Comments Add Comment

गोरखामा प्रहरीको ‘पुलिस अफ द मन्थ’ कार्यक्रम सुरु

२७ भदौ, गोरखा । जिल्ला प्रहरी कार्यालयको गेट नपुग्दै दाँया भागमा नागरिक सहायता कक्ष छ । भित्तामा सबैले देख्ने गरी ‘पुलिस अफ द मन्थ’ लेखिएको बोर्ड टाँगिएको छ । महिनामा उत्कृष्ट काम गर्ने मध्यबाट सर्वाेकृष्ट हुने प्रहरीको फोटो बोर्डमा हुन्छ । भदौ महिनाको ‘पुलिस अफ द मन्थ’ प्रहरी निरीक्षक रामचन्द्र घिमिरे बनेका छन् । असोज महिनामा बोर्डमा उनको फोटो हुनेछ । ‘समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै सूचना संकलन तथा अपराध अनुसन्धान कार्यमा उत्कृष्ट योगदान दिइ उल्लेखनिय नजिता दिन सफल भएको,’ बोर्डमा लेखिएको छ ।

जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षबाट सर्वाेत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान गर्ने कार्यक्रम ल्याएको हो । ‘उत्कृष्ट काम गर्ने मध्येबाट प्रत्येक महिना एक जना सर्वाेत्कृष्ट छान्छौ,’ जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले भने, ‘उहाँलाई नगद पुरस्कारसहित सम्मान गर्छाै ।’ सम्मानित हुनेको फोटो सबैले देख्ने गरी गेट बाहिर टाँगिने उनले बताए । ‘गेट वाहिर राख्दा सर्वसाधारण नागरिकले पनि देख्ने भए, फेरि राम्रो काम गरेको भनेर फोटोसहित राख्दा हौसला पनि बढ्छ,’ उनले भने ।

यो कार्यक्रमले राम्रो काम गर्नका लागि प्रहरीबीच सकारात्मक प्रतिष्पर्धाको भावना उत्पन्न हुने उनको भनाइ छ । ‘प्रहरी संगठनमा उत्प्रेरणा जरुरी छ, त्यसका लागि सम्मान र पुरस्कारको व्यवस्था गरेका हौं । यसले राम्रो काम गर्न थप उत्प्रेरणा जगाउँछ,’ एसपी अधिकारीले भने । नागरिकले पाउने सेवा थप प्रभावकारी बनाउन पनि सहयोग पुग्ने उनले बताए ।

सम्मानित हुने प्रहरी छनोटका लागि प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ । ‘जिल्लामा रहेका प्रत्येक युनिटका उत्कृष्ट काम गर्ने प्रहरीहरुको नाम युनिट कमाण्डरले सिफारिस गरेर कार्यालयमा पठाउनुहुन्छ, अनि छनोट समितिले कामको मुल्याङ्कनको आधारमा उत्कृष्ट मध्य एक जनालाई सर्वाेकृष्ट छान्नुहुन्छ,’ एसपी अधिकारीले भने ।

भदौ महिनामा ‘पुलिस अफ द मन्थ’ घोषणा भएका प्रहरी निरीक्षक घिमिरेलाई शुक्रवार एक कार्यक्रमकाबीच नगद पुरस्कारसहित सम्मान गरिएको छ । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ प्रहरी निरीक्षक भिम बहादुर खत्री भएका थिए ।

हराएको मोबाइल फिर्ता

कार्यक्रमकै अवसरमा प्रहरीले हराएको मोबाइल सम्बन्धित मोवाइल धनीलाइ फिर्ता गरेको छ । बिभिन्न समयमा हराएको पाँच वटा मोवाइल सम्बन्धित धनीलाई बुझाइएको एसपी अधिकारीले बताए । हराएको वा चोरी भएको मोवाइल खोज्नका लागि प्रहरी कार्यालयले छुट्टै मोवाइल खोज तलास शाखा स्थापना गरेको छ ।

त्यस्तै जिल्ला अदालत गोरखाबाट सजाय सुनाइएका दश जना फरार अभियुक्तलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अदालतमा पठाइएको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment