Comments Add Comment

दल दर्ताका लागि नेकपाले दियो निर्वाचन आयोगमा निवेदन

२६ भदौ, काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।

आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले बिहीबार बिहान आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले दल दर्ताका लागि भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको जनाएका छन् ।

दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायत नेता बिहीबार बिहान आयोग पुगेका थिए । दर्ता निवेदनउपर अब आयोगले आवश्यक कारबाही गरेर दल दर्ता गर्नेछ ।

नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो । निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन दिएको हो ।

निर्वाचनपछि संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर समाजवादी पार्टी र विवेकशील साझा दल पनि गठन भएका छन् । यी दलले पनि आगामी निर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्नेछ ।

विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment