Comments Add Comment

कतै तपाईंको सम्बन्ध देखावटी त छैन ?

त्यो सम्बन्ध अटुट र सुन्दर हुन्छ, जसमा कुनै देखावटी व्यवहार हुँदैन । हुन्छ त केवल मन भित्रबाट उत्पन्न साँचो र चोखो मायाले भरिएको व्यवहार । परिवारलाई खुशीयाली बनाउनको लागि सम्बन्धमा सामञ्जस्य बनाउन आवश्यक हुन्छ । आजको स्वार्थ र भौतिकता अन्धो दौडमा लिप्त भएका आजका युवाहरुले आमा-बुवाको उपकार, उनीहरुले आफ्नो लािग गरेका कर्तव्य, सन्तानको लागि आफ्ना इच्छा र आकांक्षालाई दबाएर सन्तानको खुशीलाई प्राथमिकता दिएका कुराहरु सम्झनु अति आवश्यक छ ।

आजका बालबालिकाहरु बुढेसकालमा एक्लो तथा कष्टकर जीवन बाँचिरहेका आमा-बुबाको चिन्ता नगरे पनि उनीहरुको अन्तिम समयमा अन्तिम दर्शन गर्ने देखावटी भने अवश्य गर्छन् ।

बालबालिकाहरु आमा-बुबाबाट धेरै कारणले टाढा हुन्छन्, कोहि अफिसको कारणले त कोही पढाईको । तर यदि बालबालिकाको  मनमा आमा-बुबाप्रति माया प्रेम छ भने उनीहरु समय मिल्नासाथ आफ्ना आमा-बुवालाई भेट्न दौडिहाल्छ तर माया नभएका सन्तानहरु विभिन्न वाहाना गर्दै बस्छन् ।

बुढा भएका आमा-बुबाले आफुलाई जतिसुकै दु-ख, पीडा र समस्या भएपनि आफ्ना सन्तानलाई दु-ख दिन चाहँदैनन् । उनीहरु आफु द-ुख पाएर पनि सन्तानले सुख पाउन भन्ने सोच्छन् तर सन्तानले पनि आफ्नो आमा-बुबाको समस्या र दुःखलाई आफैंले बुझेर अरु समयमा नसके पनि उनीहरुलाई गाह्रो भएको समयमा आमा-बुवाको सेवा गर्ने र उनीहरुलाई हरेक कुराले सहयोग गर्नुपर्छ । जति माया र प्रेम गर्नु छ, आमा-बुवा बाचुञ्जेलसम्म हो, मृत्युपछि पछुताएर अथवा रोएर कुुनै अर्थ छैन ।

आफ्ना आमा-बुवा जीवित हुँदा केहि सेवा गर्नु भयो भने मैले आफ्नो आमा-बुवालाई थोरै भए पनि सेवा गर्न पाएँ भन्ने कुराको तपाईंलाई पनि आत्मसन्तुष्टि हुन्छ । त्यसैले वृद्ध आमा-बुबाको सेवा गर्नु पर्छ, जसले तपाईंको सन्तानले पनि भविष्यमा तपाई प्रतिगर्ने व्यवहारको राम्रा शिक्षा हासिल गर्न सकुन् ।

वृद्ध आमा-बुबा जीवित हुँदा कुनै छोरा-छोरी उनीहरुलाई भेट्न आउन कि नआउन, त्यति महत्व हुँदैन । तर, मृत्यु पश्चात कुनै पनि हालतमा अन्तिम दर्शनको लागि आउनु नै पर्ने नियम रहेको छ । तर मृत्युपछि त केवल शरीर मात्र रहन्छ, त्यो पार्थिव शरीरलाई कोहि आए पनि नआए पनि कुनै अर्थ रहँदैन । तर समाजको लागि र मानिसले कुरा काट्छन् भन्ने डरका कारण पनि यो समयमा छोरा-छारी संसारको जुन कुनामा भएका आमा-बुबाको अन्तिम दर्शन गर्न आउँछन् । यसको केवल एउटै अर्थ लाग्छ-त्यो हो देखावटी । यदि उसले आफ्नो आमा-बुवालाई साँचो माया गथ्र्यो भने उ आमा-बुवाको बुढेसकालको साहारा बन्थ्यो । यदि कामको कारण आफु आमा-बुवा भएको ठाउँमा बस्न सक्दैन भने आमा-बुवालाई आफ भएको ठाउँमा लग्न त सक्छ नि ?

सबै छोरा-छोरी माथि उल्लेख गरेको जस्ता हुन्छन् भन्ने हुँदैन । धेरै छोरा-छोरी त्यस्ता पनि छन्, जसले आफ्ना आमा-बुवाको साथका लागि संसारका महत्वपुर्ण कुराहरुलाई वास्ता गरेका छैनन् । आफ्ना आमा-बुवाको सेवा गरेर उनीहरुको बुढेसकालको लौरो बनेका पनि छन् । उनीहरुलाई मन लागेको गर्न, खान र घुम्न लगेर उनीहरुको बढेसकाललाई रमाइलो बनाईदिएका पनि छन् । उनीहरुलाई अनेक सुविधा दिएर उनीहरुको बढेसकाल सुविधापुर्ण बनाइदिएका छन् ।

सबै छोरा-छोरीले देखावटी व्यवहार गर्छन् भन्ने हाम्रो उद्देश्य होइन तर कतिपय छोरा-छोरी त्यस्ता पनि छन्, जसले आमा-बुवालाई अरुले के भन्छन् भन्ने हिसाबले माया गरेको देखावटी गर्छन् ।

छोरा-छोरीहरु कति आफ्नो बाध्यताले आमा-बुबाबाट टाढा हुन्छन् भने कति महत्वाकांक्षाका कारण पनि टाढा हुन्छन् । तर दुवै परिस्थितिमा आमा-बुबा एक्लो हुन्छन् । जुन आमा-बुबाले आफ्ना सन्तानलाई जीवनको रफ्तारमा उड्न सिकाउँछन् , उनीहरु नै पखेटा बलियो भएपछि उडेर टाढा पुग्छन् र पछाडि फर्केर हेर्दा पनि हेर्दैनन् । उनीहरु आफ्नो जीवनमा यति व्यस्त हुन्छन्, उनीहरुलाई जन्म दिने आमा-बुबाको हालखबर बुझ्ने समयसम्म हुँदैन। आफुले चाहेको गर्नको लागि समय हुन्छ तर आमा-बुबासंग केहि समय भए पनि संगै बिताउँ भन्ने चाहना हुँदैन । उनीहरु आमा-बुबालाई एक्लो बेसाहरा, दु-ख र पीडामा छोडेर रमाइलो संसारमा हराउँछन् । तर जब आमा-बुबाले संसार छोडेको खबर थाहा पाउँछन्, अन्तिम दर्शन गर्न नपाएको गुनासो गर्दै रुन र कराउन थाल्छन् । यसलाई देखावटी नभनेर के भन्ने ?

आमा-बुबा र सासु-ससुरा

वृद्ध भएका आमा-बुबालाई आफुसंग राख्न अथवा उनीहरुसंग बस्न आजका युवा पिढीलाई स्वीकार्य हुँदैन । वृद्ध आमा-बुबाले आधुनिकता र स्ट्याटस मेन्टेन गर्न नसक्ने भएकाले कारण उनीहरु वृद्ध आमा-बुबासंग बस्न चाहँदैनन् । त्यस्ता परिवार निकै कम होलान्, जहाँ आफ्ना आमा-बुबा र सासु-ससुरालाई उचित आदर सत्कार र मान-सम्मान दिन्छन् । आफ्ना बच्चाको आफु प्रतिको त्यस्ता व्यवहारका कारण आमा त्यस्ता बुबालाई बाँच्ने उत्साह पनि हराउँदै जान्छ ।

वृद्ध-वृद्धाको दायित्व

प्रायः वृद्ध-वृद्धाप्रति गरिएको व्यवहारप्रति हामी छोरा-छोरीलाई नै दोषि ठहर्‍याउँछौं । तर कहिलेकाहिं आमा-बुबाबाट पनि गल्ति हुन्छ । उनीहरु युवाको सामान्य व्यवहारलाई पनि आफ्नो दृष्टिले हेर्ने गर्छन् । उनीहरुको समान्य कुराहरुलाई पनि ठुलो बनाउने र अनेक समस्या उत्पन्न गराउँछन् । उनीहरु परिर्वतनशील समय र नयाँ पीढीसंग सामञ्जस्य बनाउन चाहँदैनन्, आफुले चाहे जस्तो मात्र होस् भन्ने सोच्छन् ।

छोरा-छोरीको समस्या बुझ्न चाहँदैनन्, उनीहरुलाई केही खुल्लापन र स्वतन्त्रता दिन उनीहरुलाई स्वीकार्य हुँदैन । बुढा आमा-बुबा र सासु-ससुराको त्यस्तो तानाशाही व्यवहारका कारण छोरा-छोरी उनीहरुबाट भिन्दै बस्न बाध्य हुन्छन् । यस्तो अवस्थामा समाजले छोरा-छोरीलाई नै दोषी देख्छन् र वास्तविकता नबुझि कुरा काट्न थाल्छन् ।

युवाहरुको कर्तव्य

परिवारमा सुख र खुशी होस् भन्नाका लागि दुवै पक्षले सामञ्जस्य बनाउनु आवश्यक हुन्छ । आमा-बुबाले पनि छोरा-छोरीको चाहाना बुझ्ने र समयअनुसारको आफुलाई परिर्वतनतिर लाग्नु पर्छ । त्यस्तै छोरा-छोरीले पनि आमा-बुवाको अन्तिम दर्शनको इच्छा राख्नु भन्दा जीवित हुँदा नै उनीहरुको राम्रोसंग हेरचाह गर्नुपर्छ ।

आमाबुबाको मान-सम्मान गर्ने, बुढेसकालमा उनीहरुको सुरक्षा र सेवा प्रदान गर्नु पर्छ । यदि संगै बस्न सम्भव छैन भने उनीहरुलाई राम्रो संग बस्ने बन्दोबस्त गरिदिनु पर्छ । टाढा भए पनि समय समयमा उनीहरुको हालखबर बुझ्ने, समय मिलाएर उनीहरुलाई भेट्न आउने गर्नु पर्छ । आफ्ना सन्तानलाई पनि हजुर आमा-बुबालाई मान-सम्मान गर्न सिकाउनु पर्छ । बुढा आमा-बुबालाई अस्विकार्नु भन्दा उनीहरुको अनुभवबाट शिक्षा लिनु पर्छ । जति माया, प्रेम, सेवा गर्ने हो, जीवित हुँदा नै गर्नु पर्छ, जसले तपाईंको मनलाई पनि शान्ति र आत्मसन्तुष्टि प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment