Comments Add Comment

चितवनको सामुदायिक वनमा ‘जीप लाइन’ सफारी

३० भदौ, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको आँपटारीमा जलदेवी सामुदायिक वनले ‘जीप लाइन’ सफारी सञ्चालन गर्ने अन्तिम तयारी गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जीप लाइन सफारी सञ्चालनको तयारी गरिएको सामुदायिक वनका अध्यक्ष केशव थापा ‘निरु’ले जानकारी दिए ।

असोज १ गते पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जीप लाइन सफारीको उदघाटन गर्ने कार्यक्रम छ । सफारीका लागि आवश्यक पूर्वाधारको काम लगभग सकिएको अध्यक्ष थापाले बताए । बालबालिकाहरुका लागि उद्यान, कपडा फेर्ने कोठा पनि तयार भैसकेका छन् । गत साउन महिनाबाट यसको निर्माण कार्य सुरु भएको थियो ।

वनले वाइल्ड वनडरस प्रालिसँगको जीप लाइन सफारी सञ्चालनमा सहकार्य गरेको छ । सामुदायिक वनको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत यसमा लगानी छ । हालसम्म ७५ लाख रकम खर्च भैसकेको सामुदायिक वनका अध्यक्ष थापाले बताए ।

कसरी गर्ने जीप लाइन सफारी ?

कम्मरमा विशेष प्रकारको डोरीसहितको आर्नेसमा बसी पर्यटकले चराको पखेटाजस्तै हात फैलाएर ‘सुपरम्यान फ्लाइट’ गर्छन् । यसरी खेल्दा करिब एक मिनेट हावामा उडेको महसुस हुन्छ ।

फलामको लठ्ठा (डोरी)मा घिर्नी जोडिएको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फित्तामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनका लागि यो खेल निकै रोमाञ्चक हुने सञ्चालक राजकुमार श्रेष्ठको भनाइ छ ।

डोरीसहितको आर्नेस ठूलो व्यक्तिका लागि २० वटा र बालबालिकाका लागि १० वटा फ्रान्सबाट झिकाइएको छ । यहाँ प्रयोग गरिएका आर्नेस सुरक्षाको दृष्टिले मजबुत रहेको अध्यक्ष थापाले दावी गरे ।

एक ठाउँमा बालबालिकाहरुलाई सफारी गराउने संरचना तयार गरिएको छ भने अर्कोतिर युवाहरुका लागि । बालबालिकाहरुले करिब ५० मिटरको डोरीमा र युवाहरुले करिब १ हजार मिटर लामो फलामे डोरीमा सफारी गर्ने छन् ।

युवाहरुका लागि तयार गरिएको जीप लाइन सफारीमा एकपटकमा तीन जनाले घिर्नीको सहयोगमा झुण्डिएर रोमाञ्चकारी यात्रा गर्न सक्ने अध्यक्ष थापाले जानकारी दिए । युवाका लागि ५ सय र बालबालिकाका लागि एक सय रुपैयाँ शुल्क तोकिएको छ । दैनिक तीन सयभन्दा बढीले सेवा लिन सक्ने सञ्चालक संस्थाको भनाइ छ ।

नाफाको १० प्रतिशत सामुदायिक वनलाई

सामुदायिक वनमा बच्चाहरुका लागि पार्क, २८ फिट अग्लो शिवलिङ्गसहितको धार्मिक पार्क बनाउनुका साथै १८ कठ्ठा जग्गामा पोखरी बनाएर माछापालन गरिएको छ । तयार गरिएका संरचना पर्यटन प्रवर्द्धनका लागि एक अर्काका परिपुरक भएको अध्यक्ष थापाले बताए ।

यसबाट आउने नाफाको १० प्रतिशत रकम सामुदायिक वनले नै प्रयोग गर्ने अध्यक्ष थापाको भनाइ छ । जीप लाइन सञ्चालन गरेपछि नेपालकै तेस्रो पर्यटकीय गन्तव्य भनिने चितवनमा पर्यटकहरूको बसाइँ लम्बिने पर्यटन व्यवसायीको विश्वास छ ।

सामुदायिक वनमा यस प्रकारको जीप लाइन सफारी सञ्चालन पहिलोपटक भएको दावी सञ्चालक संस्थाको छ । ‘नारायणगढ मुग्लिनसडक खण्डमा नै पर्ने भएकाले आन्तरिक पर्यटकहरुको फोकस अझै बढी हुने विश्वास लिएका छौं,’ जलदेवी सामुदायिक बनका अध्यक्ष थापाले भने, ‘चितवन आउने पर्यटकका लागि यो थप प्याकेज हो, जो कोही पनि यहाँ आएर रमाउने छन् । अनौठो प्रकृतिको खेलमा सहभागी बन्ने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment