Comments Add Comment

काठमाडौं आज बल्ल खुला दिसामुक्त

३१ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंलाई आज बल्ल खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिँदै छ । राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे औपचारिक कार्यक्रम आयोजना गरी काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न लागिएको हो ।

काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी थियो । अरु धेरै जिल्ला खुला दिसामुक्त भइसक्दा पनि ‘स्मार्ट सिटी’ बनाउने भनिएको राजधानी काठमाडौं नै खुला दिसामुक्त नहुनु लज्जाको विषय बनेको थियो ।

काठमाडौं उपत्यकाको भक्तपुरलाई २०७० साल कात्तिकमा र ललितपुरलाई २०७५ जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो । नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला भने कास्की हो । कास्कीलाई २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको थियो । काठमाडौंमा अझै पनि सार्वजनिक शौचालय व्यवस्थित नभएकाले खुला दिसामुक्त घोषणा कार्यान्वयन हुनेमा शंका छ ।

महोत्तरी र कपिलवस्तु पनि

यसैबीच आजै काठमाडौंसहित महोत्तरी र कपिलवस्तु जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न लागिएको छ । काठमाडौं, महात्तेरी र कपिलवस्तु गरी तीन जिल्लालाई एकै दिन खुला दिसामुक्त घोषणा गर्न लागिएको यो पहिलो पटक हो ।

सरकारले २०७६/७७ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी गरिहँदा कपिलवस्तु जिल्ला पनि आजमात्र खुल्ला दिसामुक्त घोषणा हुन लागेको हो ।

सरकारले सरसफाइ गुरुयोजना २०६८ लागू गरेर खुला दिसामुक्त अभियान सुरु गरेको थियो । सरसफाइ गुरुयोजनाअनुसार ‘खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहिँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ ।’

१३ असोजको समयसीमा

नेपालमा २०६८ यता शौचालय निर्माणका लागि ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भइसकेको खानेपानी मन्त्रालयले जनाएको छ ।

सरकारले यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ । यसअघि भदौ मसान्तभित्रै खुला दिसामुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिइएको थियो, तर लक्ष्यअनुसार काम नभएपछि असोज १३ को नयाँ मिति तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment