Comments Add Comment

गुम्फनः किशोरपुस्ताको उकुसमुकुस र साइबर दुनिया

भौतिक संसारकै समानन्तर अर्को भर्चुअल संसारको पनि निर्माण भइरहेको छ अहिले । यही संसारले एउटा ठूलो जमातलाई खर्लप्पै आफुतिर तानेको छ ।

भर्चुअल संसारलाई एक्काइसौ सताब्दीको उपलब्धी मान्ने वा अभिषाप ?

किनभने यसमा प्रवेश गर्नेहरु क्रमस वास्तविक जीवनबाट विमुख हुँदैछन् । भौतिक अनुपस्थितीमै विश्वसँग जोडिने त्यो संसारमा धेरैजसो त आफ्नो वास्तविकता लुकाएरै रमाइरहेका छन् । अर्थात छद्म भेषमा । घर-परिवार, समाज, साथीभाईबाट आफुलाई लुकाएर साइबर संसारमा घण्टौ-घण्टा हराइरहेका छन्, बेपर्वाह । जीवनको उद्देश्य, मानविय मूल्य र सामाजिक दायित्वबाट अलग भएर उनीहरु आफैमा मन-मग्न छन् ।

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटकले भर्चुअल संसारको यस्तै कुरुप पाटो उधिनेको छ । खासगरी किशोरवयको लहड, प्रेम-रोमान्स, चञ्चलता, आकंक्षासँगै उदासी, निरासा, छटपटीमा साइबर दुनियाको प्रभावलाई नाटकले मियो बनाएको छ । नाटकको शीर्षक हो, गुम्फन ।

नाटकमा किशोरवयका केही छरपस्ट पात्र छन्, स्कुल पढ्ने । उनीहरुको आफ्नै सपना छ, आकंक्षा छ । तर, पढाई र करियरप्रति उति गंभिर छैनन् । खुलमखुला प्रेम र रोमान्समा रमाउँछन् । उनीहरुकै भिडामा छन्, आयन । उनलाई जीवनप्रति खास रुची छैन । न कसैसँग हास्नु छ, न कतै रमाउनुछ । उनी एकोहोरिएका छन्, साइबर दुनियामा । उनको लागि वास्तविक जीवन झर्कोलाग्दो छ । उदास छ । त्यही कारण आयन हरदम इन्टनेटबाट साइबर गार्डेनमा प्रवेश गर्छन् र त्यही हराउँछन् ।

अर्की पात्र छिन्, एलिना । उनलाई आफ्नो भद्दा शरीरप्रति औधी चिन्ता छ । सोही चिन्ताको निराकरण खोज्दा खोज्दै उनी पनि साइबर दुनियामा प्रवेश गर्न पुग्छिन् । त्यहाँ न उनलाई आफ्नो भद्दा शरीरको चिन्ता छ, न त साथीहरुको घोचपेचकै भय ।

वास्तविक जीवनबाट हराउन चाहने एलिनाले साइबर गार्डेनमा  डार्क फ्लोसँग भेट हुन्छ । उनीहरुको भावना साटिन्छ । वास्तविक जीवनबाट भाग्ने उनीहरु साइबर गार्डेनमा भने आफुलाई खुलेर व्यक्त गर्छन् । तर, उनीहरुले खोजेको उमंग र खुसी साइबर संसारमा छैन । अन्ततः उनीहरु डिप्रेसनग्रस्त बन्दै जान्छन् ।

यता आमाबुवाको छटपटी भने बेग्लै छ । इन्टरनेटको कुलतमा एकोहोरिका बालबच्चालाई कसरी तंग्राउने भनेर मनो-परामर्शदाता खोज्नुपरेको छ । बालबच्चालाई सामाजिक जीवनमा फर्काउने चेष्टासँगै कथाले फरक मोड ल्याउँछ ।

नाटक ‘गुम्फन’ले वर्तमान समाजको चुनौती बन्दै गएको भर्चुअल संसार र त्यसमा हराइरहेका किशोरपुस्ताको कथा भन्छ । कथा समसामयिक छ । प्रस्तुती कलात्मक छ । पात्र र परिवेशलाई प्रतिकात्मक रुपमा उतारिएको छ । नाटकको कथासँग प्रकाश, ध्वनी र पृष्टभूमीको तालमेल मिलाउने हरसंभव प्रयास गरिएको छ ।

नाटकलाई दिलीप रानाभाटले निर्देशन गरेका हुन् । उनले यसअघि ‘सिंहदरबारको टेन्डर’ र ‘झिमिक झिमिक झ्याप’ नाटक निर्देशन गरिसकेका छन् । नाटक गुम्फनमा अभिषेक गैरे, आयुष्मान गिरी, इष्टु कार्की, एचके अधिकारी, गुगल लामा, पिबि एस रिदम सुनुवार, प्रमोद खड्का, बिजेश गौतम, मदन सुवेदी, संगीता थापाले अभिनय गरेका छन् ।

नाटकको सह-निर्देशन दिपेश राइले गरेका हुन् । बिमल सुवेदीको मन्च तथा प्रकास परिकल्पना रहेको नाटकका व्यवस्थापन भने साजन कुमार सुनुवारले सम्हालेका छन् ।

खासमा यो नाटक एलिसा सालोको फिनिस नाटक ‘रयादेस्सवारा’बाट प्रभावित छ, जसलाई नेली केइनानेन र लिया अब्सेसले अंग्रेजी अनुवाद गरेका हुन् । अंग्रजी ‘फलिङ’लाई जिवेश रायमाझीले नेपालीमा भावनुवाद गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment