Comments Add Comment

बुढेसकालमा को हुन्छ सहारा ?

मीनाको माइत र घर नजिक थियो । त्यसैले माइत आउने-जाने क्रम बाक्लै हुन्थ्यो । आमा-बुबाको हरेक दिनको हालखबर मीनालाई थाहा हुन्थ्यो । तर, अहिले जागिरे श्रीमानको सरुवा अर्कै शहरमा भएपछि मीनालाई पहिलाको जस्तो आमा-बुबालाई भेटेरै हालखबर बुझ्न असम्भव भयो । अहिले मीना ६ महिना अथवा वर्ष दिनमात्र आफ्ना आमा-बुबा कहाँ आउन पाउँछिन् । यद्यपि, उनी हरेक दिन आमा-बुबासँग फोनमा त कुरा गर्छिन्, तर भेटेर तीता-मिठा कुरा गरेजस्तो फोनमा कहाँ हुन सक्छ र ?

मीना शहर बाहिर गएपछि उनका आमा-बुबाको एक्लोपन टाढा गर्ने कोही भएन । धेरै समयपछि मीना आफ्ना आमा-बुबालाई भेट्न माइत आइन् । उनलाई देखेर आमा-बुबा धेरै खुशी भए । नहुन् पनि कसरी ? उनीहरुसँग बोलिदिने र मिठो खाना बनाएर खुवाउने छोरी आएकी छन् ।

हुन त मीनाका दाइ पनि छन्, तर दाइ पढ्नको लागि विदेश गए र उनले विदेशमा नै घरजम गरेर उतैका बासिन्दा भए । समय-समयमा उनी आमा-बुबालाई भेट्न त आउँछन्, तर यहाँको धुलो-माटो, बाटोको अवस्था, पानीको अभाव, प्रदुषणका कारण उनलाई धेरै समय आफ्नो देशमा बस्न कष्टकर हुन्छ । जसको कारण ७० वर्ष कटिसकेका आमा-बुबालाई एक्लो जीवन बिताउन पर्ने बाध्यता छ ।

आमा-बुबाको एक्लोपन देखेर मीनालाई एकदम दिक्क लाग्थ्यो । मीना आफू पनि आमा-बुबासँग धेरै दिन बस्न पाउँदिनन् । किनभने मीनाको घरमा पनि बुढा सासू, ससुरा, बच्चा र श्रीमानको जिम्मेवारी मीनाकै काँधमा छ । तर आफ्ना बुढा आमा-बुबाको एक्लोपनले मीनालाई भित्र-भित्र पोल्ने गर्छ ।

यस पटक मीना आफ्ना आमा-बुबालाई भेट्न आउँदा, उनले दुवैलाई एकदम दुब्लो र कमजोर भएको पाइन् । उनको बुबाको सुगर धेरै बढेको थियो र कमजोरी पनि थियो । त्यस्तै आमा पनि अब धेरै कमजोर भएकी थिइन् । आमालाई ढाड दुख्ने समस्या बढेको थियो ।

उनी जसो-तसो भान्साको सानातिना काम गर्न सक्थिन् । हुन त घरको सरसफाइ र खाना बनाउनका लागि एक जना सहयोगी त थिइन् । उनले आमा-बुबाको लागि बिहान र बेलुकाको खाना बनाउने, भान्सा सफा गर्ने, भाँडा माझ्ने जस्ता काम गरेर जान्थिन् । कहिलेकाहीँ ती सहयोगी आइनन् भने आमा-बुबा पाउरोटी खाएर गुजारा गर्थे ।

पहिला संयुक्त परिवार थियो, सबै एकसाथ बस्थे । ठूलो परिवारमा धेरै बच्चा, छोरी, बुहारी र बुढापाका पनि सँगै हुन्थे । त्यो समयमा न एक्लोपन, न खाने-पिउनेको चिन्ता र न त बिरामीको चिन्ता नै हुन्थ्यो । परिवारमा जसले जसको पनि ध्यान राख्थ्यो । तर, आज एकल परिवारमा विशेष गरेर बुढा-बुढीलाई बाँच्न गाह्रो भएको छ । बुढा-बुढी मात्र भएको घरमा कुनै घटना भैहाल्यो भने पनि खबर दिने कोही हुँदैन । अहिले प्रायः घरमा युवाहरु हुँदैनन् । भए पनि आफ्नै काममा व्यस्त हुन्छन् । छिमेकीको घरमा के भैरहेको छ भन्ने कुरा कसैलाई खबर हुँदैन । अर्काको घरको बुढाबुढीको कसलाई मतलव !

मीना मनमनै यी कुराहरु सोच्दै थिइन्, भान्साबाट केही खसेको आवाज आयो । उनी तुरुन्त भान्सामा पुगिन् । भान्सामा उनले आमालाई लडिरहेको देखिन् र आमाको वरपर चिनी र चियापत्ति पोखिएको थियो । आमा सबैलाई चिया पकाउनको लागि भान्सामा गएकी रहिछन् । आमालाई मीनाले बिस्तारै उठाएर सुत्ने कोठामा लागिन् र के भएको भनेर सोधिन् ।

आमाले सानो स्वरमा भनिन् रिंगटा लागेर लडे । कहिलेदेखि रिंगटा लागेको ? मलाई किन नभनेको ? भनेर मीनाले आमासँग गुनासो गरिन् । आमाले मीनाको आफ्नै घर-परिवार छोडेर आउन नसक्ने कारण आफ्नो समस्या भन्न नसकेको आमाले बताइन् ।

त्यो सुनेपछि त्यही समयमा मीनाले एउटा निर्णय लिइन् । मीनाले आफू आमा-बुबा कहाँ आउन नसक्ने भएपछि आमा-बुबालाई नै आफूसँगै लैजाने सोचिन् । उनले त्यही साँझ श्रीमानलाई फोन गरिन् र सम्पूर्ण कुरा बताइन् । साथै आफ्नो निर्णय पनि सुनाइन् । उनले आमा-बुबा बसेको घर बचेर आफ्नो घरसँगै एउटा सानो घर किन्ने कुरा आफ्ना श्रीमानलाई सुनाइन् ।

शुरुमा त श्रीमानले मानेका थिएनन् तर मीनाले आमा-बुबालाई आफ्नो धेरै आवश्यकता रहेको र आफू बच्चालाई लिएर आमाबुबाको घरमा सर्ने धम्की दिएपछि श्रीमानले उनको कुरा माने । यता आमा-बुबा पनि मीनाको निर्णय मान्न गाह्रो महसुस गरे । वास्तवमा उनीहरु छोरीलाई बोझ बन्न चाहँदैन थिए । उनीहरुलाई सम्धी सम्धिनीले के भन्लान्, ज्वाइँले के सोच्लान् र छोरीले आफ्नो घर हेर्नु कि हामीलाई ? जस्ता कारणले उनीहरु मीनासँग जान हिच्किचाएका थिए ।

तर आफ्नो आमा-बुबालाई यस्तो हालतमा छोडेर नजाने निर्णय मीनाले गरिसकेकी थिइन् । श्रीमान्, सासु-ससुरा जो रिसाए पनि आफ्ना आमा-बुबालाई छाडेर नजाने उनको कडा अठोट थियो ।

मीनाले आमा-बुबाको घर बेच्नका लागि प्रक्रिया थालिन् । घर पुरानो डिजाइनको थियो तर जग्गा धेरै भएकाले घर छिट्टै बिक्यो । मीनाले आमा-बुबाको सबै सामान प्याक गर्न थालिन् । यही क्रममा आमाले मीनालाई आफ्नो निर्णयप्रति एकपटक पुनः विचार गर्न अनुरोध गरेकी थिइन् ।

मीनाले आफ्नो निर्णय दृढ रहेको र आफूले पटक-पटक विचार गरेर निर्णय लिएको कुरा आमालाई बताइन् । तर मीनाले आफ्ना बुढा आमा-बुबाको अनुहारमा एक प्रकारको शान्ति, आनन्द छाएको र ओठमा मन्द मुस्कान देखिन् । उनले आमा-बुबाको अनुहारको यसप्रकारको हाँसो र आनन्द धेरैपछि देखेकी थिइन् । बुढेसकालमा आमा-बुबालाई आफ्नो सन्तानको साथको कति आवश्यकता पर्दो रहेछ भन्ने कुराको मीनाले त्यो समयमा महसुस गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment