Comments Add Comment

हेलम्बु गाउँपालिकाद्वारा ७४ छाडा कुकुरको बन्ध्याकरण   

३१ भदौ, मेलम्ची ।  बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्न थालेको छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि गाउँपालिकाले स्थायी बन्ध्याकरण सुरु गरेको हो ।

उक्त गाउँपालिका र नेपाल एनिमल वयल्फेयर एण्ड रिचर्सको आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ४३ भाले कुकुरलाई भ्यासेक्टोमी र ३१ पोथी कुकुरलाई मिनिल्याप गराएको थियो ।

छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पशुसेवा कार्यालयका प्रमुख टोपबहादुर बरुवालले जानकारी दिए ।

गाउँपालिकाभित्रको मुख्य बजार क्षेत्रका ७४ छाडा कुकुरलाई नियन्त्रणमा लिएर सुरक्षितसाथ बन्ध्याकरण गरिएको उक्त गाउँपालिकाले जनाएको छ । यो अभियानमा स्थानीयवासीको उल्लेखनीय सहयोग हुनाका साथै उनीहरूमा खुशी छाएकाले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रमुख बरुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment