Comments Add Comment

साउदी तेल केन्द्रमा आक्रमणको प्रभाव नेपालमा १५ दिनपछि देखिने

विश्व बजारमा इन्धनको मूल्यवृद्धि

३१ भदौ, काठमाडौं । विश्वकोे सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र साउदी अरबको अरामकोमा गत शनिवार भएको आक्रमणले विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । यसले नेपालमा पनि इन्धनको आपूर्ति र मूल्य प्रभावित हुने आशंकामा उपभोक्ता छन् ।

आयल निगमले साउदीमा भएको आक्रमणको प्रभाव नेपालमा आइपुग्न कम्तिमा दुई साता लाग्ने जनाएको छ । निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय कारणले नेपालमा तत्काल इन्धनको मूल्य नबढ्ने बताए । निगमले हरेक १५ दिनमा भारतीय आयल निगमबाट इन्धनको औसत मूल्यसूची प्राप्त गर्छ । साउदी आक्रमणका अहिलेसम्म मूल्यसुची नबढेको पौडेलले जानकारी दिए ।

मंगलबार प्राप्त नयाँ मूल्यसुची अनुसार कम्तीमा अबको पन्ध्र दिनसम्म आईओसीले पुरानै मूल्यमा तेल दिने निगमले जनाएको छ । पन्ध्र दिनपछि आउने नयाँ मूल्यसूचीमा बढेको मूल्य समावेश हुने र यसले निगमको व्ययभार बढ्ने निगमका प्रमुख कार्यकारी निर्देशक पौडेल बताउँछन् ।

‘सेप्टेम्बर अन्तिम साता आउने नयाँ मूल्य सूचीपछि तेलको खुद्रा मूल्य बढाउन निगमलाई दबाब पर्न सक्छ,’ उनले भने ।

साउदी अरबले जतिसक्दो छिटो आफ्नो प्रशोधन केन्द्र पूरानै अवस्थामा फर्काउन प्रयास गरेको र त्यो सम्भव भए इन्धनको मूल्यमा खासै प्रभाव नपर्ने निगमको विश्वास छ । तर, केही साता वा महिनौंसम्म उक्त केन्द्रले पूर्ण क्षमतामा तेल उत्पादन नथालेमा भने इन्धनको मूल्य बढ्न सक्ने निगमले जनाएको छ । आईओसीबाट प्राप्त हुने नयाँ मूल्यसूची दशैंको मुखैमा पर्ने र यस्तो बेला मूल्य बढाउँदा गलत सन्देश जाने भएकाले निगम घाटा खाएरै भए पनि मूल्यवृद्धि नगर्ने पक्षमा छ ।

साउदी अरबको तेल प्रशोधन केन्द्रमा शनिवार राति ड्रोनमार्फत आतंकवादी हमला भएको थियो । आक्रमणअघि अरामकोले दैनिक ९७ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने गरेकोमा अहिले ५७ लाख ब्यारेलमा झरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । विश्वको सबैभन्दा ठूलो कम्पनीको उत्पादनमा झण्डै आधा कटौती भएपछि विश्वभर तेलको निर्यात घटेको छ भने मूल्य हृवात्तै बढेको छ ।

आक्रमणपूर्व कच्चा तेलको अन्तर्राष्ट्रिय बजार मूल्य प्रति ब्यारल ६०.४६ सेन्ट थियो । आक्रमणको भोलिपल्ट आइतबार विश्व बजारमा कच्चा तेलको मूल्य १९ प्रतिशतले बढेर डलर प्रति ब्यारल ७१.९५ पुग्यो । तर सोमबार ७ डलरले सस्तीएर ६५ डलरमा झर्‍यो भने मंगलबार यो समाचार तयार गर्दाको कारोबार समयसम्म मूल्य ६८.१२ डलर पुगेको छ ।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक डलर बढ्दा निगमलाई दैनिक १५ करोड रुपैयाँले व्ययभार थपिन्छ । आइतबार ११.४९ डलरले बढेको कच्चा तेलको मूल्यले निगमलाई एक दिनमै एक अर्ब ७२ करोड ३५ लाख भन्दा धेरै नोक्सान पुर्‍याएको छ । यद्यपी नयाँ मूल्यसुची निगमले १५ दिनपछि पाउनेछ ।श

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment