Comments Add Comment

‘स्मार्टसिटी’का सडक एम्बुस थापेजस्ता

२७ भदौ, पोखरा । भदौ दोस्रो साता डिहिकोपाटनमा स्कुटर दुर्घटना हुँदा कुसुम श्रेष्ठको ज्यान गयो । दुर्घटनाको कारण थियो सडकको खाल्डो । पृथ्वीचोकमा एक युवा सडकमा बजारिन पुगे । पानी परेर भेल बगिरहेको थियो । सडकमा भएको बडेमानको खाल्डोमा पानी भरियो । त्यसमा परेर उनी सवार मोटरसाइकलसहित बजारिए ।

यी त केही उदाहरण मात्रै हुन्, पोखरामा सडकका खाल्टाहरु एम्बुस थापे जस्तो बन्दा धेरैले सास्ती भोगेका छन् । चुनावताका स्मार्ट सिटीको नारा खुब घन्कियो । त्यही स्मार्ट सिटीमा अहिले ज्यानै हत्केलामा राखेर हिँड्नुपर्ने अवस्था छ ।

गाडीमा पोखरा प्रवेश गर्नेहरु अमरसिंह चोकमा आएपछि खाल्डाखुल्डी सडकको मारमा पर्छन् । जहाजबाट पोखरा ओर्लने व्यक्तिले एयरपोर्टबाट बाहिर निस्केपछि खाल्डा भएकै सडक भएर हिँड्नुपर्छ ।

व्यवसायी राजेन्द्र आचार्य भन्छन्, ‘महानगरपालिकाभित्रका अधिकांश सडक जीर्ण बन्दै गइरहेका छन् । जताततै खल्डैखाल्डा छन् । रातको समयमा त झन् सवारी साधन चलाउनै ज्यानको बाजी थाप्नुपर्छ ।’

सडकको दुरावस्थाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर गरेको उनको अनुभव छ । ‘पोखरा पर्यटकीय गन्तव्य त हुँदै हो । गण्डकी प्रदेशको राजधानी पनि हो । गण्डकीले अहिले आन्तरिक भ्रमण वर्ष मनाइरहेको छ । अनि सडकको अवस्था यस्तो छ,’ आचार्यले भने, ‘सडककै कारण हाम्रा पाहुनाको पोखराप्रतिको धारणा नकारात्मक बन्दै गइरहेको छ ।’

सडकमा खाल्डामात्रै होइन, कालोपत्रे गरिएको सडकको बीचमा बिजुलीको पोल र ट्रान्समिटर लाइनसमेत छ ।

दुर्घटना बढेपछि खाल्डाकै छेउमा बोर्ड लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए । ‘पोखरा महानगर र सडक डिभिजन कार्यालयलाई पनि भनेका छौं,’ मिश्रले भने, ‘पुर्ने तयारी भइरहेको छ ।’

पोखराका राजमार्ग सडक डिभिजन र अन्य सडक पोखरा महानगरले हेर्छ । दुबैतर्फका सडकमा ज्यानमारा खाल्डा छन् । गणेशटोल तेस्रापट्टी नयाँ बजार, हरिचोक, लेकसाइड, हलनचोक, बुद्धचोक, ठाउँठाउँमा खाल्डा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment