Comments Add Comment

चाबहिल–साँखु सडक बिस्तार : गरिखानेहरुलाई उठीबास लगाउने बिकास

३० भदौ, काठमाडौं । सडक विस्तारको कामलाई वर्षौंसम्म अलपत्र छाडिँदा काठमाडौंको चाबहिलदेखि साँखुसम्मका व्यवसायीहरु पलायन हुन थालेका छन् । सडक बिस्तार गर्ने भन्दै सडक छेउका घरहरु भत्काएको सडक विभागले पाँचवर्ष पुग्दा पनि काम पूरा नगर्दा व्यवसाय धरासयी बनेको व्यवसायीहरुले बताएका छन् । यसको प्रत्यक्ष मारमा व्यापारीहरु परेका छन् । कतिपय व्यापारी पेशाबाटै विस्थापित भएका छन् ।

व्यवसायी मध्येका एक किशोर श्रेष्ठले फर्निचर व्यापारबाट हात धुनु परेको छ । उनको पसल रहेको वौद्व स्थित घरमा २०७२ सालमा सडक विभागले भत्काउने चिन्ह लगायो । त्यसको दुई वर्षपछि सडक विभागले उनको पसल रहेको घर भत्कायो । ‘भत्काउने चिन्ह लगाएदेखि नै व्यापारमा असर पर्न थालिहाल्यो’, उनी भन्छन्, ‘घरबेटीले त्यसपछिको करिब डेढ वर्षमा घर तयार गरी बढी रकममा अरुलाई नै भाडामा दिए ।’

बौद्वकै अर्को घरमा उनले फर्निचर व्यवसाय सञ्चालन गरेपनि राम्रोसँग व्यवसाय नचल्दा उल्टै ऋणमा डुबेको पीडा श्रेष्ठले सुनाए । सडक विभागका कारण १० वर्षसम्म सञ्चालन गरेको व्यवसाय डुब्नुको मुख्य कारण सडक विभाग भएको उनको भनाइ छ । व्यवसायबाट उनी बिस्थापित भएपनि यो सडकखण्ड पाँचवर्ष अघिकै हालतमा रहेको उनले बताए । यो सडकखण्ड वर्षा हुँदा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको उनले गुनासो गरे ।

जोरपाटीमा कस्मेटिक्सको होलसेल पसल चलाएका राजु बानियाँ पनि यो अवधिमा सडककै कारण ठूलो घाटा बेहोर्नु पर्दा पेशाबाट हात धुने अवस्थामा पुगेका छन् । ‘घर भत्काउँदा चार महिना पसल बन्द गर्नु पर्यो,’ उनी भन्छन्, ‘नयाँ घरमा एकातिर भाडा आकाशियो भने अर्कातिर धुलोको मुस्लोले गर्दा ग्राहक आउनै छाडे ।’

पहिले दुई जनालाई रोजगारी दिएका बानिया अहिले घरधनीलाई भाडा बुझाउन समेत नसक्ने अवस्था आएको बताउँछन् । घामलाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य भएका कारण अहिले बौद्ध–जोरपाटी सडकमा हिँड्नै नसक्ने अवस्था रहेको बानिया बताउँछन् ।

बौद्धमा मासु पसल चलाउँदै आएकी फुलमाया तामाङको अवस्था पनि श्रेष्ठ र वानियाको जस्तै भएको छ । उनको पसल रहेको घर पनि सडक बिस्तारकै क्रममा भत्किने भएको छ । चार वर्षदेखि यही पेशाबाट चलेको उनको व्यवसाय पनि बन्द हुने भएपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् ।

चावहिल–जोरपाटी सडक खण्डका घरहरुमा १ हजारभन्दा बढी पसल सञ्चालनमा रहेको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले बताए ।

सडक विस्तारका कारण घरहरु भत्किने भएपछि श्रेष्ठ, बानिया र तामाङको जस्तै अन्य व्यवसायीको व्यवसाय पनि चौपट्ट हुने भएको छ । कतिपयले व्यापार छाडिसकेका छन् । लथालिंग सडकको अवस्थाका कारण धेरै जसो व्यवसायीको व्यापार व्यवसाय चौपट बन्न पुगेको छ ।

सडक विभागको योजना अनुगमन तथा मुल्याङ्कन शाखा प्रमुख अर्जुन सुवाल मुआब्जा विवादका कारण पनि सडक बिस्तारको काममा ढिला भएको बताउँछन् । उनले आगामी मंसिरभित्र काम सक्ने दाबी गरे । तर, भदौ सकिन लाग्दा कतिपय ठाउँमा अझै घर भत्काउन बाँकी नै छन् ।

काठमाडौं क्षेत्र–३ का प्रदेश सांसद रामेश्वर फुयालले २०७५ साल कात्तिकसम्म सो सडक विस्तारको काम सकिने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment