Comments Add Comment

नेपालले शनिबार जोर्डनसँग खेल्दै

२७ भदौ, काठमाडौं । नेपालले एएफसी अण्डर–१६ च्याम्पियनसिपको समूह ‘ए’ को छनोटमा शनिबार(भोली) बलियो प्रतिद्वन्दी जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

गत भदौं १४ गते भारतसँग पराजित भएपछि साफ अण्डर–१५ च्याम्पियनसिपमा दोश्रो स्थानमा सिमित भएको नेपाली टोलीले दुई साताको अन्तरमा दोश्रो प्रतियोगिता खेल्न लागेको हो । अण्डर–१६ को क्वालिफायरको तयारी गरिरहदा एमआरआईबाट गरिएको हड्डी परिक्षणमा लम्सालसँगै असिम राई र इश्वर गुरुङ असफल भएपछि नेपाललाई झड्का लागेको थियो ।

एमआरआईबाट तीनै खेलाडी बढी उमेरको भएको रिपोर्ट आएको थियो । लम्साल टिमबाट बारिएिपछि अबजान ताम्लीलाई नेपालको कप्तान नियुक्त गरिएको थियो ।

‘सबै टिमहरु राम्रा छन् र छनोट हुनका लागि हामीले आफ्नो शतप्रतिशत दिनुपर्नेछ,’ ताम्लीले भने, ‘त्यसको लागि हामी तयार छौं, हामी राम्रो फुटबल खेल्न चाहन्छौं ।’

नेपालको लागि २०२० मा हुने एएफसि अण्डर–१६ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट हुन भने फलामको चिउरा चपाउनु सरह हुनेछ । समूह ए मै दुई अरु बलिया राष्ट्र कुवेत र ताजकिस्तान रहेका छन् भने अर्को टोली श्रीलंका रहेको छ ।

९ समुह बिजेता र दोस्रो स्थानमा छनोट खेल सकाउने उत्कृष्ट चार उपविजेता टोलीले मात्र अर्को वर्ष हुने च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भोलि हुने पहिलो खेलमा धेरै चुनौती सामना गर्नुपर्ने नेपालका प्रशिक्षक सुनिल श्रेष्ठ बताउँछन् ।

‘जोर्डन एक बलियो प्रतिद्वन्दी हो र उनीहरुकै घरेलु मैदानमा खेल्दा हामीलाई दवाब अवश्य हुनेछ,’ उनले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको उनीहरुलाई बराबरीमा रोक्ने हो, यसका लागि हामीले आफ्नो रक्षापंक्ति बलियो बनाउनुपर्नेछ ।’

यता, जोर्डनका प्रशिक्षक अदनान अवाद नेपाल विरुद्ध होसियारीपूर्वक खेल्ने बताए । ‘यो उमेर समुहको फुटबल हो र यहाँ कुनै टिम सानो वा ठूलो हुदैन,’  उनले भने, ‘श्रीलंका, नेपाल, ताजकिस्तान, कुवेत र हामी पनि उमेर समुहमा एकै किसिमको टोली हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment