Comments Add Comment

नविकरणीय उर्जा प्रवद्र्धन गर्न अनुसन्धान केन्द्र र परिसंघबीच समझदारी

३१ भदौ, काठमाडौं । नेपाल नविकरणीय उर्जा परिसंघ र त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको व्यहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नविकरणीय उर्जा प्रविधि प्रवद्र्धन र विकासका लागि सहकार्य गर्न भन्दै परिसंघ र अनुसनधान केन्दले समभदारी गरेका हुन् ।

सहमतिपत्रमा परिसंघका तर्फबाट अध्यक्ष गुणराज ढकाल र अनुसन्धान केन्द्रका तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. रामेश्वर अधिकारीले हस्ताक्षर गरे । राष्ट्रिय विज्ञान तथा प्रविधि दिवसको उपलक्ष्यमा मंगलबार विशेष कार्यक्रमको आयोजना गरेर समझदारी गरिएको हो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेश शाहले जनताको वहुआयामिक उत्थानका लागि उर्जा प्रविधिको विकास र प्रवद्र्धनको महत्वूर्ण भूमिका हुने बताए ।

पूर्वमन्त्री शाहले सरकार, प्राज्ञिक वर्ग, विज्ञ र व्यवसायीहरु हातेमालो गरी सहकार्य गर्नुपर्नेमा जोड दिए । मुलुकमा नविकरणीय उर्जाका श्रोतहरु प्रशस्त रहेको हुनाले प्रविधिको समुचित उपयोग गर्दै अघि बढ्न विज्ञान प्रविधि तथा नविनताका लागि अध्ययन, अनुसन्धान गर्नुपर्ने उल्लेख गर्दै उनले नेपाल नविकरणीय उर्जा परिसंघले विभिन्न सरोकारवालाहरुका साथ सहकार्य कार्य गर्ने तयारी गर्दै आएकोमा सनतुष्टि व्यक्त गरे ।

प्राज्ञिक व्यक्तिहरु, विज्ञहरु, व्यवसायीहरु, वित्तीय क्षेत्रका प्रतिनिधिहरुका सहभागि कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका डा. रबिन्द्र प्रसाद ढकाल, व्यवसायी कुशल गुरुङ्ग, ग्रामीण प्रविधि केन्द्रका डा. पुरुषोत्तम श्रेष्ठले नविकरणीय उर्जा प्रविधि विकास र प्रवद्र्धका लागि अवसर र चुनौतीहरुका साथ अध्ययन, अनुसन्धान र व्यवसायिक चुनौती र समाधानका उपायहरुका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रा.डा. रमेशकुमार मास्के, प्रा.डा. कृष्ण राज श्रेष्ठ, डा. इन्दिरा शाक्य, नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिं, उर्जा विद विश्व भूषण अमात्यले आ–आफ्नो भनाइ राख्दै वर्तमान परिप्रेक्ष्यमा अध्ययन, अनुसन्धान कार्यमा लगानी गर्नुपर्ने र सोको लागि सरकार र सम्बन्धित निकायहरुले चासो दिनुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment