Comments Add Comment

काम नगर्ने ठेकदारको संख्या १८४८ तर कालो सूचीमा मात्रै ५८

हदबन्दी छुटको जग्गा मासिने जोखिम

१ असोज, काठमाडौं । विविध सामग्रीका साथ बजारमा आएका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा आज अनियमितता र बेथितिसँग सम्बन्धित विषय परेका छन् ।

नागरिकले काम नगर्ने देशभरका निर्माण कम्पनीबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार देशभर काम नगर्ने ठेकदारको संख्या १ हजार ८ सय ४८ छ । बेइमान निर्माण कम्पनीको सूचीमा यति धेरै सूचीकृत भए पनि कालोसूचीमा भने ५८ वटा मात्रै परेका छन् ।

राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँच दर्जनलाई मात्र राखिएको नागरिकको ठहर छ ।

नागरिक लेख्छ– मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा देखाएको थियो । तर, अहिलेसम्म जम्मा ५८ ठेकदारलाई मात्र कालो सूचीमा राखिएको छ ।’

स्वास्थ्य मन्त्रीको भ्रमण मोहबारे पनि नागरिकले समाचार बनाएको छ । नागरिकका अनुसार उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आफ्नो पछिल्लो कार्यकालमा २५ पटक विदेश भ्रमण गरेका छन् ।

पछिल्लो समय भारत भ्रमण गएर फर्किएका यादव बुधबार अमेरिका उड्दैछन् । डेंगुलगायतका रोगको महामारी फैलिइरहेका बेला यसप्रति उदासीन बनेको भन्दै उनको आलोचना भइरहेको छ ।

अन्नपूर्णले पनि उपप्रधानमन्त्रीको भ्रमणमोहबारे एक समाचार छापेको छ । समाचार अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्न लागेको राष्ट्रसंघीय महासभामा उनी सहभागीको रुपमा जाँदैछन् ।

पदीय मर्यादामा परराष्ट्र मन्त्रीभन्दा उपप्रधानमन्त्री माथि भए पनि मन्त्री यादव राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

काठमाडौंको टीठलाग्दो सडकको तस्वीर छापेको कान्तिपुरले हदबन्दी छुटको जग्गा मासिने जोखिम बढेको लेखेको छ । भूमिसम्बन्धी ऐन, २०२२१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिइएको हजारौं बिघा जग्गा मासिन जोखिम बढेको कान्तिपुरको ठहर छ ।

प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिपक्षी कांग्रेसलगायतको विरोधबीच बहुमतबाट पारित गरेको थियो । विधेयक भूमाफियाको स्वार्थमा ल्याइएको र त्यसमा उल्लिखित प्रावधानले हदबन्दीभन्दा बढीको अब हिनामिना हुने जानकारहरूको भनाइ छ ।

सेनामाथि अपारदर्शी खरीद प्रक्रिया अपनाउने गरेको आरोप लाग्दै आएको छ । तर, सैनिक नेतृत्वले पछिल्ला २ वर्षमा बन्दोबस्ती सामान खरीदमा भएका अनियमिततामाथि छानबिन सुरु गर्ने भएको छ । कान्तिपवुरका अनुसार खरीद प्रक्रियामा रहेका तथा आपूर्ति भइसकेका घातक र गैरघातक सैनिक बन्दोबस्तीका सामानमा घोटाला भएको आशंकामा प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक छानबिन थालेका छन् ।

राजधानीले यातायात मन्त्री रघुवीर महासेठले आठ सरकारी गाडी आफू र आफ्ना आफन्तका लागि प्रयोग गर्ने गरेको लेखेको छ ।

खर्च कटौती र मितव्ययी नीति अँगालेका प्रधानमन्त्री केपी शर्माृ ओली नेतृत्वको सरकारका मन्त्री महासेठले करोडौं मूल्यका आठवटा गाडी दुरुपयोग गरेको राजधानी समाचारमा उल्लेख छ । समाचार अनुसार यतिले पनि नपुगेर उनले पत्नीलाई अलग्गै गाडी मगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment