Comments Add Comment

असोजका ३ फिल्म, जसले फिल्म क्षेत्रलाई खुशी दिन सक्छन्

नेपाली चलचित्रलाई व्यापारिक खडेरी लागेको केही महिना भयो । गतबर्ष चलचित्र कम चलेर विच्किएका लगानीकर्ता यो बर्ष झनै विच्किन सक्छन् । दर्शकले नेपाली चलचित्रका लागि खासै मन बनाएका छैनन् । भदौ १३ मा रिलिज भएको ‘मारुनी’ हेर्नका लागि आएका दर्शक चलचित्रको लगानी नेपालबाटै सुरक्षित गर्नका लागि पर्याप्त भएनन् ।

यसरी हेर्दा, यो बर्षको ५ महिना वितिसक्दा ‘जात्रै जात्रा’ मात्र स्पष्ट रुपमा हिट देखिएको छ । असोज महिनामा केही यस्ता चलचित्र रिलिज हुँदैछन्, जसले चलचित्र क्षेत्रलाई खुशी दिन सक्छन् ।

असोजको ३ गते रिलिज हुन लागेको ‘कबड्डी कबड्डी कबड्डी’ प्रतिक्षामा छ । यसअघिका २ सिरिज नै हिट भएको र अर्गानिक कथा खोज्ने दर्शकका लागि सधै नै प्रिय बनेको यो चलचित्र व्यापारिक रुपमा हिट हुने अपेक्षा गरिएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।

असोजको १० गते रिलिज हुन लागेको अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’ पनि व्यापारिक रुपमा हिट हुने अपेक्षा गर्न सकिन्छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको मुख्य भूमिका रहेको चलचित्रलाई दशैको प्रभाव पर्न सक्छ ।

यस्तै, असोजको २४ गतेबाट रिलिज हुने चलचित्र ‘छ माया छपक्कै’ पनि व्यापारिक रुपमा सुपरहिट हुने अपेक्षा गर्न सकिन्छ । दिपकराज गिरी र दीपाश्री निरौलासँग निर्माता रोहित अधिकारीले मिलेर बनाएको यो चलचित्र कलाकार, कथावस्तु र यसअघिका चलचित्रको ब्रान्ड भ्यालुका कारण पनि चल्ने अपेक्षा गर्न सकिन्छ ।

दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी यो चलचित्रका मुख्य कलाकार हुन् । यी ३ चलचित्रको व्यापारले आउँदो बर्ष निर्माण हुने चलचित्रको संख्या अनुमान गर्न पनि सकिनेछ ।
यसैले, असोज महिना नेपाली चलचित्रका लागि महत्वपूर्ण छ भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment