Comments Add Comment

अनियमितताको प्रश्नपछि विद्यालय बन्दको सूचना !

कात्तिक १५ सम्म बिदा गरेर समस्यादेखि भाग्ने प्रयास

३० भदौ, पोखरा । सधैंझैं सोमबार बिहान पनि विद्यार्थी झोला बोकेर विद्यालय पुगिसकेका थिए । पोखरा–६ बैदामस्थित तालबाराही माविको मुल गेट अबेर बन्द थियो । अघिल्लो दिन विद्यालय बन्द हुने कुनै जानकारी थिएन । विद्यार्थीहरु अचम्मित थिए ।

विद्यार्थीले मूल गेटमा टाँगिएको एउटा सूचना देख्छन् अनि बल्ल अबेरसम्म विद्यालय नखुल्नुको भेउ पाउँछन् । कात्तिक १५ गतेदेखि विद्यालय खुल्ने जानकारीसहित सोमबारदेखि विद्यालय बन्द भएको सूचना टाँसिएको थियो ।

प्राधानाध्यापक भद्रकाली लामिछानेको हस्ताक्षरमा सूचना टाँस गरिएको छ । भइपरी, संकट वा चाडवाडका कारण विद्यालय एक्कासी विदा गरिएको होइन ।

विद्यालयमा प्राधानाध्यापक लामिछानेमाथि आर्थिक अनियमितता र विहानी कक्षा सञ्चालनको समेत गरी दोहोरो सुविधाको प्रश्न उठेपछि विदा भएको सूचना टाँसिएको हो । सम्बन्धित निकायले अनुसन्धान र अध्ययन गरिरहेकै बेला लामिछानेले विद्यालयमा लामो विदा दिएकी हुन् ।

यसरी उठ्यो अनियमितताको प्रश्न

भद्रकाली लामिछाने नेपाल सरकारको माध्यामिक तह तृत्तीय श्रेणीकी शिक्षक हुन् । तर, लामिछानेले द्वित्तीय श्रेणीको तलब लिइरहेकी छन् । विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएरबाट एक स्तरवृद्धिको रकम आन्तरिक स्रोतबाट लामिछानेले बुझिरहेकी छन् ।

त्योबाहेक बिहानमा ११ र १२ को कक्षा सञ्चालन गरेबापत उनले थप १९ हजार ६ सय रुपैयाँ रकम थापिरहेकी छन् । प्राधानाध्यपक भत्ता बेग्लै छ ।

गएको साल विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर आफूलाई उदोन्नति गरेको लामिछानेको तर्क छ । कामको आधारमा नभइ एक तह माथिको तलब सुविधा बढ्ने गरी अन्य केही शिक्षकको पनि यसरी पदोन्नति भएको छ ।

यिनै विषयलाई लिएर गएको शुक्रबार पोखरा महानगरपालिकामा उजुरी परेको छ । गएको शुक्रबार महानगरमा उजुरी परेको छ । विद्यालय व्यवस्थान समितिको निर्णयबाट योगदानका आधारमा अतिरिक्त रकमको दिन पाउने व्यवस्था छ । तर, विद्यालयमा अनियमित रुपमा निर्णय गरिएको उजुरीमा छ ।

त्यही विषयमा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिबीच नै मतभेदसमेत थियो । यही विषयमा विद्यालयमा विवाद बढेपछि उजुरीका आधारमा अध्ययन गर्न वडा शिक्षा समितिले जिम्मा लियो । समितिले पनि फाइल मागिरहेको थियो । तर, सोमबार एक्कासी कात्तिक १५ गतेसम्म विद्यालय बिदा गरिएको सूचना टाँस भयो ।

पोखरा महानगरपालिकाका शिक्षा शाखा अधिकृत वसन्तराज पौडेलको नेतृत्व टोलीले सोमबारदेखि विद्यालयमा अनुसन्धान थालेको छ ।

वडा र व्यवस्थापन समिति भन्छः झुक्कियौं

विद्यालयमा असहज परिस्थिति सिर्जना भएको भन्दै विद्यालय प्रधानाध्यापक भद्रकाली लामिछानेले वडा शिक्षा समिति संयोजक तथा वडाध्यक्ष जगत पहारीसँग सल्लाह गरेकी थिइन् । यही विषयमा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेसँग पनि लामिछाने छलफल गरिन् ।

उनीहरुसँगको राय सल्लाहमै लामिछानेले विद्यालयमा असहज परिस्थिति, त्रासको वातावरण सिर्जना भएको कारण देखाउँदै असोज १२ गतेसम्म बिदा भएको सूचना टाँसिन । त्यसलगत्तै दसैं, तिहार र छट लगायतका चाड भएकाले कात्तिक १५ गतेमात्रै विद्यालय खुल्ने सूचनामा छ ।

एक्कासी यसरी लामो समय विद्यालय बन्द गरिएको भन्दै शिक्षक, अभिभावक, स्थानीय र विद्यार्थीसमेत विरोध जनाए । त्यसपछि व्यवस्थापन समिति अध्यक्ष न्यौपाने र शिक्षा समिति संयोजक वडाध्यक्ष पहारीले आफूहरु झुक्किएको बताएका छन् ।

१/२ दिनका लागिमात्रै विदा गर्ने भनिएको हुन सक्ने भएकाले अनुमति दिएको तर यति लामो होला भन्ने जानकारी नभएको बताए । ‘स्कुलको घटना बाहिर आइसकेपछि कर्मचारी सविता ढुंगानाको नेतृत्वमा अध्ययन समिति गठन गर्‍यौं । तर, म्याडमले फाइल दिनुभएन ।

विश्वनाथ भट्टराईको संयोजकत्वमा फेरि अर्को समिति बनाइयो । उहाँ फेरि पनि आउनुभएन,’ वडाध्यक्ष पहारीले भने, ‘हिजो विदा गर्ने भन्नुभएको थियो । तर, यति लामो विदा होला भन्ने लागेको थिएन ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष न्यौपाने पनि यस्तै प्रतिक्रिया दिन्छन् । अहिले विदा लिएपछि आफू चाहिँदा बिदा नपाउने भएकाले शिक्षक कर्मचारीसमेत असन्तुष्ट छन् ।

दबावपछि विद्यालय खुल्ने, परीक्षा नरोकिने

असोज १ गतेबाट १० कक्षासम्मको आन्तरिक परीक्षा सुरु हुँदै थियो । सोमबारदेखि विद्यालय आकस्मिक रुपमा विदा भएको सूचना आएपछि परीक्षा नरोक्न भन्दै विद्यार्थीले नाराबाजी गरे ।

कक्षा १० ऋतिका तामाङले विद्यालयका समस्या भए छानबिनमा सहयोग गरेर परीक्षा नरोक्न भन्दै चिच्याउँदै थिइन् । सरिना गुरुङको माग परीक्षा नरोक्नै थियो । उनीहरुजस्तै थुप्रै विद्यालय विद्यालय पोशाकमा आएका थिए । विद्यालय आउँदा विदा भएको थाहा पाएपछि उनीहरु उनीले विद्यालय गेटमा नाराबाजी गरे ।

उनीहरुसँगै अभिभावक र शिक्षक पनि थपिए । स्थानीयले पनि सोधखोज गर्दै उनीहरुलाई समर्थन दिन थाल्यो । तत्काल पोखरा महानगरपालिकाको टोली पुग्यो । उसले वडा शिक्षा समिति र विद्यालय व्यवस्थापन समितिलाई पनि बोलाएर छलफल थाल्यो । विद्यार्थी अभिभावकको दबावकै बीच असोज १ गतेबाट परीक्षा नरोक्ने गरी विद्यालय खुल्ने भएको छ ।

परीक्षालाई प्रभावित हुन नदिइ महानगरले विद्यालयमाथि अनुसन्धान र अध्ययन गरिने अधिकृत पौडेलले जानकारी दिए । अनुसन्धानकै लागि विद्यालय बन्द गर्न खोजिएपछि सरोकारवालाले आशंका गरेका छन् ।

नजिकै प्रअ लामिछाने परिवारको निजी स्कुल

पोखराकै पुरानो स्कुलमा पर्छ, तालबाराही मावि । विस २००० मै खुलेको यो विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ ।

देशैभरि सरकारी विद्यालयमा विद्यार्थी घटिरहेका छन् । यो विद्यालयको हालत पनि उस्तै हो । तर, त्यही विद्यालयको ५ सय मिटर पर अर्को निजी विद्यालय छ । त्यहाँ पनि १२ कक्षासम्मकै पढाइ हुन्छ । त्यसको हो, नेसनल इन्भेन्टिभ बोर्डिङ स्कुल ।

यो स्कुलको सञ्चालक यही सरकारी विद्यालय तालबाराही उच्च माविकी प्रधानाध्यापक भद्रकाली लामिछाने दम्पति हो । भद्रकालीका श्रीमान डा. देवेन्द्रबहादुर पृथ्वीनारायण क्याम्पस प्राध्यापकबाट अवकास प्राप्त हुन् । तर, बोर्डिङ भाइबुहारीको नाममा छ ।

‘नजिकै आफ्नै बोर्डिङ छ । तालबाराहीमा विदाको सूचना टाँसेर उहाँ इन्भेन्टिभमा जानुभएको हो,’ एक स्थानीयले भने, ‘उहाँले लामो समयदेखि सरकारी स्कुलमा सेवा त गर्नुभएको छ तर मन कता होला बुझ्न गाह्रो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment