Comments Add Comment

दशैंको मुखमा गहना र नगद चोरीका घटना बढे

सुन चोर्ने फरार, पहेंलो धातु बेच्ने समातिए

३१ भदौ, काठमाडौं । दशैंतिहार जस्ता चाडबाड नजिकिँदै जाँदा चोरी र लुटपाटका घटना वर्षेनी बढ्ने गरेका छन् । काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा सोमबार १२ लाख बराबरको नगदसहित सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ९ वीरेन्द्र चोक डेरा गरी बस्ने शर्मिला लामाको कोठाबाट नगद तथा सुनको गरगहना चोरी भएको हो । सर्लाही लालबन्दी घर भएकी लामाको कोठाबाट सुनको गहना समेत गरी करिब १ लाख ५७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरीले जनाएको छ ।

यसैगरी चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकाप बस्ने शर्मिला न्यौपानेको घरबाट पनि सोमबार साँझ सुनको गहनासहित करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

सिनामंगल पञ्चकुमारी बस्ने राजेश राईको घरबाट नगद तथा सुनका विभिन्न गरगहना चोरी भएको छ । राईको घरबाट करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जे साहुटोल बस्ने पूर्णकला राईको घरबाट ल्यापटप २ थान र सुनचाँदीका गरगहना समेत गरी करिब ३ लाख ८९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

गरिवीका कारण चाडबाडबा बेला चोरीका घटना बढ्ने गरेको सुरक्षाकर्मीहरुको विश्लेषण छ । चोरीका घटनाबाट जोगिनका लागि सुरक्षाको ख्याल गर्न प्रहरीले चाडबाडका बेला सर्वसाधारणलाई आहेवान गर्दै आएको छ ।

जुवा खेलेको आरोपमा ८ जना पक्राउ

दशैं तिहारमा चोरी र लुटपाट मात्र हैन, जुवातास खेल्ने घटनाहरु पनि बढ्छन् । यसैक्रममा प्रहरीले पोखरा महानगरपालिका ९ नयाँबजारबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ गरेको छ ।

तमु सेवा समितिको भवनमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका ९ बस्ने ५५ वर्षीय यामकुमार थापा लगायत ८ जनालाई नगद २५ हजार १ सय १० रुपैयाँ र ४ बुक ताससहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

पहेंलो धातु बेच्नेलाई पनि प्रहरीले छाडेन

यसैवीच प्रहरीले सुनजस्तो पहेंलो धातु बेचेको आरोपमा काठमाडौंबाट एकजनालाई समातेको छ ।

एक किलो बराबरको सुनजस्तो देखिने धातुसहित काठमाडौंको ठूलो भर्‍याङ बस्ने सिन्धुली कमला नगरपालिका घर भएका ४२ वर्षीय राजकुमार बम्जनलाई प्रहरीले माछापोखरीबाट पक्राउ गरेको हो ।

सुन जस्तो देखिने पहेंलो धातु बिक्री बितरण भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनलाई उक्त धातुसहित समातेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment