याण्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेलबीच भेटवार्ता भएको छ ।

सभामुख महराको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका समकक्षी आइरिस सभामुख सेनसँग सोमबार सभामुखको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गर्नुका साथै संसदीय प्रक्रिया र अभ्यास, संसदीय मैत्री समूह गठन, शिक्षा, पर्यटन, व्यापार लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले बताए ।

सो अवसरमा सभामुख महराले नेपालको संघीय शासन प्रणाली, संघीय संसद र संसदीय अभ्यासका बारेमा जानकारी गराउँदै नेपालमा नयाँ संविधान निर्माणपछि संसदले विभिन्न ऐन कानून निर्माणमा जोड दिएको बताए ।

‘नेपालको संघीय संसद सबै वर्ग, लिङ्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी रहेको छ, देशका सबै जनसमुदायको समुचित प्रतिनिधित्वका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अपनाएर जनप्रतिनिधिहरु चयन भएका छन्, त्यस्तो व्यवस्था हामीले संविधानमै सुनिश्चित गरेका छौं’ उनले कुराकानीका क्रममा भने ।

भेटवार्ताका क्रममा आइरिस सभामुख सेन फेरेगलले आयरल्याण्ड विश्वकै एक पर्यटकीय गन्तव्यका रुपमा रहेको चर्चा गर्दै देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पर्यटनले निर्वाह गरेको बताए । नेपालले पनि पर्यटन प्रवद्र्धनमा विशेष लगानी गरेर ठूलो लाभ लिन सक्ने सम्भावना रहेको आफूले बुझेको सभामुख सेनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment