Comments Add Comment

एक अरबमा रामेछापका १२ विद्यालय पुननिर्माण हुँदै

१ असोज, रामेछाप । भुकम्पले क्षति पुर्‍याएका रामेछापका १२ वटा सामुदायिक विद्यालय भवनहरुको पुननिर्माण कार्य एकै साथ सुरु भएको छ । करिब १ अरब रुपैयाँको लागतमा ती विद्यालय भवनहरु बन्न लागेका हुन् ।

एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेका विद्यालयहरु बाल तथा अपाङ्ग मैत्री हुने छन् । शर्मा/खानी जेबीले विद्यालय भवन निर्माणको जिम्मा लिएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि रामबाबु घिमिरेका अनुसार ८ महिनाभित्रमा विद्यालय निर्माणको ६० प्रतिशत काम सकिएको छ । १८ महिनामा काम सम्पन्न गर्ने गरी शर्मा/खानी जेबीले ठेक्का लिएको हो ।

पुननिर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन इकाइले शिक्षा मातहतमा टेण्डर प्रक्रियाद्वारा विद्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाएको हो । ९८ करोड रुपैयाँको लागतमा १२ वटा विद्यालयको भवन निर्माण भइरहेको जिल्ला कार्यक्रम कार्यान्वयन इकाइ रामेछापका प्रमुख निर्मल कुमार घिमिरेले जानकारी दिए ।

निर्माण भइरहेका विद्यालयहरुको पुननिर्माणको अवस्थाकोबारेमा प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेको नेतृत्वमा गएको टोलीले अनुगमन समेत गरेको उनले बताए । मन्थली नरपालिकाका विभिन्न वडामा निर्माण भई रहेका विद्यालयहरुको स्थलगत अनुगमन गर्दा शैक्षिक सत्र सुरु हुनु अगाडि नै सबै विद्यालय भवनको निर्माण कार्य सम्पन्न हुने अवस्था देखिएको उनले बताए । १२ वटा मध्ये अधिकाँस विद्यालयको निर्माण कार्य माघ महिनाभित्र नै सम्पन्न हुने उनले बताए ।

२०७२ सालमा आएको भुकम्पले क्षति पुगेका तमाकोसी जनजागृति मावि खिम्ति, श्रीमावि ज्यामिरेखानी, श्रीमावि सिक्राल, मनकामना मावि नाटिला, श्रीमावि हरिचिण्डे, स्थानपति मावि पुरानागाउँ, कालिकादेवी मावि पोखरी, मानेडाँडा मावि पिङ खुरी, महालङ्गुर मावि गुम्देल, भरती मावि मेगर्पा, अग्लेश्वर मावि दिमी र बालमावि भिरकोटमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment