Comments Add Comment

पूर्वाञ्चल विश्वविद्यालयमा तालामाथि ताला, कार्यसम्पादन प्रभावित

३१ भदौ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय विद्यार्थी संगठनका कारण अस्तव्यस्त भएको छ । विद्यार्थी संगठनले राजनीतिक अखडा बनाउँदा विश्वविद्यालयका कार्यसम्पादनमै समस्या देखिएको छ ।

विश्वविदालय केन्द्रीय कार्यालयमा सत्तारुढ र प्रतिपक्षी विद्यार्थी संगठनहरुले छुट्टाछुट्टै ताला लगाएपछि प्रशासनिक काम प्रभावित भएको छ । दुई महिनादेखि केन्द्रीय कार्यालयमा तालामाथि ताला खप्टिएका छन् ।

विधार्थी संगठनले विश्वविद्यालयका उपकुलपति, रजिष्टार, लेखा शाखा लगायतको कार्यकक्षमा ताला लगाएका कारण कार्यकक्ष बारिह बसेर काम गर्नु पर्ने अवस्था आएको रजिष्टार प्रमिला थापाले बताइन् ।

‘एक महिनादेखि विश्व विद्यालयको केन्द्रीय कार्यालयमा हाजिर हुने अबस्था मात्र छ,’ रजिष्टार थापाले भनिन् , ‘लामो समयदेखि सबै पदाधिकारीको कार्यकक्षमा ताला लागेको छ । हाजिर मात्र गरेर बाहिर नै बस्न पर्ने अवस्था छ ।’

अनेरास्ववियू, अखिल क्रान्तिकारीसहित पाँच विद्यार्थी संगठनले उपकुलपति, रजिष्टार, लेखा शाखाको कार्यकक्षमा ताला लगाएका छन् ।

विश्वविद्याय सुधार गर्नु पर्ने र कर्मचारी बढुवामा धाँधली भएको भन्दै उनीहरुले गत साउन २३ गते तालाबन्दी गरेका थिए ।

७ भदौमा नियुक्ति लिएर आएका उपकुलपति बिजुकुमार थपलियालाई काम गर्न नदिने भन्दै उनको कार्यकक्षसहित, रजिष्टार र लेखा शाखामा नेविसघले अर्को ताला झुण्ड्याएको छ ।

अनेरास्ववियू, अखिल क्रान्तिकारीसहित पाँच विद्यार्थी संगठनले उठाएका माग सम्बोधन भए पनि अहिलेसम्म केन्द्रीय कार्यालयको पदाधिकारको कार्यकक्षमा लागेको ताला खुलेको छैन ।

अनेरास्ववीयू लगायतका पाँच विधार्थी संगठनले विश्वविद्यालयकाका तत्कालीन उपकुलपति धनश्यामलाल दासको कार्यकालमा ताला लगाएका थिए । तर, उनको कार्यकाल सकिएर नँया उपकुलपति विश्वविद्यालयमा नियुक्ति भइसेका छन । तर पनि अनेरास्ववियुको अगुवाइमा लागेका ताला खुलेको छैन ।

अनेरास्ववियु प्रदेश नं १ का सह-इन्चार्ज भास्कर खनालले आफूहरुले राखेका माग सम्बोधन भए पनि नेविसंघले लगाएको तालाका कारण समस्या भएको बताए ।

‘ताला खोल्नेमा कुनै समस्या छैन,’ सहइन्चार्ज खानालले भने, ‘हामीले मात्र ताला खोलेर दैनिक प्रशासनिक काम सुरु हुने अबस्था छैन । हाम्रा तालामाथि नेविसंघको ताला छ, जसका कारण हामीलाई ताला खोल्न समस्या परेको छ ।’

थरी-थरीका माग राखेर ताला झुण्ड्याइएका कारण पठनपाठन पनि प्रभावित भएको छ । तालाबन्दीले बाहिरबाटै काम गर्नु पर्ने भएकोले अप्ठेरो भइरहेको विश्वविद्यालयका सूचना अधिकारी फडिन्द्र गौतमले जानकारी दिए ।

तालाबन्दीका कारण कर्मचारीको तलव भुक्तानीमा समेत अप्ठेरो परेको छ । ‘विश्व विद्यालयको प्रमुख प्रशासनिक काम गर्ने थलोमा ताला लागेको छ,’ सूचना अधिकारी गौतम भन्छन, ‘उपकुलपतिदेखि रजिष्टारको कार्यकक्षसमेतमा ताला झुण्डिाइएको छ ।’

विश्व विद्यालयको सभा आयोजनाको तयारीदेखि विश्व विद्यालयका बारेमा अख्तियारमा परेको उजुरीका बारेमा सोधेका प्रश्नको जवाफ दिनेसम्मको काम रोकिएको उनले बताए ।

अनेक थरी माग लिएर कहिले कस्को ताला त कहिले कस्को ताला लागिरहनेे सिलसिला प्रायः वर्षैभरी चलिरहेको छ । विश्वविद्यालयमा भएका पछिल्ला घटना क्रमले राजनीति गर्ने थलोका रुपमा विश्वविद्यालय रुपान्तरित हुँदै गएको प्राध्यापक संघका पूर्वअध्यक्ष एव पूर्वाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दिनेशराज सुवेदी बताए ।

‘राजतीतिक दाउपेजले विश्वविद्यालय आक्रन्त बन्दै गएको छ,’ उपप्रध्यापक सुबेदी भन्छन, ‘विश्व विद्यालय राजनीतिक हस्तक्षेत्रबाट बाहिर हुनुपर्छ ।’ यो शैक्षिक गतिविधि हुने संस्था हो,यसको नेतृत्व विशुद्ध प्राज्ञिक व्यक्तिको हातमा हुनुपर्छ । अहिले राजनीतिक भागवण्डाका कारण विश्वविद्यालय राजनीतिक क्रिडास्थल बनेको छ यसको अन्त्य जरुरी छ ।’

विराटनगरमा केन्द्रीय कार्यालय रहेको २२ हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment