Comments Add Comment

मलेसियाबाट एकैपटक ५० हजारलाई रोजगारीको अवसर आउन सक्ने !

२९ भदौ, काठमाडौं । मलेसिया र नेपालबीच भएको श्रम समझदारी कार्यान्वयनमा लैजाने सहमति भएसँगै मलेसियाको बन्द रोजगारी खुलेको छ । म्यानपावर व्यवसायीको अनुमानलाई आधार मान्ने हो भने अब तत्काल एकैपटक मलेसियाबाट ४० देखि ५० हजार कामदारको माग नेपाल आउन सक्छ ।

दशैंअघिदेखि नै कामदारको माग आउन थाल्ने भएकाले अब दशैंपछि मलेसिया जाने नेपालीको लर्को लाग्ने अनुमान व्यवसायीको छ । करिब १५ महिना बन्द भएको मलेसियाको रोजगारी खुल्नासाथै धेरै युवा अब म्यानपारको ढोका ढक्ढकाउन आइरहेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ अब मलेसियाबाट सुरुआती महिनामा कामदार मागको चाप बढ्ने बताउँछन् । बन्द नभएका बेला औसत १० हजार कामदार मलेसिया जान्थे । अहिले पनि मलेसियन कम्पनीमा थुप्रै नेपाली कामदारको माग भइरहेको छ ।

‘नेपाली कामदार जान रोकिएपछि मलेसियाका कम्पनीले अन्य देशबाट पनि कामदार ल्याएका छन्, तर, कतिपय कम्पनीले धेरै देशका कामदार मिसाएर राख्छन् । अब नेपाली कामदार लैजान उनीहरुको चासो हुन्छ,’ गुरुङले भने, ‘श्रमिक नभएर अप्ठेरोमा परेका कम्पनीले कामदार लगिहाल्न चासो देखाउँछन् ।’

विशेषगरी सेक्युरेटी गार्डको माग अब ह्वात्तै बढ्ने अनुमान छ । मलेसियाले सेक्युरिटी गार्डमा नेपाली कामदार मात्रै लिने गरेको छ । १५ महिना श्रम स्वीकृति बन्द हुँदा धेरै कम्पनीलाई सेक्युरिटी गार्ड व्यवस्थापनमा निकै समस्या परेको थियो ।

कतिपय कम्पनी र रोजगारदाताले इमान्दारिताका कारण नेपाली कामदारलाई बढी प्राथमिकता दिन्छन् । अर्धदक्ष र अदक्ष तवरका कामदार आपूर्तिको मुख्य स्रोत बनेको नेपालबाट मलेसियामा कामदार लैजान नपाएर समस्या भोगिरहेका कम्पनीले अब तुरुन्तै माग सुरु गर्ने अनुमान व्यवसायीको छ ।

हाल मलेसियामा अवैध कामदारमाथि धरकपड पनि चलिरहेको छ । आममाफी प्रक्रिया पूरा गरेर फर्किने कामदारको संख्या पनि ठूलो छ । यसका कारण त्यहाँ विभिन्न कम्पनीमा रिक्त भएका कोटमा नेपाली कामदारले मौका पाउने अवस्था रहेको संघ बताउँछन् ।

‘करिब ४ लाख अवैध कामदारलाई घर फिर्ताको प्रक्रिया चलिरहेको छ । ती रिक्त स्थानमा अब नेपाली कामदारले काम पाउन सक्छन्,’ उनले भने, ‘अब केही समय मलेसियाबाट आउने मागले रोजगारीका लागि विदेशिन आतुर युवाको ठूलो समूहलाई राहत दिन्छ ।’

अब केही दिनमा मलेसियास्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण सुरु हुनेछ । त्यसपछि कामदाको नयाँ माग आउने छ । यसअघि म्यानपावरहरुले मलेसियाका लागि ल्याएका पूर्वश्रम स्वीकृतिमा पनि अब कलिङ भिसा आएपछि अन्तिम श्रम स्वीकृति दिन थालिने वैदेशिक रोजगार विभागले बताएको छ ।

म्याानपावरलाई सेवा शुल्क पुगेन

मलेसियाको रोजगारी खुला भए पनि म्यानपावरहरुले कामदार पठाएबापत पाउने सेवा शुल्क भने चित्त बझाएका छैनन् । संघका अध्यक्ष गुरुङ एक जना कामदार पठाउँदा म्यानपावरले औसत २७ हजार ३८० रुपैयाँ खर्च गर्नुपर्ने बताउँछन् ।

तर, हाल मलेसियासँग भएको श्रम समझदारीले कामदारको एक महिनाको आधा तलब बराबरको रकम म्यानपावरलाई रोजगारदाताले नै दिनुपर्ने व्यवस्था गरेको छ । त्यसअनुसार औसत साढे १५ हजार रुपैयाँ म्यानपावरले रोजगारदाताबाट पाउनेछन् ।

अध्यक्ष गुरुङ यतिका भरमा कामदार मलेसिया पठाउन सकिने अवस्था नरहेको बताउँछन् । डिमान्ड ल्याउँदाको खर्च र यहाँ कार्यालय सञ्चालन खर्च लगायतलाई सेवा शुल्बाट पूर्ति गर्न नसकिने संघको दावी छ ।

‘पहिला कामदार पठाउन थालौं, तर यति नै सेवा शुल्क लिएर हामीले म्यानपावर चलाउन सक्ने र कामदार पठाइरहन सम्क्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले भविष्यमा यसबारे विचार गर्ला ।’

उनले मलेसियासँग गरिएको श्रम समझदारी अग्रगामी र दूरदर्शी नभएको आरोप पनि लगाए । कोटाको सुनिश्चितता नगरी समझदारी गरेकाले मलेसियालाई नेपालबाट कामदार लिनैपर्छ भन्ने बाध्यता नभएको संघको भनाइ छ ।

‘हामीले पहिल्यैदेखि कोटाको सुनिश्चितता गरेर मात्रै श्रम समझदारी हुनुपर्छ भनेका हौं । तर, हामीसँग केही पनि छलफल नगरी समझदारी भएको छ,’ उनले भने, ‘मलेसियाजस्तो प्रमुख श्रम गन्तव्य मुलुकसँग गरिएको समझदारीमा नेपाली कामदारको मागलाई टिकाइराख्ने रणनीति सरकारले लिन सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment