Comments Add Comment

संविधान दिवस मनाउने प्रदेश २ सरकारको निर्णय, राजपाका मन्त्री भने असहमत

२४ भदौ, जनकपुरधाम । संविधान दिवस मनाउने सन्दर्भमा प्रदेश २ सरकारभित्रै विवाद भएको छ । प्रदेश सरकारले संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गर्दा सरकारमै सहभागी राष्ट्रिय जनता पार्टीका मन्त्रीले भने असन्तुष्टि जनाएका छन् ।

प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री लालबाबु राउतको प्रस्ताव पारित गर्दै असोज ३ गते संविधान दिवस धुमधामका साथ मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा प्रदेश सरकारले डेंगु र लागूऔषधविरुद्ध जनचेतनामूलक अभियान समेत सञ्चालन गर्ने भएको छ ।

असोज २ गते डेंगुबाट बच्ने उपाय र लागूऔषध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रदेश सरकारको निर्णय छ । त्यस्तै, असोज ३ गते संविधान दिवसका दिन सरसफाइ तथा वृक्षरोपण कार्यक्रम राखिएको प्रदेशका निमित्त सचिव शंकर सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

संविधानसँग पूर्ण सन्तुष्टि मधेशमा नभए पनि यही संविधानको आधारमा जनताले संघीयताको अभ्यास गर्न पाएको र धेरै हक अधिकार पनि प्राप्त गरेकाले संविधान दिवस मनाउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

२०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी हुँदा मधेशमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी आन्दोलनमा थिए । उनीहरुले संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा लिएका थिए ।

यसबीचमा सोही संविधान कार्यन्वयनका क्रममा फोरमले पहिलो चरणको स्थानीय चुनावमै भाग लिएको थियो भने राजपा तेस्रो चरणको अर्थात् प्रदेश २ को स्थानीय तह चुनावबाट संविधान कार्यान्वयनमा सहभागी भएको थियो ।

संविधानमा मधेसवादी दलका असन्तुष्टि कायमै छन् । हाल समाजवादी पार्टी संघीय सरकारमा पनि सहभागी छ । संविधान संशोधनमा नेकपासँग सहमति भएपछि समाजवादी सरकारमा गएको थियो ।

यद्यपि, प्रदेश २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा) का मन्त्रीहरुले यो निर्णयबारे जानकारी नभएको बताउँछन् । भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले भने, “यस्तो निर्णयबारे आफूलाई कुनै जानकारी छैन् । र, त्यस्तो मन्त्रीपरिषद् बैठकमा आफ्नो सहभागिता पनि छैन् ।”

आफ्नो पार्टी राजपाले संविधान घोषणा भएको दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको बताउँदै उनले यो दिन दीपावली मनाउने अवस्था अहिले पनि नआएको बताए ।

‘कफ्र्यू लगाएर, गोली चलाएर, व्यक्तिलाई थुनेर, मुद्दा लगाएर संविधान घोषणा गरिएको छ’ राजपा संसदीय दलका नेतासमेत रहेका सोनलले भने, “हामी त्यही दिनको रूपमा त्यसलाई मनाउने हो नि !”

जेलमा भएको बखत, सडकमा टायर बालिएको अवस्था अनि वीरगञ्जमा सोही दिन शत्रूघन पटेलको हत्या गरेर घोषणा गरिएको संविधानलाई आफूहरुले अहिलेसम्म नमानेको बताउँदै कुनै पनि हालतमा त्यस दिन खुशियाली मनाउन नसकिने बताए ।

वैशाख ११ लाई अहिले पनि सुखद् दिनको रूपमा मनाउँदै आएको बताउँदै उनले यस दिन लोकतन्त्रको घोषणा भएपछि मान्छे घरभन्दा बाहिर खुशी मनाउन आएको बताए । ‘तर ३ असोजमा जनता थुनिन बाध्य भएका थिए भने सडकमा गोली खान बाध्य भएका थिए । यो दिन कसरी खुशियाली मनाउन सकिन्छ ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment