Comments Add Comment

कोल्ड स्टोर बन्यो, अब तरकारीमा डोजर लगाउनु पर्दैन

३० भदौ, पोखरा । हेमजाका किसान पिताम्बर त्रिपाठीको गुनासो थियो, ‘काउली या अन्य पर्स्याङको तरकारी किसानले बेचेको मूल्यभन्दा व्यापारीले दोब्बर मूल्यमा बेच्छन् । पछि अलि बढी मूल्यबाट बेचौं भने कोल्डस्टोर छैन ।’

राधा तिमिल्सिनालाई चितवनमा तरकारी नबिकेर डोजर लगाउनुपरेको घटनाले झस्काइरहन्थ्यो । अनि अर्का किसान शंकर त्रिपाठी प्रदेश गठन भएको डेढ वर्ष बितिसक्दा पनि किसानमैत्री नीति बन्न नसकेको गुनासो गर्थे । उनी भन्थे, ‘सिजनमा कम दाममै बिचौलियालाई तरकारी दिनुपर्छ, नत्र राख्ने ठाउँ खोई ?’

कोल्ड स्टोर नभएकै कारण सास्ती खपेका कास्कीका किसानलाई अब भने राहत पाउने भएका छन् । गण्डकी प्रदेश सरकारको साढे २ करोड अनुदानसहित ६ करोड रुपैयाँको लागतमा कोल्ड स्टोर (शित भण्डार) खुलेको छ । निजी सरकारी साझेदारीका आधारमा ३ सय २० मेट्रिकटन तरकारी तथा फलफूल स्टोरेज गर्न सकिने गरी कोल्ड स्टोर निर्माण गरिएको हो ।

बिना विषादी नयाँ प्रविधिबाट फलफूल पकाउने र ताजा बनाएर राख्ने गरी कोल्ड स्टोर निर्माण गरिएको भारतीय प्राविधिक उमेश चौहानले जानकारी दिए । ‘यो घरघरमा हुने फ्रिजको ठूलो आधार हो । जहाँ ० देखि ३० डिग्रिसम्मको तापक्रम मेन्टेन गर्न सकिन्छ,’ चौहानले भने, ‘यसमा केरा, आँप पकाउन सकिन्छ । बजारमा जाने बाहेकका तरकारी स्टोरमा राखेर किसानले फाइदा लिन सक्छन् ।’

साढे ६ रोपनी क्षेत्रमा निर्माण भएको कोल्ड स्टोरमा नेपाली किसानका उपजमात्र राखिने सञ्चालक समितिका अध्यक्ष अमरबहादुर बानियाँले जानकारी दिए । ‘हामी भारतबाट आएका उपज स्टोर गर्ने छैनौं,’ बानियाँले भने ।

सञ्चालक अमरबहादुर र लेखनाथ पौडेलले पहिलेदेखि कृषि उपजकै क्षेत्रमा काम गर्दै आएका थिए । ३ वर्षदेखि कोल्डस्टोर निर्माण गर्ने योजनासहित भारतको लखनउ, दिल्ली, पटना लगायतका ठाउँमा पुगेर प्रविधिबारे जानकारी लिएका थिए । उनीहरुले २० वर्षका लागि जग्गा लिजमा लिएर कोल्ड स्टोर निर्माण गरेका हुन् ।

प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले अब तरकारी नबिकेकै कारण, मूल्य नपाएकै कारण डोजर लगाउनुपर्ने स्थिति आइनपर्ने बताए । गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा यस्तै कोल्ड स्टोर निर्माणको तयारी गरेको बताए । किसानले कृषि उपजमा राखेको मूल्य सञ्चालकले बढी नलिउन् भनेर सरकारले दररेट कायम गर्ने मन्त्री थापाको भनाइ छ ।

‘कोल्ड स्टोर सञ्चालकले चर्को मूल्य लिने र फेरि महंगो पर्ने अवस्था आउनु भएन । किसानले सस्तोमा स्टोरेज गर्न पाउनुपर्‍यो,’ कृषिमन्त्री थापाले भने ।

अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले पनि दुध नबिकेर फालेको, तरकारी नबिकेको डोजर लगाएका खबर अब सुन्न नपर्ने बाटोमा सरकार हिँडेको बताए ।

प्रदेश सरकार कहाँ छ ? चाउथेको कोल्ड स्टोरमा हेर्नुस्ः मुख्यमन्त्री

खै प्रदेश सरकार कहाँ छ, प्रदेश सरकारले के गर्‍यो भनेर प्रश्न गर्नेप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखरा आएर हेर्न भनेका छन् । ‘कहाँ छ प्रदेश सरकार भन्छन् । प्रदेश सरकार चाउथेको शितभण्डारमा छ भन्छौं अब,’ गुरुङले भने, ‘प्रदेश सरकार नभएको भए आजको दिनमा यो उद्घाटन हुने थिएन ।’

१५ महिनाकै अवधिमा प्रदेशले खै कहाँ के गर्‍यो भनेर टिप्पणी गर्नलाई केही समय पर्खिन मुख्यमन्त्रीले आग्रह गरे । ‘रोम एक दिनमा बनेको थिएन भन्ने एउटा भनाइ छ,’ उनले भने , ‘विकास गर्न समय चाहिन्छ । अग्रगमनका लागि समय चाहिन्छ । तर, समय चाहिन्छ भनेर पर्खेर बस्दैनौं ।’

सरकारले कृषिमा थुप्रै योजना अगाडि सारेको भन्दै उनले भने, यो त सुपारीमात्रै बाँडेको हो । भोज खाने दिन त पछाडि छ ।’

कृषिलाई समृद्धिको आधार मानेको गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले ५ वर्षमा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment