Comments Add Comment

नछोइकन अनलक हुनेछ भविष्यको आइफोन

आफ्नो आइफोनबाट टच आइडी हटाएसँगै अब एप्पल पूर्णरुपमा फेस आइडी फिचरमा भर पर्दैछ । एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजमा पनि फेस आइडी फिचर सामेल गरेको छ ।

अहिलेका लागि भलै फेसियल रिकग्निसन बायोमेट्रिक सेक्योरिटीले राम्रोसँग काम गरिरहेको छ । तथापि, भविष्यमा आइफोनको डिस्प्लेमा टच हटाएको स्थितिमा एप्पलले फेसियल रिकग्निसन प्रविधिसँग सम्झौता गर्नुपर्ने हुन्छ । आइफोन एक्ससँगै सुरु भएको नच डिस्प्लेलाई एप्पलले नयाँ डिभाइसमा पनि सामेल गरेको छ । जबकि प्रयोगकर्तालाई यो मन परेको छैन । एप्पलका आइफोनहरु फूलस्क्रिनवाला डिस्प्लेयुक्त होस् भन्ने चाहना एप्पलका प्रयोगकर्ताको छ । योसँगै एप्पलले नयाँ विकल्पमा पनि काम सुरु गरेको छ ।

तर, भविष्यमा आइफोनको डिस्प्लेबाट नच हटाइयो भने टच आइडी वा फेस आइडी बिना डिभाइसहरु कसरी सुरक्षित होलान् ? एप्पलले हत्केलाबाट यसको जवाफ दिनेछ । अर्थात् एप्पलले अहिले Palm ID प्रविधिको विकासमा काम गरिरहेको छ ।

एप्पलले अमेरिकाको पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा एउटा पेटेन्टका लागि निवेदन दर्ता गरेको छ । यसबाट के खुलासा भएको छ भने एप्पलले भविष्यमा आफ्ना आइफोनमा लक वा अनलक गर्नका लागि हत्केला स्क्यान गर्ने प्रविधिको प्रयोग गर्नेछ ।

एप्पलका अनुसार हत्केला बायोमेट्रिक स्क्यानर केवल भविष्यका आइफोनमा मात्र होइन आइप्याड तथा एप्पल वाचमा समेत प्रयोग हुन सक्नेछ ।

आइफोन उठाउँदै अनलक

फिंगरप्रिन्ट जस्तै हत्केलाका रेखा वा हस्तरेखा पनि उमेरसँगै परिवर्तन हुँदैन ।त्यसैले एप्पलले नयाँ बायोमेट्रिक लक अप्सनको रुपमा भविष्यका आइफोनमा यसको प्रयोग गर्न सक्दछ । नयाँ पाम स्क्यानिङ सेक्योरिटी अन्तर्गत प्रयोगकर्ताले आइफोन हातले उठाउँदा त्यो अनलक हुन्छ ।

यो नयाँ प्रविधिलाई एप्पलले कहिलेदेखि आइफोनमा ल्याउनेछ भन्ने बारेमा यसमा एप्पलले केही खुलाएाके छैन । यद्यपि पूरै हत्केलालाई स्क्यान गर्ने प्रक्रिया जटिल छ र यसका लागि एप्पलले अत्याधुनिक सेन्सरमा भर पर्नु पर्नेछ ।

साथै यसका लागि सेल्फी क्यामरालाई पनि बढि शक्तिशाली बनाउनु पर्नेछ । तर डिभाइसका डिस्प्लेमा नच हाटाउँदा सेन्सर र सेल्फी क्यामरा कुन भागमा राख्ने भन्ने प्रश्न उठ्नेछ । त्यसैले सानो आकारकै भएपनि डिस्प्ले नचमै हत्केला स्क्यान गर्ने सेन्सर एप्पलले आफ्ना डिभाइसमा राख्ने विश्वास गरिएको छ ।

त्यसो भए के एप्पलले भविष्यका आइफोनमा पनि नच डिस्प्ले नै राख्ने छ त ? यसको जवाफ चाहीँ एप्पलले दिइसकेको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment