Comments Add Comment

बार्सिलोनाको जितमा १६ वर्षे फातीको गोल

२९ भदौ, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ ।

शनिबार राति नाउ क्याम्पमा भएको खेलमा घरेलु टोली बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गर्दा अंशु फाती, डि जोङ र जिरार्ड पिकेले समान १–१ गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाले गोल गर्दै अग्रता बनायो । बार्सिलोनाका लागि १६ वर्षीय फातीले गोल गरे । खेलको सातौ मिनेटमा डि जोङले अर्को गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रता दिलाए । तर खेलको २७औं मिनेटमा गामिरोले गोल गर्दै भ्यालेन्सियालाई पहिलो हाफसम्म २–१ गोलको स्थितिमा पुर्‍याए ।

दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गर्दा एक गोल खान पुग्यो । खेलको ५१औं मिनेटमा पिकेले गोल गरे भने खेलको ६१औं र ८२औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ५–१ गोलको फराकिलो अन्तरमा पुर्‍याएका थिए ।

खेलको अतिरिक्त समयमा गोमेजले गोल गर्दै खेल ५–२ को स्थितिमा ल्याए पनि भ्यालेन्सियाले बार्सिलोनालाई रोक्न भने सकेन ।

त्यस्तै, अन्य खेलमा एथ्लेटिको मड्रिडले रियल सोसाइडेडसँग २–० गोलको हार ब्यहोर्दा भिल्लारियलले भने लेगानेसलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment