Comments Add Comment

प्रदेश ५ का सामाजिक विकास मन्त्री भन्छन्– डेंगु संक्रमण नियन्त्रण बाहिर छैन

२४ भदौ, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले डेंगु संक्रमण नियन्त्रण बाहिर नगएको बताएका छन् । मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बरालले बाहिर हल्ला भएजस्तो डेंगु संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरे ।

मन्त्री बरालका अनुसार, डेंगुको संक्रमणबाट कपिलवस्तुकी सावित्रा आचार्यको ज्यान गएको छ । बुटवलमा उपचारका क्रममा शनिबार उनको मृत्यु भएको हो । सोमबारसम्म १ सय २६ डेंगुबाट संक्रमित भएको र ८७ जना उपचारपछि घर फर्किएको उनले जानकारी दिए ।

प्रदेशका १२ जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा धेरै ९० जनामा डेंगुको संक्रमण भएको छ । हाल लुम्बिनी प्रादेशिकसहित विभिन्न अस्पतालमा ३९ जना डेंगुको उपचारमा रहेका र हरेक दिनको १२ बजे अघिल्लो दिनसम्मको तथ्यांक अद्यावधिक गरी संघीय मन्त्रालयमा पठाउने गरेको उनले बताए ।

प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण नियन्त्रण र रोकथामका लागि सबै स्थानीय तह र संघ–संस्थालाई जनचेतनामूलक कार्यक्रम गर्न आह्वान गरिएको र अस्पतालहरूमा बेड र रगतको पर्याप्त व्यवस्था गरिएको उनले बताए । सरकारी अस्पतालमा डेंगुको उपचार निःशुल्क हुने व्यवस्था मिलाइएको पनि मन्त्री बरालले जानकारी गराए । आफ्नो मन्त्रालयले महामारीजन्य रोगकोे उपचारका लागि ५० लाख रुपैयाँ बजेट छुट्टाएको र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा विपद् व्यवस्थापन कोषमा १० करोड रहेकाले उक्त रकम पनि खर्च गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment