Comments Add Comment

पहिलो दक्षिण एसियाली नेटबल च्याम्यिनसीप नेपालमा हुँदै

२९ भदौ, काठमाडौं । नेपाल नेटबल संघको आयोजनामा पहिलोपटक दक्षिण एसियाली यू–१६ नेटवल च्याम्पियनसिप हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गतेसम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त प्रतियोगिता हुन लागेको हो ।

संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका विषयमा जानकारी दिएको छ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र मल्दिभ्सका खेलाडीले भाग लिने संघका महासचिव दिपक लामाले बताए ।

लिगकम नकआउटमा खेलाइने यो खेलमा १० मिनेटको दरले ४० मिनेटको खेल हुनेछ । प्रत्येक टिममा १७ जना हुनेछन् भने १५ जना अम्पायर र अफिसियल हुने लामाले बताए । अन्तर्राष्ट्रिय अम्पायरमा सिंगापुर, पाकिस्तान, श्रीलंका, भारतवाट दुई–दुई जनाको दरले कुल आठ र बाँकी नेपालवाट पनि दुई जना रहनेछन् ।

उक्त प्रतियोगिताको लागि भदौ २१ गते भएको छनोट प्रक्रियाद्वारा नेपालबाट २२ जना खेलाडी छानिएका छन् । २२ जनावाट पनि १२ जना छनोट गरी असोज दोस्रो सातावाट बन्दसत्रमा राखिने जनाइएको छ ।

यसअघि नेपालमा स्कुलस्तरीय यू–१६, यू २१ र सिनियर गरी विभिन्न स्तरमा नेटवल प्रतियोगिता हुँदै आएकोे छ । काठमाडौको कुल ३२ वटा विद्यालयमा नेटवल खेलको अभ्यास हुने गरेको आयोजकले बताएको छ ।

कसरी खेलिन्छ नेटबल ?

नेटबल खेल क्यानडावाट सुरु भएको हो । यो प्राय केटीहरुले खेल्ने गर्छन् । बास्केटबलसँग मिल्दोजुल्दो यो खेलमा बललाई हातले एक–अर्कामा पास गर्दै अग्लो बास्केटमा खसाइन्छ । तर, बास्केटबलजस्तो बललाई भूईंमा बाउन्स गराउन पाइँदैन ।

एउटा टिममा १२ जना खेलाडी हुन्छन् । १२ जना मध्ये ७ जना पोजिसन अनुसार खेल्छन्, जसमा सेन्टर, जिके, गोलस्टार, गोल किपर, डिफेन्स, गोल सुटर गोल एट्याक्करहरु रहेका छन् । यस खेलमा सेन्टरले सबैतिर खेल्न पाईदैन । गोल सुटर र गोल एट्याकरले मात्र गोल सुट गर्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment