Comments Add Comment

रोल्पा र रुकुममा ‘युद्ध पर्यटकीय स्थल’ बनाइने

२६ भदौ, काठमाडौं । माओवादी जनयुद्धको केन्द्रविन्दूको रुपमा रहेका रोल्पा र रुकुम (पूर्वी र पश्चिम दुबै) का ‘युद्ध क्षेत्र’ लाई पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ । नेपाल पर्यटन बोर्डले चालु आव २०७६/७७ को वार्षिक योजनामा यो अवधारणा समावेश गरेको हो ।

माओवादी द्वन्द्वकालका चर्चित स्थानहरुको संरक्षण गर्दै पर्यटक आकर्षणको केन्द्र बनाइने बोर्डले जनाएको छ । ‘युद्ध पर्यटन योजना’ बनाएर यी तीन जिल्लामा रहेका ‘युद्ध स्थल’ संरक्षण गर्ने योजना बोर्डले आफ्नो वार्षिक कार्यक्रममा समेटेको हो ।

गत आवको बजेटमा समेटिएका रुकमकोटस्थित सिस्ने गाउँपालिका र छपखोला युद्ध स्मारक क्षेत्रका विस्तृत योजना निर्माणको कामलाई समेत यस वर्ष बजेट निरन्तरता दिइएको छ । भूमे गाउँपालिकाको युद्ध संग्रहालय भेरीडाँडा (चुनबाङ) युद्ध स्मारक क्षेत्रमा समेत यस वर्ष विस्तृत पर्यटकीय योजना बन्ने छ । यो कार्यक्रम गत आवमा समेत परेको थियो ।

रोल्पा र रुकुमबाहेक विगतमा युद्धका कारण चर्चामा आएका अन्य क्षेत्रलाई समेत क्रमशः पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने योजना बोर्डको छ । यसै वर्ष चितवनको मेघौली र सौराहा क्षेत्रको पर्यटन गुरुयोजना निर्माण गर्ने योजना बजेटले समेटेको छ । वृहत्तर सिन्धुलीढी पर्यटकीय क्षेत्र विकास गूरुयोजनाका लागि पनि बोर्डले बजेट छुट्याएको छ ।

बोर्डले विगतमा रुकुम (पूर्वी/पश्चिम) र सिन्धुपाल्चोक जिल्लाको पर्यटन योजना बनाइसकेको छ । त्यसलाई यस वर्ष पुनरावालेकन गरी नयाँ बनाउने गरी बजेट छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment