Comments Add Comment

एटीएम ह्याकिङ प्रकरणबारे सिंगापुरमा प्राविधिक परीक्षण गरिने

२३ भदौ, काठमाडौं । एटीएम ह्याकिङ प्रकरणका विषयमा अध्ययन गर्न आएको विदेशी विज्ञ टोली फर्किएको छ । सिंगापुरबाट आएको ४ सदस्यीय टोली ४ दिन नेपाल बसेर सोमबार फर्किएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सिंगापुरको टोली प्रारम्भिक अनुसन्धान गरेर फर्किएको जानकारी दिए । उनले भने, ‘टोली आएर अध्ययन सक्यो, निश्कर्ष भने केही दिएको छैन ।’

नेपालका १८ वटा बैंकहरुले एटीएमका लागि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड(नेप्स) को स्वीच प्रयोग गरिरहेका छन् । ती बैंकहरुको एटीएममा समेत आक्रमण भएपछि सिंगापुरबाट टोली झिकाइएको थियो । निरौलाका अनुसार टोलीले सिंगापुरमा केही विषयहरुको प्राविधिक परीक्षण गरेर ३ महिनाभित्रमा प्रतिवेदन दिनेछ ।

‘टोलीले प्रारम्भिक रिपोर्ट त दिएको छ, तर त्यसमा खासै केही छैन’ उनले भने, ‘अननोन एट दिस टाइम लेखेको छ । अब सिंगापुरको हाइटेक ल्याबमा परीक्षण गरेर ३ महिना भित्रमा रिपोर्ट दिनेछ ।’

एटीएम सिस्टम ह्याक गरी चिनियाँ ह्याकरहरुले नेपाली बैंकको साढे ३ करोड रुपैयाँ भन्दा बढी रकम निकालेका थिए । चिनियाँ ह्याकरले भारतबाट १ करोड ७० लाख रुपैयाँ निकालेको पाइएको छ । नेपाल राष्ट्र बैं‌कले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार भारतबाट १ करोड ७० लाख र नेपालबाट १ करोड ८८ लाख रुपैयाँ गरी ३ करोड ५८ लाख रुपैयाँ विभिन्न बैंकबाट निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment