Comments Add Comment

२५ सय मेट्रिक टन युरिया मल वीरगञ्ज आइपुग्यो

३१ भदौ, वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर गरेर मगाएको सरकारी अनुदानको २५ सय मेट्रिक टन मल वीरगञ्ज आइपुगेको छ । यसअघि कम्पनीले मगाएको एक र्‍याक (२५ सय मेट्रिक टन) वितरण गर्ने क्रम सुरु भइसकेको छ ।

धानबालीका लागि मल आवश्यक भएकोले मलको माग अत्याधिक बढी देखिएको छ । तर, मल नपाएर किसान हैरान छन् । त्यसैलाई मध्यनजर गरेर कृषि सामग्री कम्पनीले धमाधम मल आयत गरिरहेको छ । मंगलबार बिहान ४ बजे सिर्सिया सुख्खा बन्दरगाह आइसीडीमा आइपुगेको र्‍याक यो सिजनको दोस्रो भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष ०७५/७६ मा कम्पनीले ३० हजार मेट्रिक टन मल आयात गर्न युएईस्थित मल्टी कम्बोडिटिज ट्रेडिङसँग सम्झौता गरेको थियो । उसले ओमानमा उत्पादन भएको मल कोलकत्ता बन्दरगाह हुँदै नेपाल पठाइ रहेको छ ।

यो पनि पढ्नुहोस पर्साका किसानको गुनासो : समयमै अनुदानको मल पाएनौ

कृषि सामग्री कम्पनी क्षेत्रिय कार्यालय वीरगञ्जका प्रमुख गोविन्द पराजुलीले २५ सय मेट्रिक टन युरिया मल वीरगञ्ज आइपुगेको जानकारी दिए । ‘आज बिहान र्‍याक वीरगञ्ज आइपुगेको छ । कस्टम क्लियरेन्स भईसकेपछि ढुवानी गरेर कम्पनीको वीरगञ्ज स्थित कार्यालय र चिनी मिलको गोदामतिर राख्छौं होला’ उनले भने, ‘विश्वकर्मा पुजाका कारण आज र भोलि सवारी साधन नपाउने अवस्था छ, पर्सीबाट मात्रै ढुवानी शुरु हुन्छ होला, त्यसपछि वितरण गर्छौ ।’

भारतको सीतामढी नजिकै ३ दिन र्‍याक रोकिएकोले मल आइपुग्न ढिलाइ भएको जानकारी पराजुलीले दिए ।

२५ सय मेट्रिक टनलाई वीरगञ्ज र भैरहवा स्थित क्षेत्रिय कार्यालय मार्फत वितरण गर्ने लक्ष्य कम्पनीले लिएको छ । विराटनगरबाट स्थलमार्ग र वीरगञ्जमा रेलमा मल आयात भईरहेको छ । कोलकत्ताबाट रेलमार्ग हुँदै वीरगञ्ज आएको मललाई नै भैरहवा पनि पठाइएको छ ।

लगिसकेका सहकारीले पनि फेरि पाउने

कृषि सामग्री कम्पनीले वि.सं. २०६५ देखि अनुदानित मलको खरिद कार्यको जिम्मेवारी पाउँदै आएको छ । किसानलाई सहुलियत मुल्यमा रासायनिक एवं प्रांगारिक मल बिक्री गर्नका लागि कृषि सामग्री कम्पनी लिमिटेडले कृषि सहकारीलाई डिलरसीप दिने गरेको छ ।

वीरगञ्ज क्षेत्रिय कार्यालयले पहिलो लटमा कम्पनीमा आवद्ध पर्साका ९० वटा कृषि सहकारी संस्थालाई रासायनिक मल वितरण गरिसकेको छ । प्रति सहकारी ५० बोरा युरिया र कम्तीमा १० बोरा वा माग अनुसार डिएपी मल पठाईसकेको कार्यालय प्रमुख पराजुली बताउँछन् ।

आइतबार ७५ वटा र सोमबार १५ वटा सहकारी संस्थाले मल लिएर गएका हुन् । सहकारीले लगेको मलले किसानको आवश्यकता परिपूर्ति नगर्ने किसान अगुवाहरु बताउँछन् । जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साह किसानको आवश्यकता अनुसार मल उपलब्ध हुन नसकेको बताउँछन् । ‘ मेरो सहकारीले सोमबार ५० बोरा युरिया लगेको थियो,’ उनले भने, ‘ बिहान एकै घण्टामा किसानले आएर सबै लगे, आवश्यकता अनुसार मल पाइरहेकै छैन ।’

तर, आवश्कता हेरेर ती सहकारीलाई दोहोर्‍याएर पनि मल दिन सकिने कम्पनीको क्षेत्रिय कार्यालयले जनाएको छ । ‘एउटा सहकारीलाई सातामा एक पटक मल दिने गरेका थियौं, तर केहि सहकारीका सञ्चालकहरु मल पुगेन भनेर आइरहेका छन्,’  उनले भने, ‘ अन्य र्‍याक मल पनि आउने क्रममा छ, त्यसैले किसानको आवश्यकतालाई मध्यनजर गरेर फेरि वितरण गर्छौ ।’

वीरगञ्ज क्षेत्रिय कार्यालय अन्र्तगत बारा, चन्द्रनिगहपुर, सर्लाही, सिन्धुली ढल्केवर, जनकपुर, हेटौंडा, भरतपुर, गजुरी, काठमाण्डु, त्रिशुली, धुलिखेल लगायत १६ वटा कार्यालय छन् ।

यसरी तोकिन्छ मुल्य

रासायनिक मलको खुद्रा बिक्री मूल्य निर्धारण गर्दा आयात मूल्य, ढुवानी खर्च, परिचालन खर्च, र भारतमा तत्काल रहेको खुद्रा मूल्यलाई समेत मध्यनजर राखी तय गर्ने गरिन्छ । आयात विन्दुका ३ जिल्ला र ढुवानी अनुदान लागू भएका २६ पहाडी जिल्ला बाहेक अन्य जिल्लामा भने खुद्रा मूल्य निर्धारण गर्दा आयात विन्दुबाट लाग्ने ढुवानी भाडा पनि जोडिन्छ ।

कृषि सहकारीले वीरगञ्ज स्थित क्षेत्रिय कार्यालयबाट सरकारी अनुदानको युरिया मल ६ सय ७८ रुपैयाँ ५० पैसामा र डिएपी २१ सय ५० रुपैयाँमा पाइरहेका छन् ।

नेपाल सरकारले मोटर बाटो नपुगेका २६ विकट पहाडी जिल्लाहरुको लागि मूल्य अनुदानको अतिरिक्त ढुवानी अनुदान पनि प्रदान गर्दै आएको छ । त्यसैले ती जिल्लामा आयात विन्दुकै मूल्यमा रासायनिक मल उपलब्ध हुने गरेको छ । कृषि विकास मन्त्रालयले कृषि सामग्री कम्पनीलाई अनुदान वापतको रकम ३ किस्तामा भुक्तानी गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment