Comments Add Comment

चितवनको सप्तगण्डकीमा शैक्षिक एफएम र टेलिभिजन ल्याव सञ्चालन

२६ भदौ, चितवन । चितवनको भरतपुरस्थित सप्तगण्डकी क्याम्पसमा शैक्षिक एफएम तथा टेलिभिजन प्रयोगशाला सञ्चालनमा आएको छ । सो एफएम तथा टेलिभिजन प्रयोगशालाको प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताए । हेटौँडा क्याम्पस सञ्चालक समितिको २० वर्षे नेतृत्व हालै मात्र छोडेको प्रसङ्ग निकाल्दै मुख्यमन्त्री पौडेलले भने, ‘सामुदायिक क्याम्पसमा आफ्ना केही समस्या छन् प्रदेश सरकारले त्यसलाई समाधानको प्रयास गर्छ ।

सरकारले अनुमति मात्रै दिएर छोड्ने, विद्यार्थीले कम शुल्क तिर्न खोज्ने, प्रध्यापकले त्रिवि सरह तलब खोज्ने र अभिभावकले गुणस्तरीय शिक्षा चाहने हुँदा सामुदायिक क्याम्पसहरुले उल्लेख्य प्रगति गर्न नसकेको मुख्यमन्त्री पौडेलको भनाइ थियो । सामुदायिक क्याम्पसमा अवसर र चुनौती दुवै भएको भन्दै उनले प्रदेश सरकारले सामुदायिक क्याम्पस र विद्यालयलाई सवलीकरण गर्ने नीति अघि बढाएको बताए ।

क्याम्पसको सो प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गरेको थियो भने, क्याम्पसले ५ लाख रुपैयाँ खर्चिएको छ । आउँदा दिनमा पनि आवश्यकता अनुसार सहयोग गरिने आश्वासन मुख्यमन्त्री पौडेलले दिए ।

पत्रकारिता विषयका उपप्रध्यापक मधुसुधन दवाडीका अनुसार पत्रकारिता पढ्ने विद्यार्थीलाई लक्षित गरी शैक्षिक एफएफ र टेलिभिजन प्रयोगशाला स्थापना गरिएको बताए । सो क्याम्पसको कक्षा ११ र १२ तथा स्नातक तहमा पत्रकारिता विषय लिएर दुई सय विद्यार्थी अध्ययनरत छन् । प्रयोगशाला निर्माणसँगै विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने दवाडीले बताए । २०४५ मा स्थापना भएको क्याम्पसमा हाल ३ हजार विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment