Comments Add Comment

के आमा बनेपछि करियरमा ब्रेक लाग्छ ?

आमा बन्नुको सुखद अनुभव महिलालाई मात्र थाहा हुन्छ । तर, गर्भवतीको समय महिलाको लागि सधैं नै चुनौतीपूर्ण हुन्छ । उनीहरुको अगाडि केवल शारीरिक रुपमा मात्र नभई यो समयमा मानसिक रुपले पनि धेरै चुनौतीहरु उत्पन्न भएका हुन्छन् ।

महिलाहरु गर्भवती भएलगत्तै आउने विभिन्न चुनौतीहरुमध्ये जागिर अथवा आफ्नो करियरको स्तरमा आउने चुनौती पनि एक हो । कतिपय महिलाहरुलाई त आफू गर्भवती भएको थाहा पाउँदा जागिर गुमाउन पर्ने हो की भन्ने डर पनि हुने गर्छ । प्रायः कामकाजी महिलाहरुलाई गर्भवती भएको कारण आफ्नो जागिरमा खतरा हुने हो कि भन्ने धारणा पनि राख्छन् ।

यसबारे अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीले गरेेको एक सर्वेक्षणअनुसार प्रायः महिलाहरुलाई आमा बनेपछि कार्यस्थलमा सही तरिकाले स्वागत गरिँदैन भन्ने महसुस हुने पुष्टि भएको छ । प्रायः महिलाहरुले आफू गर्भवती भएको खबर आफ्नो अफिसको म्यानेजर अथवा हाकिमलाई सुनाउँदा हुन लागेको प्रमोसनसमेत रोकिएको यो सर्वेक्षणले पुष्टि गरेको छ ।

नारी सशक्तीकरणको यो युगमा जब महिलाहरु हरेक क्षेत्रमा सफलताको शिखर चुम्न थालेका छन्, यस प्रकारका कुराहरुले हतोत्साहित गर्छ, तर यी महिलाहरुका वास्तविक घटनाहरु हुन् । कतै न कतै घरपरिवारको जिम्मेवारीको अगाडि महिलाको करियर पछाडि पर्न थाल्छ । उनले चाहेर पनि दुवै क्षेत्रमा एकसाथ राम्रो परिणाम दिन सक्दिनन् ।

यसबारेमा हामीले नेपालका विभिन्न क्षेत्रका महिलाहरुसँग कुराकानी गरेका छौं, जसले आमा बनेपछि ‘पनि आफ्नो करियरलाई ब्रेक लाग्न दिएनन् र समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पनि भए ।

रेखा शाह

रेखा शाह नेपालकी स्थापित तथा लोकपि्रय गायिका हुन् । हामी उनलाई ‘सिमसिमे पानीमा…’ गीतका लागि सम्झने गर्दछौं । रेखा शाह गायिका हुनुका साथै एक छोराकी आमा पनि हुन् । उनले पहिलो सन्तान जन्माएर पनि आफ्नो गायन पेशालाई निरन्तरता दिइरहिन् ।

यतिमात्र नभएर उनले हालैमात्र एउटा सन्तानको आमाकै रुपमा स्नातकोत्तरको अध्ययनसमेत पूरा गरेकी छन् । गायिका शाहको विचारमा आमा बनेपछि करियरमा ब्रेक लाग्ने होइन, त्यसको ठीक विपरीत आमा बनेपछि महिलाहरु झन् ऊर्जाशील हुन्छन् । गायिका शाहको भनाइ छ, ‘बच्चा जन्मेपछि महिलालाई अगाडि बढाउनका लागि परिवारको सहयोगको आवश्यकता पर्दछ ।’

आज मानिसको सोचाइमा आएको परिवर्तनले महिला-पुरुषमा घर-परिवारको जिम्मेवारी बराबर भएको छ । महिला पनि आफैं कामकाजी र हरेक कुरामा सक्षम भएका कारणले उनीहरु हरेक काम आफैं गर्न सक्छन् । त्यसैले आज त्यस्ता धेरै महिलाहरु छन्, जसले आमा बनेपछि नै सफलताको शिखरमा चुमेका छन् ।’

हेमा मानन्धर

हेमा मानन्धर नेप्लिज फेसन होमकी अध्यक्ष हुन् । इभेन्ट म्यानेजर तथा समाजसेवीसमेत रहेकी मानन्धरको विचारमा आमा बन्नु भनेको एउटा रमाइलो र महिलाको लागि ठूलो उपलब्धी हो ।

एक छोरीकी आमा हेमा भन्छिन्, ‘महिलामा यदि केही बन्ने र आफ्नो छुट्टै पहिचान होस् भन्ने चाहना छ भने बच्चामात्र होइन, कुनै पनि कारणले उनलाई अगाडि बढ्न रोक्न सक्दैन ।

तर आफूमा आत्मविश्वास र दृढ संकल्प हुनु आवश्यक छ । हो आमा भएपछि केही जिम्मेवारीहरु बढ्छन्, तर समयको राम्रो व्यवस्थापन गर्न जान्यो भने यो जिम्मेवारीले पनि तपाईको करियरलाई कुनै असर पुर्‍याउँदैन ।’

पवित्रा गौतम

सरकारी विद्यालयमा कार्यरत शिक्षिका पवित्रा गौतमको विचारमा विवाहपछि महिलाको प्राकृतिक दायित्व आफ्नो परिवारप्रति बढी हुन्छ भन्ने कुरालाई नकार्न सकिँदैन । घरपरिवारको रेखदेख, बच्चाको लालन-पालन जस्ता जिम्मेवारीहरु उनको काँधमा आउँछ ।

एक छोरा र एक छोरीकी आमा गौतम भन्छिन्, ‘आमा बनेपछि केही न केही फरक त अवश्य पनि हुन्छ । आमा बनेपछि पहिले जस्तो आफ्नो करियरमा समय दिन गाह्रो नै हुन्छ ।’

‘बच्चाको जिम्मेवारी पूरा गर्न अलि बढी नै समय दिनु पर्छ । आफ्नो सन्तानको लालन-पालन राम्रोसँग गर्नु पर्छ । जसका कारण घर-परिवारमा अरु बेलाको भन्दा बढी समय लाग्छ । तर पनि परिवारको सहयोग भयो भने र आफूले पनि समयको व्यवस्थापन गर्न जान्यो भने करियर अगाडि बढाउन सकिन्छ ।’

विवाहपछि श्रीमतीको जिम्मेवारी पूरा त गर्नुपर्छ नै तर केही समयपछि उनले आमा बन्ने जिम्मेवारी पनि निभाउनु पर्छ । आफ्नो बच्चाको सुरक्षा र आवश्यकताको सम्पूर्ण ध्यान राख्नु पर्छ । यस अवस्थामा उनलाई घरपरिवारबाट सहयोग, राम्रो वातावरण र सम्पूर्ण कुराको सुविधा भएन भने उनलाई आफ्नो जिम्मेवारीहरु बहन गर्न कठिन हुन्छ ।

मनिता थापा

दि क्रियशन इन्स्टिच्युटका अफ फेसन डिजाइनिङकी अध्यक्ष मनिता थापाको विचारमा आमा बनेपछि पनि महिलाले आफूले चाहेको क्षेत्रमा लाग्न र त्यसमा सफल हुन सक्छिन् । दुई छोराकी आमा मनिताले आफ्नो करियर छोराको जन्मपछि झन् राम्रो भएको बताउँछिन् । उनले छोरा जन्मेको ६ महिनापछि नै आफ्नो करियरलाई निरन्तरता दिइन् ।

उनी आफू आमा बनेपछि झन बढी साहस र आत्मविश्वास बढेको महसुस गर्छिन् । उनी आमा भन्ने शव्द नै बहुमूल्य भएकाले यसले महिलालाई झन् बढी जिम्मेवार बनाउने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘आज आमा बनेपछि नै आफ्नो क्षेत्रमा सफल भएको र आफ्नो छुट्टै पहिचान भएको पाएको छु । एउटा महिलालाई आफ्नो करियरमा सफलता पाउनको लागि घरपरिवारको सहयोगको पनि अति नै आवश्यकता पर्ने गर्छ । त्यसैले घरपरिवार र आफ्नो करियरलाई मिलाएर अगाडि बढ्नु आवश्यक हुन्छ ।’

सञ्चिता लुइँटेल

महिला यदि कामकाजी छिन् भने त घरको सम्पूर्ण जिम्मेवारीको वहन गर्ने अपेक्षा उनीसँग गरिन्छ र अफिसमा पनि उनको हाकिमले उनीबाट उत्कृष्ट कामको चाहना राख्छन् । यद्यपि करियरको जति उचाइमा भए पनि जब बच्चाको लालनपालनको कुरा आउँछ, बुबाको तुलनामा आमाले धेरै जिम्मेवारी बहन गर्नु पर्छ । यसैक्रममा आमाले धेरै त्याग गर्नु पर्छ ।

उनले करियरभन्दा परिवारलाई प्राथमिकता दिनु पर्ने बाध्यता हुन्छ । नेपाली फिल्मकी स्थापित अभिनेत्रीको रुपमा चिनिने सञ्चिताले विभिन्न फिल्महरुमा प्रेमिका, श्रीमती तथा आमाको समेत भूमिका निर्वाह गरिसकेकी छन् ।

अभिनेत्री लुइँटेललाई वास्तविक जीवनमा बच्चाहरुको कारणले आफ्नो क्षेत्रमा निरन्तर लागिरहन त्यस्तो कुनै समस्याको सामना गर्नु परेन । विवाह अगाडि नै फिल्म क्षेत्रमा लागेकी सञ्चिता अहिले पनि उत्तिकै व्यस्त छिन् । एक छोरा तथा एक छोरीकी आमा सञ्चिताको विचारमा कामलाई बच्चाले होइन आफ्नो इच्छाले ब्रेक लगाउने हो ।

उनी भन्छिन्, ‘आफ्नो करियरलाई कस्तो बनाउने र कसरी अगाडि बढाउने भन्ने कुरा आफूमा नै निर्भर हुन्छ । आमा बनेपछि त झन् बच्चाको जिम्मेवारी पनि थपिन्छ । जसको कारण आमा कामकाजी बन्नु अति नै आवश्यक हुन्छ । त्यसैले सबै महिलाहरुले आफ्नो कार्यक्षमताअनुसार कामकाजी हुनु अति राम्रो कुरा हो । आफ्नो घरपरिवार, जिम्मेवारी र समय मिलाएर बच्चाको जिम्मेवारी र आफ्नो करियरलाई अगाडि बढाउनु पर्छ ।’

शक्ति सिग्देल भट्टराई

महिलाहरुको यही बाध्यतालाई बुझेर आज सरकारी तथा निजी कम्पनीहरुले सुत्केरी बिदा दिने नियम बनाएका छन् । तर कति स-साना कम्पनीहरुले महिलाहरुलाई सुत्केरी बिदा दिनु पर्छ भनेर नै जागिरमा राख्न आनाकानी गर्छन् । तर नाम चलेका कम्पनीहरुले सुत्केरी बिदासम्बन्धी नियमलाई सकारात्मक रुपमा लिएर महिलाहरुलाई जागिर दिने पनि गर्छन् ।

यस बिषयमा सौर्य एयरलाइन्समा कार्यरत शक्ति सिग्देल भट्टराई सहमत छिन् । दुई छोरीकी आमा शक्ति भट्टराई भन्छिन्, ‘हो, केही समय अगाडिसम्म आमा बनिसकेपछि महिलाले आफ्नो करियरलाई पूर्णविराम लगाउनु पर्ने बाध्यता थियो, तर आज समय परिवर्तन भैसकेको छ ।

अफिसमा सुत्केरी बिदा दिनेदेखि कामकाजी महिलाले घर परिवारबाट पाउने सहयोग र कामकाजी महिलालाई नै लक्षित गरेर खोलिएका शिशु स्याहार केन्द्र र मन्टेश्वरीहरुका कारण आज महिलाले बच्चा भएर पनि आफ्ना कामलाई निरन्तरता दिन सम्भव भएको छ । यदि महिलाले आफ्नो करियरलाई अगाडि बढाउने हो भने आज धेरै उपायहरु छन्, जसको सहयोगले महिलाहरुले आफ्नो बच्चालाई हुर्काउँदै आफ्नो करियरलाई पनि अगाडि बढाउन सक्छन् ।’

अन्जु श्रेष्ठ

आमा बनिसकेपछि आफ्नो काम र करियरलाई निरन्तरता दिनकै लागि महिलालाई घरपरिवारको सहयोगको पूर्ण आवश्यकता पर्छ । हिजोआज एकल परिवार भएका कारणले पनि बच्चाको लालनपालनमा समस्या आएको छ ।

घरमा कामकाजी महिलाको केही जिम्मेवारीहरुमा परिवारका अन्य सदस्यको सहयोग रह्यो भने उनले घर र अफिस दुवैको जिम्मेवारी राम्रोसँग बहन गर्न सक्छिन् । त्यसैले घरमा भएका सबैले कामकाजी आमालाई आफूले सकेको सहयोग गरेर उनलाई बाहिरी कामको लागि प्रोत्साहित गर्नु पर्छ ।

यसबारेमा समाजसेवी अञ्जु श्रेष्ठको भनाइ छ, ‘आमा बनेपछि पनि महिलालाई कामकाजी हुन परिवारको ठूलो सहयोग आवश्यक छ । महिलाले पनि आफ्नो घरपरिवारको जिम्मेवारी राम्रोसँग बहन गर्नुपर्छ र परिवारले पनि उनको काममा सहयोग गर्नु पर्छ ।

बिहान बेलुकाको समयमा आफ्नो बच्चा र घरपरिवारको जिम्मेवारी आफूले लिने र दिउँसो  परिवारले उनको कामको लागि समय अनुकुल पारिदियो भने महिलाले आफ्नो करियरलाई निरन्तरता दिन सम्भव हुन्छ । जसका कारण उनले आफ्नो कार्यक्षमतालाई राम्रोसँग प्रस्तुत गर्न सकुन् ।’

आमा सँगसँगै बुबाले पनि बच्चाप्रतिको जिम्मेवारी राम्रोसँग निभाउनु आवश्यक छ । आज समय परिवर्तन भैसकेको छ । घरमा दुवैले कमाउने हुँदा आफू र आफ्नो बच्चाको भविष्य उज्वल हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । केही समय अगाडिसम्म पुरुषले घरको काम गर्नु हुन्न, महिलाको जिम्मेवारी भनेको घरपरिवारको हेरचाह मात्र हो भन्ने रुढिवादी मानसिकतालाई परिवर्तन गर्दै हामी अगाडि बढेका छौं र बढ्न आवश्यक पनि छ ।

काम गर्ने क्षमता र अनुभवका कारण आज महिलाहरु आफ्नो करियरमा राम्रोसँग सेटल हुनुको साथै आफ्नो घरको जिम्मेवारीलाई पनि राम्रोसँग बहन गर्न सक्छन् । अफिसमा पनि उत्कृष्ट कामका कारण म्यानेजर अथवा हाकिमले उनलाई सहयोग गर्छन् भने घरमा भएका प्राविधिक सुविधाहरुका कारण उनीहरु घरको जिम्मेवारी पनि सजिलै बहन गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment