Comments Add Comment

राखेपको अनुमति नलिए क्रिकेट संघको चुनाव गर्न दिन्नँ : सदस्य सचिव

२७ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन असोज तीन र चार गतेका लागि तोकियो । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफूसँग स्वीकृति नलिएको भन्दै चुनाव गर्न रोक्न भनेपछि अन्यौल सिजना भएको छ ।

स्वतन्त्र टोली, क्रिकेट संघको विधानअनुसार चुनाव हुन लागेकाले रोक्न नहुने मत राखिरहेको छ ।

राखेप भने त्यो मान्न तयार छैन । यसबारे छलफल गर्न आगामी आइतबार अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधि समेत नेपाल आउँदैछन् । यसै सन्दर्भमा राखेप सदस्यसचिव रमेश शिलवालसँग गरिएको कुराकानी :

क्रिकेट संघको विवाद समाधान हुनलाग्यो भन्ने लागेका बेला फेरि अन्यौल देखिएको हो ?

म स्थायी समाधान खोज्दैछु, हिजो अस्ति त्यो भन्दा पनि पहिले …लगातार चार दिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग कुरा भएको छ । मैले आजै मात्र उहाँहरुलाई निमन्त्रणा पठाएको छु र, उहाँहरुले पनि स्वीकार गर्नु भएको छ । सोमबार उहाँहरुसँग बसेर दशैं अगाडि नै चुनाव गर्ने गरी हामीले सामाधान खोज्दैछौं ।

भनेपछि स्वतन्त्र कमिटीले असोज तीन र चार गते बोलाएको चुनाव साधारणसभा चाहिँ हुँदैन ?

स्वतन्त्र कमिटीलाई चुनाव गराउने अधिकार नै छैन । अधिकार नभएको कुरामा उहाँहरुले बलजस्ती गर्नु हुँदैन । किनभने स्वतन्त्र टोलीले चुनावको मिति तय गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग अनुमति लिनुपर्छ । उहाँहरुले अनुमति लिएकै छैन ।

हामीले टीभीको स्क्रोलिङ र पत्रपत्रिकाबाट थाहा पाउने स्थितिको सिर्जना भयो भने फेरि विवाद उत्पन्न हुन्छ । त्यसकारण हामी स्थायी रुपमा विवाद सिर्जना नहुने गरी समाधान खोजिरहेका छौं । यो कुरा स्वतन्त्र टोलीलाई पनि भनिसकेको छु । उहाँहरुले पनि हाम्रो गल्ती भयो भनेर स्वीकार गर्नु भएको छ ।

त्यसअर्थमा अब फेरि विवाद ननिम्त्याउने गरी आईसीसीको प्रतिनिधिसँग पनि बसेर छलफल गर्छौं । र, आईसीसी र हामीबीच कुनै मतमतान्तर पनि छैन । स्वतन्त्र टोलीले अलिकति बढी जान्ने नभइदिएको भए यो समस्या हुने थिएन ।

तर स्वतन्त्र टोलीले क्रिकेट संघको विधानलाई टेकेर निर्वाचनको मिति तय गरेको भन्ने दाबी छ नि ?

मैले पनि विधानको लाइन बाइ लाइन हेरेको छु, त्यस्तो छैन । विधानमा सात दिनभित्र चुनाव गर्न सक्नेछ भनेको छ, तर स्वतन्त्र टोलीले चुनाव गर्न सक्नेछ भनेको होइन ।

चुनाव गराउन राखेपको नियम, नियमावली त टेक्नै पर्‍यो नि । उहाँहरुले स्वीकृत त लिनुपर्‍यो नि । जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न भएको जानकारी गराउनुपर्‍यो, मतदाता नामवली पठाउनु पर्‍यो । हामी मिति त दिइहाल्थ्यौं नि ।

जिल्ला र प्रदेशमा चुनाव पनि स्वतन्त्र समितिले गराएको थियो । त्यतिबेला चाहिँ तपाईहरुले के पनि बोल्नु भएन ?

कुरा यस्तो होइन । आवश्यकता देखिएको जिल्लामा हाम्रो निरीक्षण भएको छ, आवश्यकता नदेखिएको स्थानमा भएको छैन ।

त्यसका विषयमा पनि कुरा उठेको थियो । स्वतन्त्र समितिले (निर्वाचित क्यानले गराएको) केही चुनावलाई मान्यता दियो, केहीलाई दिएन । भलै उहाँहरुले गरेको निर्णयलाई राखेपले स्वीकार गर्‍यो । यसलाई सदासयता भन्नुपर्छ । कमजोरीका रुपमा लिनु हुन्न । तर अहिलेको कुरा चाहिँ के हो भने उहाँहरुले राखेपसँग अनुमति लिनु चाहनु भएन या अनुमति लिनुपर्छ भन्ने थाहा भएन ।

मैले स्वतन्त्र टोलीको वकिललाई डाकेर कुरा गरेँ । राखेपको ऐन, नियमावली र उहाँहरुले जुन विधानमा टेकेका छौं भन्नुभयो, त्यो पनि देखाएको छु । सबै देखाएपछि उहाँहरु विश्वस्त हुनुभएको छ । हामीले यो कुरा आईसीसीमा पठाउँछौं, आईसीसीले जे कुरागर्छ हामी त्यहि अनुसारले गर्छौं भन्नुभएको छ ।

मैले आईसीसीको पदाधिकारीहरुसँग कुराकानी गरेको छु । सोमबार हुने छलफलले यसलाई कसरी अगाडि बढाउने भन्ने तय हुन्छ । चुनाव मात्रै होइन, चुनावपछिका अन्य गतिविधिका विषयमा पनि आईसीसीसँग बसेर निष्कर्ष निकाल्छौं ।

भनेपछि तपाईको पहिलो आपत्ति भनेको, राखेपसँग अनुमति लिएन भन्ने हो ?

अनुमति त लिनै पर्‍यो नि । अनुमति लिनुपर्ने निकायसँग अनुमति नलिई गरेको चुनावले मान्यता पाउँदैन । हामीले मान्यता दियौं भनेपनि भोलि विवाद हुनसक्छ । जित्ने खुशी हुन्छ, हार्ने मुद्दामा जानसक्छ । राखेपसँग अनुमति नलिई गरेको चुनाव बदर गरिपाऊँ भनेर जो कोही मुद्दामामिलामा जानसक्छ ।

त्यसैले अनुमति लिन तयार हुनुभएन भने म चुनाव गर्नै दिन्नँ । एउटा व्यक्तिले सर्वोच्च संस्थालाई हल्लाउन पाइँदैन, सक्दैन । त्यो स्वतन्त्रको नाममा होस् या अरुको । राखेपलाई बाइपास गरेर जाने कुनै पनि कार्यक्रम अनुमोदन गर्दैनौं ।

अनि निर्वाचन चाहिँ स्वतन्त्र टोलीले गराउने हो कि राखेपले बनाउने समितिले ?

राखेपले नै चुनाव गराउँछ भनेको छुइन । तर, हामीले के कुरा बुझ्नुपर्छ भने राखेप नेपाली खेलकुदको सर्वोच्च अंग हो । क्यानको विधानमा पनि भनिएको छ कि राखेपले नीति निर्देशनदेखि स्वीकृतसम्म दिनुपर्छ । अरुमा सबैमा राखेपको निर्देशन चाहिने अनि निर्वाचन चाहिँ स्वतन्त्र टोलीले गर्ने भन्ने हुन्छ र ?

त्यसो भए त सल्लाहकार समितिले बनाएको क्रिकेट संघको विधान अनुमोदन गर्ने बेला राखेपले हेरन छ ?

त्यस्तो छैन । मैले भने नि, म समस्या समाधान गर्न खोजिरहेको छु, निकै मेहनत गरेको छु । मेरो ध्यान भनेको क्यान निलम्बन कसरी फुकुवा गर्ने भन्नेमा छ ।

कसरी खेलाडीहरुको बृद्धिविकास गर्ने, बढीभन्दा बढी प्रतियोगिता गराउने, भौतिक संरचना निर्माण कसरी गर्ने भन्नेमा क्यानमा लडाई भएको तपाईले कहिले सुन्नु भएको छ ? छैन । विवाद चाहिँ म कसरी त्यहाँ पुग्ने ? टिक्ने कि नटिक्ने भन्नेमा छ ।

म यस्ता गलत पक्षहरु सदाका लागि अन्त्य गर्न चाहन्छु ।

राखेपबाट अनुमति लिनुपर्ने र आफैंले स्वतन्त्र समिति बनाउने तपाईहरुको बटमलाइन हो कि यसमा केही समझदारी गर्ने ठाउँ पनि छ ?

अब यो वा त्यो भन्ने कुरा रहेन । आईसीसीको प्रतिनिधिलाई पनि डाकेको छु, राखेपबाट म बस्छु । दुई पक्ष बसेर फाइनल हुन्छ र निर्वाचनको बाटो समाउँछ ।

झण्डै चार वर्ष नेपाली क्रिकेटले निलम्बनको पीडा भोग्यो । अब निकास पाउला भन्ने बेलामा आएर तपाईहरुको जुँगाको लडाईले थप निलम्बन भोग्नु पर्ने त होइन ?

तपाईहरुलाई जति चिन्ता छ त्यो भन्दा बढी मलाई चिन्ता छ । राखेपको सदस्य सचिव भएदेखि नै यो निलम्बन कसरी फुकाउने भन्नेमा म चिन्तित छु नि त ।

आईसीसीको प्रतिनिधिलाई नेपाल बोलाएर मिति निश्चित गरौं । हाम्रो कानूनलाई पनि सम्मान होस्, हामी आईसीसीको नियमलाई पनि सम्मान गर्छौ । एकआपसमा समझदारीमा अघि बढ्यौ भने त भोलिका दिनमा राम्रो गर्न सकिन्छ । एउटाले अर्कोलाई बाइपास गर्न खोज्यो भने कसरी समस्या समाधान हुन्छ र !

अक्टोबर १३ मा आईसीसीको बोर्ड बैठक छ, त्यसअघि नै समस्या समाधान होला त ?

यो सबै कुरामा म सचेत छु । आज तपाईलाई भनिदिऊँ, केही यदि खराब तत्व नलागेको भए (आईसीसीको) यो भन्दा अगाडिकै बैठक हुनुभन्दा अघि नै टुंग्याउन खोजेको थिएँ । मैले हल्ला नगरी काम गर्न खोजे, तर अरुले हल्ला गरिदिए ।

आज पनि म चाहन्छु कि स्वच्छ र पारदर्शी निर्वाचन होस् । किनकी स्वच्छ र पारदर्शी निर्वाचन नभएकै कारण क्यानमा विवाद भएको हो । राखेपको प्रतिनिधि नराखेको, तत्कालीन अध्यक्षले साधारणसभा स्थगित गरेकाले न विवादले भएको हो । सात दिनभित्र स्टे अर्डर दिएको न्यायलयले दुई वर्ष पुग्न लाग्दा पनि अन्तिम निर्णय नदिएको कारणले गर्दा हो । यो चिजहरुसमयमै भएको भए नेपाली क्रिकेटले पहिल्यै निकास पाउँथ्यो । यो हालतमा पुग्ने नै थिएन ।

त्यसैले हामी सबै जिम्मेवार हुनुपर्छ र उचित निकास छिटोभन्दा छिटो दिनु पर्छ ।

तर, क्रिकेट संघमा यति कडिकडाउ गर्ने तपाईले नेपाल ओलम्किप कमिटीले चुनावलाई लागि राखेपसँग स्वीकृति नलिँदा पनि त केही गर्नु भएको छैन त ?

यो विषय मलाई हिजो मात्रै जानकारी भयो । मैले उहाँहरुलाई मौखिक रुपमा सचेत गराइसकेको छु, स्पष्टीकरण पनि सोध्छु ।

ओलम्पिक कमिटीलाई सचेत मात्र गराउने, क्रिकेट संघको चाहिँ चुनाव नै रोक्ने, दुई संस्थाप्रति फरक व्यवहार भएन ?

एउटा संघ हो अर्को महासंघ हो र, विवादरहित होस भनेर नै मैले यस्तो कदम चालेको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment