Comments Add Comment

बीमा क्षेत्रको मर्जर टर्‍यो, हकप्रदबाटै चुक्ता पुँजी पुर्‍याउने

समितिका अध्यक्ष भन्छन्– वाध्यकारी मर्जर हाम्रो नीति होइन

३० भदौ, काठमाडौं । बैंकिङ क्षेत्रमा लामो समयदेखि बहसको विषय बनेको मर्जर नीति बीमा क्षेत्रमा पनि अघिल्लो वर्षदेखि शुरु भयो । नेपाल राष्ट्र बैंकले जस्तै अघिल्लो वर्ष बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले पनि पुँजी वृद्धिको अस्त्र प्रयोग गर्‍यो ।

बीमा समितिले गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब रुपैयाँ र निर्जिवन बीमा कम्पनीहरुका लागि १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । यसअघि क्रमशः ५० करोड र २५ करोड चुक्ता पुँजी हुनुपर्ने प्रावधान थियो ।

बीमा समितिले पुँजी वृद्धिका लागि निर्देशन दिएसँगै शुरु भएको बीमा मर्जर अन्तत: बैंकिङ क्षेत्रकै बाटोमा जाने देखिएको छ । बैंकिङ क्षेत्रमा ल्याइएको पुँजी वृद्धिको योजनाले ठूला बैंकलाई असर गरेन । सबै कमर्सीयल बैंकहरुले बोनश तथा हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गरेका थिए ।

यता बीमा कम्पनीहरुले पनि हकप्रद र बोनश सेयर जारी गरेर पुँजी पुर्‍याउनेतर्फ लागेका छन् । तर, ३९ वटा निर्जिवन र जीवन बीमा कम्पनीहरुमध्ये अहिलेसम्म ४ वटा कम्पनीहरुले मात्रै पुँजी पुर्याएका छन् ।

पुँजी वृद्धिका विषयमा बीमा समितिले केहि दिन अघिमात्रै बीमा कम्पनीका सीईओहरुलाई बोलाएर छलफल गरेको थियो । छलफलमा सीईओहरुले हकप्रद जारी गरेर चालु आर्थिक वर्षभित्रै पुँजी पुर्याइसक्ने प्रतिवद्धता जनायो र त्यसमा बीमा समितिका अधिकारीहरुले समेत सहमती जनाएका छन् ।

बैठकमा सहभागी एक सीईओले बीमा समितिको सहमतिपछि सबै बीमा कम्पनीहरुलाई सहज भएको प्रतिक्रिया दिए ।

‘बीमा समितिले हकप्रद सेयर जारी गर्न अनुमति नदिएको भए धेरै कम्पनीहरुले मर्जरमा जानुपर्ने बाध्यता हुन्थ्यो,’ उनले भने, ‘अब यो टरेको छ ।’

फोर्स मर्ज गर्ने रणनीति थिएन : अध्यक्ष चापागाईं

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले पनि बीमा कम्पनीहरुका सीईओहरुसँगको छलफलमा हकप्रद सेयर जारी गरेर पुँजी पुर्‍याउने विषयमा छलफल भएको बताए । बीमा कम्पनीहरुलाई मजबुत बनाउनका लागि पुँजी वृद्धिको योजना ल्याइएको उनको भनाइ छ ।

‘छलफल भएकै हो, उहाँहरुले चाडै पुँजी पुर्‍याउछौं भन्ने प्रतिवद्धता जनाउनु भएको छ’, अध्यक्ष चापागाईंले भने ।

बीमामा फोर्स मर्जर गर्ने नीति बीमा समितिको नभएको समेत अध्यक्ष चापागाईंले बताए । अब चाडै नै बीमा कम्पनीहरुले पुँजी पुर्‍याएर मजवुत बन्ने उनको तर्क छ । उनले बीमा कम्पनीहरुले हकप्रद जारी गर्न धमाधम अनुमति लिइरहेको समेत जानकारी दिए ।

अध्यक्ष चापागाईंले भने जस्तै बीमा कम्पनीहरुले हकप्रद र बोनश सेयर वितरण गर्न शुरु गरिसकेका छन् । केही कम्पनीहरुले प्रस्ताव गरेका छन् भने केही कम्पनीले साधारणसभाबाट निर्णय नै गराइसकेका छन् ।

सञ्चालनमा रहेका कम्पनीहरु मध्ये सूर्य लाइफ इन्स्योरेन्स कम्पनीले ७० प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी पुर्याउँदैछ भने गुराँस लाइफले शतप्रतिशत हकप्रद सेयर जारी गरेर तोकिए अनुसारको चुक्ता पुँजी पुर्याउँदैछ ।

निर्जिवन बीमा कम्पनीहरुमा युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्दै छ भने एनएलजी इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीहरुले ६० प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी पुर्याउदैछन् । यि कम्पनीहरु जस्तै पुँजी नपुर्याएका सबैको योजना यस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment