Comments Add Comment

नारायणी नदी किनारमा फोहर फाल्न स्थानीयको अवरोध

२४, भदौ, चितवन । भरतपुर महानगरपालिका वडा नम्वर ३ का स्थानीयले नगरवन क्षेत्रबाट नारायणी नदी किनारमा फोहर फाल्न रोक लगाएका छन् ।

ल्याण्डफिल्ड साइट पीडित संघर्ष समितिले मंगलबार विहान ५ बजेबाट फोहर फाल्न रोक लगाएको संघर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिए । महानगरपालिकाकी प्रमुख रेनु दाहालले यस क्षेत्रका बासिन्दालाई हेपेको उनीहरुको आरोप छ ।

स्थानीय सडक, ढल निर्माण, खानेपानीको उचित व्यवस्था, सुरक्षा लगायतका माग लिएर प्रमुख दाहालको कार्यकक्षमा पुग्दा बेवास्त गरेको उनीहरुको आरोप छ । माग सम्बोधन नभए फोहर फाल्न नदिने चेतावनी दिएका स्थानीय बासिन्दालाई रोकेर देखाउन प्रमुख दाहालले चुनौती दिएकाले बाध्य भएर संघर्ष गर्नु परेको संयोजक श्रेष्ठले बताए । स्थानीय बासिन्दाले अघि सारेका माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा फोहर फाल्न नदिने उनले बताए ।

‘यो महानगरपालिका भरीको फोहर ल्याएर फाल्ने ठाँउ हैन,’ स्थानीय कुन्दन पाख्रिनले भने, ‘जनताको माग लिएर जाँदा मेयर दाहालको व्यवहारले चित्त दुखेको छ, त्यसैले हामी फोहर हाल्न दिदैनौं ।’ उनले फोहर लिएर आउने ट्याक्टर चालकबाट यहाँका महिला दिदी बहिनीहरु पीडित भएको उनले सुनाए । ‘एक जना ट्याक्टर चालकले १२ बर्षीया बालिकालाई नगरवनमा बलात्कार गरे, ती बालिकाको भविष्य के हुन्छ ?’ पाख्रिनले प्रश्न गर्दै भने, ‘हाम्रा चासोलाई महानगरपालिकाले गम्भीरता पूर्वक लिएन ।’

संर्घष समितिका सल्लाहकार सूर्य बरालले जनताका माग सम्वोधन भए केही वर्षसम्म फोहर फाल्न दिने सोचमा रहेका स्थानीयलाई मेयरको व्यवहारले भड्काएको बताए । ‘व्यवस्थित ल्याण्डफिल्ड साइट नभएसम्म स्थानीय पूर्वाधार निर्माण गरिदिए केही वर्ष फोहर फाल्न दिने सोच थियो, तर महानगर प्रमुखको व्यवहारले त्यो अवस्था रहेन’ सल्लाहाकार बरालले भने, ‘स्थानीयहरुको भेलाले अब कुनै पनि हालतमा फोहर फाल्न नदिने निर्णय गरेको छ, अब फोहर फाल्न दिदैनौं ।’

नारायणी नदी किनारमा १० बर्षदेखि फोहर फालिँदै

नारायणगढको केन्द्र मानिने पुलचोकबाट दुई किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा महानगरले विगत १० बर्षदेखि फोहर फाल्दै आएको छ । यहाँ करीव १५० घर धुरी छन् । यहाँ पुग्ने सडक पनि गतिलो छैन ।

यहाँ हिउँदमा फालिएको फोहर बर्षामा बढेर आउने नारायणी नदीले बगाउँछ । यो क्रम निरन्तर चल्दै आएको छ । महानगरपालिकाको फोहरसँगै अस्पतालजन्य फोहर पनि नदी किनारामा फाल्ने गरिएको छ । फोहरबाट निस्किएको रस ढल बनेर नदीमा गएको स्पष्ट देख्न सकिन्छ ।

फोहर र दुषित ढल मिसिदा नारायणी नदीमा प्रदुषित बन्दै गएको छ । जलचरहरु विनास हुँदै गएका विषयहरु पनि उठ्ने गरेका छन् । गैंडा समेत आएर खेल्ने यो ठाउँमा महानगरले फोहर फाल्दा कुनै पनि घटना हुनसक्ने स्थानीयले गुनासो गरे । उनीहरुका अनुसार यहाँ अस्पतालजन्य फोहरका रुपमा क्युरेट गरिएका तथा अन्य कारणले मरेका बच्चादेखि सालनाल काटिएका मानव अङ्ग, धारिला ब्लेड, प्याड लगायतका सामाग्रीहरू समेत नदी किनारमा फाल्ने गरिएको छ ।

क्यान्सर अस्पताल बाहेकका चितवनका मेडिकल कलेज, सरकारी अस्पताल र नीजि अस्पतालहरुले दैनिक एक टन अस्पतालजन्य फोहर उत्सर्जन गर्ने गरेका छन् । ती फोहरलाई पनि महानगरपालिकाले अन्य फोहर जस्तै गरी नदी किनारमा फाल्ने गरेको छ । भरतपुर महानगरमा दैनिक ६५ टन फोहर निस्कन्छ । महानगरले अन्यत्र फोहर फाल्ने स्थान नै नभएका कारण नदी किनारमा फोहर फाल्नु वाध्यता भएको जनाउदै आएको छ । धार्मिक हिसावले समेत पवित्र मानिएको नारायणी नदीमा बाध्यता भन्दै फोहर फाल्दं आएको बर्षौँ बित्यो । तर, भरपर्दो विकल्पमा महानगरपालिका जान सकेको छैन । भरतपुर महानगरको फोहर महानगरपालिका र ठेक्कामा लगाएको नीजि क्षेत्र मिलेर उठाउने गरेका छन् । महानगरको वडा–१ देखि ५ सम्म र वडा–७ देखि १२ नम्बर वडासम्मको फोहर निजी कम्पनीले संकलन गरी नदी किनारमा फाल्ने गरेको छ । वडा–१ देखि ७ सम्म ग्रीन नेपाल सिटी वेष्ट म्यानेजमेण्ट र ८ देखि १२ सम्मको वेष्ट म्यानेजमेण्ट कम्पनीले फोहर उठाउँदै आएका छन् ।

मेयरलाई स्थानीयको निम्तो : ‘आएर एक रात सुत्नुस्, दुई छाक खानुस्’

फोहर र दुर्गन्धले आजित बनेका यहाँका स्थानीयले महानगरकी मेयर रेनु दाहाललाई आएर एक रात सुतेर दुई छाक खाना खान समेत निम्ता दिएका छन् ।
नारायणी दोभान टोल विकास संस्थाका अध्यक्ष सूर्य बरालले महानगरकी मेयर दाहाललाई दुई छाक खाना आफ्नो घरमा आएर खाइदिन अपिल गरे । हामी कस्तो अवस्थामा बसेका छौं भन्ने कुरा बल्ल उहाँले थाहा पाउनुहुन्छ अध्यक्ष बरालले भने, ‘हामी पनि मान्छे नै हौं उहाँ पनि मान्छे नै हो, तर घुम्ने मेचमाथि अन्धो मान्छे बन्न भएन ।’

अर्का स्थानीय कुन्दन पाख्रिनले फोहर दुर्गन्धका कारणले कोही पनि पाहुना आउन नमान्ने गरेको गुनासो गरे । ‘कुकुरले फोहरमा फालिएका मान्छेका हात खुट्टा बोकेर घर घरमा आउँछ, रगत चुहाउँदै ट्याक्टर दौडिन्छ, फोहरका बोरा खसाल्दै हिँड्छ, फालिएका सुईले खुट्टामा पस्छ’ पाख्रिनले भने, ‘अटोवालाहरु हामीलाई लिएर आउन मान्दैन, मान्छेहरु हाँस्छन्, हाम्रो दुःख कहिल्यै महानगरपालिकाले बुझेन, महानगरले हाम्रो ठाँउको विकास गर्न पदैन, हामी आफैं गछौं ।’ फोहरले भूमिगत पानी पनि प्रदुषित भएर खान नहुने भएको स्थानीय वृद्धा दुर्गा परियारको भनाइ छ । गर्मीको बेला दिउँसोको समयमा बस्नै नसकिने दुर्गन्ध फैलिने गरेको परियारले गुनासो गरिन् ।

महानगर भन्छन् –समस्या समाधानका लागि तयार छौं

फोहर व्यवस्थापनमा अवरोध खडा गरेपछि महानगरपालिकाले स्थानीय जनताका मागहरु क्रमशः पूरा गर्दै गएको र भविष्यमा पनि गर्दै जाने बताएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र सुवेदीले विगतमा पनि महानगरपालिकाले सो क्षेत्रको पूर्वाधार निर्माणमा काम गरिहेको र आउँदा दिनमा पनि गर्ने बताए । फोहर व्यवस्थापनको दीगो समाधानका लागि एक कोरियन संस्थासँग सम्झौतासमेत भएको उनले बताए ।

‘स्थानीय जनताका सरोकार सम्बोधन गर्न महानगर तयार छ,’ प्रमुख प्रशासकिय अधिकृत सुवेदीले भने, ‘माग राख्दा पनि शालिन ढंगले प्रस्तुत भएर राख्नुपर्दछ ।’

स्थानीय केही अगुवाले फोहरको सेग्रिगेशन गर्न पनि नदिने र दुःख दिने गरेको सुवेदीको भनाइ छ । उत्पन्न समस्या समाधानका लागि पहल भैरहेको उनले बताए । अटो ल्याण्ड, रिङरोड, महानगरीय औद्योगिक क्षेत्र यहीँ नै निर्माण गर्ने तयारी अघि बढाएको महानगरपालिकाको भनाइ छ ।

सरकारले भरतपुर महानगरपालिका वडा–११ को आँपटारीमा ल्याण्डफिल्ड साइट बनाउने भन्दै जग्गा दिने निर्णय २०६८ सालमा नै गरेको हो । भरतपुरमा ल्यान्डफिल साइट बनाउन महानगरले करीव १५ बिघा जमिन उपलब्ध भएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment